• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
मनोरञ्जन

‘महाजात्रा’ प्रदर्शनको चौथो सातामा

 

काठमाडौं । अघिल्लो वर्ष झैँ यो वर्ष पनि वैशाख १ नेपाली फिल्मका लागि सुखद देखिएको छ । प्रदर्शन भइरहेका नेपाली फिल्म लगभग ‘हाउसफुल’ भए । नेपाली फिल्मलाई दर्शकको राम्रो साथ दिए । काठमाडौँ उपत्यकासँगै देशभरका अधिकाँस मल्टिप्लेक्समा नेपाली फिल्मको टिकेट उपलब्ध भएन । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको ‘महाजात्रा’ मा दर्शक भरिभराउ देखिए ।

 

‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको चौथो सातामा प्राप्त शोमा शत प्रतिशत अकुपेन्सी देखियो । टिकेट नपाएको भन्दै दर्शकहरू फर्किएका थिए । हलमा पुगेर टिकेट नपाएको विभिन्न संदेशहरू सामाजिक सञ्जालमार्फत प्राप्त भएको निर्देशक तथा लेखक प्रदीप भट्टराईले बताए ।

 

‘नयाँ वर्षमा महाजात्रालाई उपलब्ध सम्पूर्ण शो हाउसफुल भयो । हाम्रो फिल्मलाई चौथो सातासम्म दिनुभएको मायालाई शब्दमा व्यक्त गर्न सक्दैनौँ । दर्शक, प्रदर्शक, वितरक सबैलाई यसका लागि धन्यवाद नभनी रहन सक्दैनौँ’,निर्देशक भट्टराईले भने,‘फिल्मले तीन सातामा नेपालमा चौध करोड व्यापार गरेको थियो । हामीले हाम्रो अघिल्ला सम्पूर्ण रेकर्ड तोडिसकेका छौँ । विशेषत हलमा आउनुभएको दर्शकलाई खुसी बनाएर फर्काउन पाएका छौँ, यो ठूलो सफलता हो ।’

 

यस्तै, फिल्मले तीन सातामा नेपालबाहिर नौ करोडको ग्रस कलेक्सन गरेको वितरण कम्पनि एमएसएम इन्टरटेन्मेन्टले जनाएको छ । उक्त कम्पनिका अनुसार शुक्रबार र शनिवार विदेशमा आयोजित सम्पूर्ण शो ‘शोल्ड आउट’ भएका छन् । तीन सातामा तेइस करोड एक लाख ग्रस कलेक्सन गरेको फिल्मले नेपालमा पन्ध्र करोडको आकडा पार गरिसकेको छ ।

 

वितरकका अनुसार शनिवार फिल्मको काठमाडौँ उपत्यकामा ६० र मोफसलमा ८० बढी शो थियो । ती शो ‘हाउसफुल’ थिए । दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा फिल्म स्वदेश र विदेशमा नयाँ नयाँ रेकर्ड बनाउने बाटोमा छ । विशेषत परिवार नै दर्शकको रुपमा हलमा आइरहेकाले दिवादेखिका शोहरूमा आईतबार पनि अकुपेन्सी बलियो देखिएको छ ।

 

फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार