ठूलो मान्छे

ऊ ठूलो, म सानो
तर ठूलो हुनु भनेको
भयावह हुनु होइन
डरलाग्दो हुनु होइन
कुल्चिन खोज्नु होइन
मालिक हुनु भनेको होइन
ठूलो हुनु भनेको त
सानोलाई स्नेह गर्न सक्नु हो
अरूलाई डाँकोले खानु होइन
त्यस्तो डाँकोका अगाडि चुपचाप लाग्नु
मेरो सदाशयता हो
कमजोरी होइन।
मैले सिकन्दरलाई पनि वास्ता गरिनँ
त्यसैले यस्ता ठूला मान्छे त
तृण बराबर हुन्
यदि उसमा स्नेह छैन भने
किनकि मैले दासत्वको सम्बन्ध
कहिले स्वीकार गरेकै छैन।
मैले पहाड टुटेको देखेको छु
अनि समुद्र सुकेको पनि देखेको छु
त्यति मात्र होइन
विश्व विजेतालाई आफ्नै सेनाले
नटेरेको पनि हेरेको छु
अनि विवश भएर फर्कँदा
मरेको पनि देखेको छु
त्यसैले जब स्नेह बाँड्न नसक्नेको
ठूलो स्वर सुन्छु
मलाई हाँसो उठ्छ
त्यो दुर्बलता देखेर।
म चुपचाप लाग्छु
हाँसो दबाउँछु
तर उ भन्ठान्छ
उसको विजय भएको छ
फेरि एकपटक दबाउन पाएकोमा ।
म दुःखी त्यतिवेला मात्र हुन्छु
उसको अहंकारबाट होइन
दुर्बलता देखेर
त्यो दुर्बलताको सट्टा
यदि अहङ्कार नै देखेको भए
सायद म दुस्खी नहुन सक्थे होला
त्यसैले उसले मलाई दुःखी पारेको छ
म दुर्बल व्यक्ति भन्दा
बरु अहंकारीलाई सम्मान गर्न सक्छु होला
दुर्बल भनेको दुर्बल नै हो
मायाको नामबाट नै पीडित हुन नपरेको किन नहोस्
अनि त्यस्तो दुर्बल व्यक्तिले
पितृसत्ताको आडमा
एउटा स्वाभिमानीलाई दबाउन खोज्छ भने
दया नै गर्नुपर्ने हुन्छ
म माथि भएको घातलाई बिर्सिदिन्छु
केहीबेर पछि
यो सम्झेर कि
उ स्वयम् एक पीडित व्यक्ति हो
प्रतिकृया दिनुहोस