नेपाली चलचित्रमा काम गर्ने इच्छा छ : मनीषा कोइराला

काठमाडौं । अभिनेत्री मनीषा कोइरालाले हालै सम्पन्न कलिङ साहित्य महोत्सवमा नेपाली चलचित्रको विषयवस्तुले आकर्षण गरेमा अभिनय गर्ने बताइन । “नेपाली चलचित्रमा काम गर्ने इच्छा नभएको होइन । तर समय र परिस्थिति मिलेको छैन । राम्रो कथाले मलाई पक्कै आकर्षित गर्छ”, अभिनेत्री कोइरालाले भनिन् ।
उनले चलचित्रको कथा माटो सुहाउँदो हुनुपर्नेमा जोड दिइन । पछिल्लो समय नेपाली चलचित्र र शृङ्खला जोडिन चाहिरहेको ओभर दी टप (ओटिटी) मा स्थानीय कथा नै खोजिने उनको भनाई थियो । “मैले ओटिटीमा समेत काम गरेकी छु । त्यो माध्यमले विश्वभरका दर्शकलाई सुविधा दिन्छ । ओटिटीका सञ्चालक जुन देशको कथा हो, त्यहाँको माटोसँग जोडिनुपर्छ भन्छन्”, अभिनेत्री कोइरालाले भनिन्,“अन्तर्राष्ट्रियस्तरमा नेपालको कथा भनेको हो भने यहाँकोे संस्कृति कस्तो छ, जीवन कस्तो छ भनेर हेर्न चाहन्छन् दर्शक । त्यसैले देशको माटो सुहाउँदो चलचित्र बनाउन जरुरी छ ।”
उनले आफूले अभिनयको सुरुआत गरेको समय नब्बेको दशकमा अवास्तविक प्रस्तुति रुचाइने भए पनि अहिले वास्तविकता चित्रण गर्ने अभ्यास बढेको र दर्शकले रुचाइरहनुभएको बताइन । “प्रस्तुतीकरण जति वास्तविक भयो, दर्शकले त्यति मन पराउँछन् । अभिनय जति धेरै वास्तविक हुनसक्यो त्यति राम्रो मानिन थालेका छन् । अहिले अभिनय गर्दा आँखामा आँसु जरुरी छैन, आँखामा पीडा देखिनुपर्यो ।”
प्रतिकृया दिनुहोस