'म कलाकार बन्छु भनेर शहर छिरेको हुँ'

रंगमञ्चमा आउनुभएको कति भयो ?
मैले थिएटर नै भनेर गरेको चार देखि साढे चार बर्ष जति भयो । चलचित्र क्षेत्रमा पाईला टेकेको चाँहि २०६१र६२ सालतिर हो ।
तपाईको रंगमञ्चमा प्रवेश कसरी भयो ?
मेरो एकजना साथी हुनुहुन्थ्यो आर्जेस, उनले थिएटरको बारेमा कुरा गरिरहन्थे । पहिला हामीले एउटै चलचित्रमा सँगै काम पनि गरेका थियौं । त्यसपछि उ थिएटर तिर लाग्योे । उसले मलाई बारम्बार थिएटर आउन आग्रह गरिरहन्थ्यो । म भने खासै रुची दिन्नथे। दुई तीन बर्ष त्यसरी नै वित्यो पछि एकपटक बुझौं न त भन्ने मनमा बिचार आयो र बुझ्न गए । मलाई खासमा मेरो आवाजमा समस्या छ भन्ने लाग्थ्यो । रंगमञ्चमा जाँदा मेरो आवाजमा तलमाथी होला भन्ने डर पनि थियो तर त्यस्तो खासै केही भएन । एकचोटी हेरौं न त भन्ने सोचले पनि रंगमञ्चमा गएको हो । फेरी मलाई त्यतिबेला यो रंगमञ्च भन्ने के हो कस्तो हुन्छ भन्ने कुरा केही पनि थाहा थिएन ।
रंगमञ्चमा पहिलो पटक नाटक गर्दाको अनुभव कस्तो रहयो ?
यसमा त्यस्तो खासै अनुभव भन्ने छैन । मैले पहिलो अभिनय गरेको नाटक ‘जार’ हो । यसमा सुनिल पोखरेलको निर्देशन र आई बि राईको कथा थियो । मलाई यती चाहि याद छ कि नाटकको पहिलो ‘शो’ सकिएपछि म रोएको थिए । फेरी म रुन्छु भनेर रोएको पनि होइन । नाटक सकिएपछि माथी कस्टियुम रुममा छिर्दा छिर्दै के भयो के मलाई नै थाहा छैन। मलाई एक्कासी रुन मन लाग्यो र म रोएको थिए ।
तपाई मिडियामा अलि कमै देखिनुहुन्छ किन ?
मलाई अहिले मिडियामा आउने मेरो समय भएको छ जस्तो लाग्दैन । यो त मेरो काम गर्ने समय हो । अहिले मिडियामा आउनका लागि मेरो समय, भोगाई र अनुभव अलि पुगेको छैन जस्तो लाग्छ ।
रंगमञ्च र चलचित्र कसरी लिनुहुन्छ र के फरक छ ?
मलाई रंगमञ्चको एकदमै धेरै माया लाग्छ । म त रंगमञ्च बाटै हुर्केको हुँ । चलचित्र मेरो पहिला देखिको सौख हो । खासमा म चलचित्र कै लागी नै भनेर आएको हो । म लोक गीतहरु हेरेर प्रभावित भएको मान्छे हो । एकजमानामा राजेश हमाल दाईको ‘अर्जुन’ भन्ने चलचित्र हेरेपछाडि, राजेश दाईले लेद्रको ज्याकेट र ड्याम जुत्ताले लगाएर झयामम् खुट्टा टेक्दा धुलो फुर्रर उडेको सिन देखेपछि मलाई पनि उहाँ जस्तै चलचित्रमा अभिनय गर्ने रहर बढ्यो । म कलाकार नै बन्छु भनेर शहर छिरेको हुँ । यसमा माध्यमको मात्रै फरक छ जस्तो लाग्छ , गर्ने त आखिर अभिनय नै हो ।
प्रतिकृया दिनुहोस