• शनिबार १०-२१-२०७९/Saturday 02-04-2023
रंगमञ्च

नाट्य महोत्सव उत्साह र आक्रोश

-सुकृत नेपाल

 

काठमाडौँमा दोस्रो संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ भर्खरै सकिएको छ । महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक प्रदर्शन गरिएको थियो । महोत्सवका अवसरमा नाटक मञ्चन मात्रै होइन, नाटकबारे बहस, अन्तक्र्रिया र छलफल पनि भए । नाटकको वर्तमान अवस्था र चुनौतीका विषयमा छलफल पनि भयो ।

 

एउटा यस्तो समय पनि आयो; जुन बेला नेपाली रङ्गमञ्चमा शून्यता छाएको थियो । त्यो समय थियो– कोरोनाको समय तर अहिले महोत्सवले त्यो तीतो विगतलाई बिर्साइदिएको छ । हुन त ती दिनले धेरै पाठ सिकाएर गएको छ । कठोर समयमा कसरी उभिने भन्ने पनि अवगत गराएको छ । समय फेरिएको छ । रङ्गमञ्च फेरि जुर्मुराएको अनुभव सुनाउनुहुन्छ, रङ्गकर्मी एवं महोत्सवकी निर्देशक श्रृजना सुब्बा । “एसियाबाट मात्रै होइन, अमेरिका र युरोपसम्मका नाटक तथा नाट्यकर्मीको सहभागिता थियो । जसले नेपाली रङ्गमञ्चमा थप रौनक ल्यायो ।” उहाँले भन्नुभयो, “महोत्सवमा विभिन्न विषय, विधा र शैलीका नाटक मञ्चन भए ।” कुनै समय यस्तो पनि थियो, नाटकघरमा दर्शक पाउनु नै मुस्किल थियो ।

 

 

अहिले रङ्गमञ्चप्रतिको बुझाइ फेरिएको छ । रङ्गमञ्चमा दर्शकको सहभागिता बढ्दो छ । यसका कारण बेलाबखत यस्ता महोत्सव आयोजना गर्नु पनि हो । यसले रङ्गकर्मीमा ऊर्जा भर्ने काम भइरहेको देखिन्छ । यस्ता गतिविधिबाट नाटक हेर्ने दर्शक पनि बढ्दै गएका छन् । महोत्सवकी निर्देशक सुब्बा भन्नुहुन्छ, “पहिले–पहिले थोरै दर्शक हुन्थे । कहिलेकाहीँ त सिङ्गो हल रित्तो हुन्थ्यो ।” चलचित्रमा जस्तो नाटकमा पटक–पटक टेक लिने छुट हुँदैन । लाइभ हुने भएकाले हामी कलाकारले एउटै दृश्य मञ्चन गर्न वा संवाद बोल्नका लागि पनि महिनौँ रिहर्सल गरेका हुन्छौँ,” सुब्बाले भन्नुभयो, “नाटकमा हामीलाई कतिले हेर्दै छन् भन्ने कुरा त्यति मतलब हुँदैन, हामीले कस्तो अभिनय ग¥यौँ, त्यसको अर्थ रहन्छ ।” नाटकमा हुने जीवन्त अभिनयले दर्शकलाई तानेको छ ।

 

 

महोत्सव भनेको नाट्यकर्मीको जमघट मात्रै होइन, आत्मीयता साँट्ने र हार्दिकता बढाउने गज्जबको अवसर पनि हो भन्नुहुन्छ, रङ्गकर्मी विमल सुवेदी  । यस्तो खालको महोत्सवले हामी हाम्रो र बाहिरी देशको एकअर्काको नाटक गर्ने शैलीहरू देख्न र सिक्न सक्छौँ । “महोत्सवले विश्वका रङ्गकर्मीबीच अझ प्रगाढ सम्बन्ध बढाउने काम गरेको छ ।” सुवेदी भन्नुहुन्छ, “महोत्सवमा विदेशी नाटक र कलाकार नेपाल ल्याउन सकियो भने यो क्षेत्र अझै राम्रो हुन सक्छ ।” 

 

