ओलीको आक्रोश, मजाकको पात्र हौँ हामी !
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफू, नेपाली काँग्रेसका निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पाटीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पक्राउ गर्ने धम्की दिएको बताएका छन् । पार्टीको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले प्रहरी महानिरीक्षक (आईजीपी) ले आफूहरूलाई पक्राउ गर्ने अभिव्यक्ति दिएको आरोप लगाए । राजनीतिक नेतृत्वलाई पक्राउ गर्ने धम्की दिनु गैरजिम्मेवारपूर्ण भएको उनले बताए । राणाशासन, पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रविरुद्ध संघर्ष गरेर आएको राजनीतिक नेतृत्वलाई सामान्य रूपमा नलिन उनले चेतावनी समेत दिए।
उनले कसैविरुद्ध अपराधको प्रमाण भेटिए कानूनी कारबाही गर्न आग्रह गरे । तर पक्राउ गर्ने धम्की नदिन चेतावनी दिए । अध्यक्ष ओलीले गृहमन्त्री सुदन गुरुङले फाइल खोल्ने र १०१ जनालाई पक्राउ गर्ने अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै सके सबैलाई थुन्न चुनौती दिए । ओलीले भने, ‘राणाशासन, पञ्चायत र निरङ्कुश राजतन्त्रविरुद्ध लडेर आएका नेताहरूलाई छ महिने जागिरेले थुन्दिन्छु भन्दै ठट्टा गर्ने ? प्रमाण भए गलत काम गर्ने जोकोहीलाई थुने हुन्छ, तर गैरजिम्मेवार अभिव्यक्ति दिएर मनोवैज्ञानिक आतङ्क नफैलाए हुन्छस एमाले यस्ता हावादारी कुराबाट हल्लिँदैन।’
उनले भने, ‘आज एउटा आतंकपूर्ण, त्रासमय आईजीपी, आईजीपी हुनेबित्तिकै होसमा हो कि बेहोसमा हो बोलेको सुन्छु म । आइजिपीको बोलाइ त्यस्तो हुन्छ ? म केपी ओलीलाई थुन्दिन्छु, म शेरबहादुरलाई थुन्दिन्छु, म प्रचण्डलाई थुन्दिन्छु । केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा भनेका मजाकका पात्र हुन् इनका ? थुन्दिन्छु रे ! हामी राणाशासनका विरुद्ध लडेर आएका हौँ, पञ्चायती शासनका विरुद्ध लडेर आएका हौँ, निरङ्कुश राजतन्त्रका विरुद्ध लडेर आएका हौँ ।
६ महिनेको जागिर खाने एउटा सिपाहीले भन्छ फलनालाई थुन्दिन्छु, ठट्टा मजाक गर्या हो ? तिनी जन्मिनभन्दा अगाडिदेखि हामी देशका लागि आन्दोलनमा ज्यानको बाजी थापेर हिँडिराखेका छौँ । मजाक गर्ने हामीमाथि ? थुने हुन्छन् त समातेर । जो आउँछ थुन्दिन्छु, जो आउँछ थुन्दिन्छु, के हो यो ? हामी मजाकका पात्र हौँ ? ठट्टा जस्तो भएको छ सबलाई । थुन्दिन्छु रे ! प्रमाण भेटे त उनी पनि थुनिन्छन् होला नि, गलत काम गर्या प्रमाण भेटे । अरू पनि त थुनिन्छन् होला नि ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस