नेपालयको पुस्तक मेला : पुस्तकमा ६० प्रतिशतसम्म छुट र लेखकसित भेटघाट

काठमाडौं।पब्लिकेसन नेपालयले आफू २० वर्ष पुगेको अवसरमा किताबमा विशेष छुटसहित पुस्तक मेला आयोजना गर्दै छ । नेपालयले आफ्ना प्रकाशनमा ६० प्रतिशतसम्म छुट दिने बताएको छ । यही वैशाख २७ र २८ गते शनिबार र आइतबार हुने दुई दिने पुस्तक मेलामा लेखकहरुसित भेटघाट र पुस्तकमा हस्ताक्षर पनि हुनेछ ।
पाठकहरुले आफ्ना प्रकाशन एकै ठाउँ छुट मूल्यमा किन्न सकून्, आफ्ना प्रिय लेखकसित भेटघाटको मौका पाऊन् भन्ने उद्देश्यले पुस्तक मेला आयोजना गर्न लागेको पब्लिकेसन नेपालयले जनाएको छ । ‘हाम्रो पहिलो पुस्तक पल्पसा क्याफेले धेरै पाठकको माया पायो,’ पब्लिकेसन नेपालयका प्रमुख कार्यकारी सैजन मास्केले भनिन्, ‘२० वर्षदेखि पाएको मायाको सम्मानमा हामी आफ्नै अफिस कालिकास्थानमा पुस्तक मेला आयोजना गरेर पाठकलाई सुखद अनुभव दिने तयारीमा छौँ ।’
पुस्तक मेलामा नेपालयका ३० भन्दा बढी लेखकको उपस्थिति रहने मास्केले बताइन् । ‘हाम्रा लेखक अच्युतकृष्ण खरेल, अरुणा उप्रेती, आनी छोइङ डोल्मा, आभास, कालीप्रसाद रिजाल, किशोर थापा, कुमार नगरकोटी, गणेशप्रसाद लाठ, गिरीश गिरी, जीवनकुमार प्रसाईं, जेबी दर्लामी, तारानिधि भट्टराई, तुलसी भट्टराई, दिनेश अधिकारी, दुर्गा कार्की, नारायण वाग्ले, निमानन्द रिजाल, पद्मसुन्दर जोशी, महेशराज पन्त, लुज माथेमा, विप्लव प्रतीक, श्रवण मुकारुङ, सुदीप श्रेष्ठ लगायतको उपस्थिति रहनेछ,’ मास्केले भनिन्, ‘लेखकसित भेटघाट, कुराकानी गर्ने मौकामा सहभागी हुन कुनै शुल्क लाग्दैन, पुस्तक ५० प्रतिशतसम्म छुटमा किन्न सकिन्छ ।’
दुई दिने पुस्तक मेलाको आरम्भ जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई, यो मन सोधिरहन्छ’बाट हुनेछ । शनिबार बिहान ९ बजे पुस्तक मेला स्थलमा उक्त पुस्तक लोकार्पण हुनेछ । १० वर्ष पहिले नेपालयबाटै प्रसाईंको ‘जीवन जिउने काइदा’ प्रकाशन भएको थियो, जो पाठकको अत्यधिक रोजाइमा पर्छ ।
प्रतिकृया दिनुहोस