कुनै बेला रङ्गमञ्च भन्नासाथ काठमाडौँ केन्द्रित भन्ने बुझाइ पनि थियो तर अहिले त्यो अवस्था छैन । अहिले काठमाडौँ उपत्यकाबाहिर पोखरा, इटहरी, दमक, विराटनगर, कर्णालीसम्म रङ्गकर्मी व्यस्त छन् । रङ्गकर्मले मेचीदेखि महाकालीसम्मलाई जोडेको छ । कति रङ्गकर्मी काठमाडौँबाट आफ्नै ठाउँमा गएर रङ्गमञ्च सञ्चालन गरिरहेका छन् भने कोही विभिन्न सडक नाटक र रङ्गमञ्चका अन्य काममा व्यस्त छन् । यसले उनीहरूमा रङ्गमञ्चमा काम गर्न थप उत्साह जगाएको देखिन्छ ।

 

 

परिवर्तन कार्की, हीरा बिजुली नेपाली, सिजन दाहाल, सोनु जयन्ती, कबु नेपाललगायत काठमाडौँबाहिरका नाम चलेका रङ्गकर्मी हुन्; जसले अहिले निरन्तर रूपमा रङ्गमञ्च विस्तार र नयाँ पुस्ताका रङ्गकर्मी जन्माउने काम गरिरहनुभएको छ । रङ्गमञ्चमा काठमाडौँमा बनेका नाटकघर र नाट्य समूहको दबदबाले केही रङ्गकर्मी भने निराश देखिन्छन् । काठमाडौँभित्र होस् वा बाहिर, विदेशी नाट्य महोत्सव तथा मेलामा समेत काठमाडौँको रङ्गमञ्च नै हाबी भएकोमा धेरै रङ्गकर्मीको यसमा आक्रोश पनि छ । 

 

रङ्गमञ्चमा नयाँ आउनेलाई निकै चुनौती रहेको रङ्गकर्मी सुनाउँछन् । कि त आफैँ लगानी गरेर आउनुप¥यो कि भने चिनजानको हुनुप¥यो । काठमाडौँबाहिरको रङ्गमञ्चको मुख्य चुनौती भनेकै नाटकघर, दर्शक र रङ्गकर्मीको अभाव हो । पोखरामा दर्शक र रङ्गकर्मीको निरन्तरता रहे पनि नाटक बनाउने चुनौती रहेको पोखरा थिएटरका अध्यक्ष तथा रङ्गकर्मी परिवर्तन कार्की बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीले बनाउने त पहिला नाटक नै हो, दर्शक त पछि आउँछन् ।” पोखरामा दर्शकको अभाव खासै नभएको कार्कीको भनाइ छ । 

 

काठमाडौँमा मात्र माहेत्सव केन्द्रित भयो भन्ने कुरामा आफू खासै सहमत नभएको उहाँ बताउनुहुन्छ । रङ्गमञ्च नै काठमाडौँ केन्द्रित भएपछि यहाँ महोत्सव हुनु स्वाभाविक हो । उहाँ भन्नुहुन्छ, “काठमाडौँबाहिरका जिल्लामा महोत्सव गर्न सकिँदैन भन्ने चाहिँ होइन । हामी आफैँले पनि वर्षमा एउटा प्रदेशस्तरीय बिद्यालय नाटक महोत्सव आयोजना गरिरहेका छौँ । हामीले अन्तर्राष्ट्रिय नाटक महोत्सव पनि आयोजना ग¥यौँ ।” उहाँ भन्नुहुन्छ, “जुन रूपमा रङ्गमञ्च माथि उठ्नुपर्ने हो, त्यो नहुनु भनेको रङ्गमञ्च भर्खर भर्खर विकेन्द्रीकरण भइरहेको छ । नेपालको रङ्गमञ्च मात्र नभएर सबै गतिविधि काठमाडौँमा मात्र सीमित भएर पनि हो ।” राज्य पुनर्संरचनासँगै यसमा पनि परिवर्तन आउन सक्ने कार्कीको अपेक्षा छ । 

 

कोरोनाले सुस्ताएको रङ्गमञ्च यस्ता मेला–महोत्सवले फेरि जाग्न थालेको महसुस गराएको दमकस्थित कदम थिएटरका निर्देशक सिजन दाहाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “महोत्सवले हामी रङ्गकर्मीलाई धेरै कुरा सिकाएको छ ।” तर पछिल्लो समय यस्तो क्रियाकलापमा सामेल हुन नसक्नु आफ्नै कमजोरी भएको उहाँको भनाइ छ । चुनावको ह्याङओभर र फुटबलको महासङ्ग्रामले पनि महोत्सवलाई केही न केही असर त अवश्य नै पा¥यो । रङ्गमञ्चले अहिले फड्को मारे पनि अझ व्यावसायिक बन्न नसक्नु विडम्बना भएको उहाँले सुनाउनुभयो । अहिले पनि रङ्गकर्मी आर्थिक अभावमै बाँच्नुपर्छ भन्ने उनीहरूबाटै सुनिन्छ; जुन हाम्रा लागि एकदमै लज्जास्पद कुरा हो । महोत्सवले यस्ता कुरालाई उठाइदिएको भए अझ राम्रो हुने थियो कि ?

 

भिन्न–भिन्न पृष्ठभूमिबाट हुर्किएका नाट्यकर्मीको नाटक एकै थलोमा हेर्न पाउनु नेपाली दर्शक र नाट्यकर्मी दुवैका लागि सुखद अवसर हो र मण्डला थिएटरले यो उत्सवलाई सन् २०१९ देखि सुरु गरेको हो । नौदिने नाटक महोत्सवमा नेपाली नाटकसहित विश्वका दर्जनभन्दा बढी उत्कृष्ट नाटक हेर्ने अवसर थियो तर पनि यस पटक पहिलाको तुलनामा दर्शकको उपस्थिति भने सोचेजस्तो देखिएन । 

 

नाटक महोत्सवलाई चुनावले पनि केही प्रभाव पा¥यो । चुनावी नतिजा आउने क्रममै भएकाले मानिसको ध्यान महोत्सवतिर फर्किन सकेन । चुनावको नतिजा आउने क्रम र विश्वकप जारी हुँदा पनि महोत्सवले दर्शक नपाएको हो कि भन्ने रङ्गकर्मीको भनाइ छ । फेरि यस पटक एउटै थिएटरको मात्र महोत्सवमा हालीमुहाली हुनाले पनि दर्शक केही बिच्किएका हुन् कि भन्दै थिए, एक रङ्गकर्मी । महोत्सवमा अन्य थिएटरका कलाकारको पनि खासै उपस्थिति नदेखिएको उहाँको भनाइ थियो । ‘आफ्नै हात जगन्नाथ’ भनेझैँ यस पटक मण्डला थिएटरले किन गत वर्षको जस्तो अन्य थिएटरसँग सहकार्य गरेर झमेला झेल्नु भन्ने हेतुले सबै काम आफैँ काम गरेको होला पनि भनिन्छ ।   

 

महोत्सवमा भारतको इभान हास्टिङ निर्देशित नाटक स्याडो लिबरेसन, श्रीलङ्काको नाटक राजा मन, अमेरिकी अडियो नाटक ट्री कन्फेसन, उरुग्वेको नाटक रियो, अमेरिका–भुटानको एकल अभिनयात्मक नाटक ‘थ्री कन्ट्री : वन मदर’, रुसको पपेट नाटक ‘द म्याजिक स्वान–गिज’, कस्ट्यान्जा विटअफ निर्देशित अर्जेन्टिनी नाटक ‘नोम्याड’, नेपाली नाटक कथा कस्तुरी, ‘खुवालुङ : ढुङ्गाको बाटा’, कुभिण्डोलगायतका नाटक मञ्चन भएका थिए । 

 

‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव’ भन्ने नाराका साथ सुरु भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०७९ निटफेस्ट २०२२ ले उत्साह र आक्रोश दुवै कमाएको छ । सन् २०१९ मा विभिन्न नाट्य संस्थाले संयुक्त रूपमा आयोजना गरेको यस महोत्सवको दोस्रो संस्करणको आयोजना यस पटक मण्डला थिएटरले गरेको हो । अब महोत्सवको तेस्रो संस्करण दुई वर्षपछि हुनेछ । गोरखापत्र

  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार