भोटेकोशी बाढी, प्रमाणमा आधारित बहस र विकासको पुरानो ढाँचामाथि गम्भीर पुनर्विचार आवश्यक
काठमाडौं । एकीकृत संरक्षण तथा विकास विज्ञ उज्वल उपाध्यायले प्रमाणमा आधारित बहस र विकासको पुरानो ढाँचामाथि गम्भीर पुनर्विचार गर्न सुझाव दिएका छन ।
कुनै पूर्वाधारले वातावरणलाई कति जोखिममा पार्छ र बदलिँदो वातावरणले स्वयं त्यो पूर्वाधारलाई कति जोखिममा पार्छ—यो दुवैतर्फको जोखिमलाई निर्माणअघि नै गम्भीर रूपमा मूल्याङ्कन गर्नुपर्ने उनले बताएका छन ।
उपाध्यायको सुझाव उनकै शब्दमा :
भोटेकोशी बाढीलाई केवल ‘बाढी’ भनेर बुझ्ने हो भने हामी यसको आधा कथा पनि बुझ्दैनौँ।
पहाडको चट्टान खस्यो—यो (Geology) भूगर्भशास्त्रको प्रश्न हो। चट्टान र भू–भागलाई कमजोर बनाउने हिमपानी र हिमनदीको परिवर्तन—यो (Glacilogy & Cryosphere) हिमनदी विज्ञानको प्रश्न हो। हिमनदी किन अस्वाभाविक रूपमा पग्लिँदै छ—यो (Climate Science) जलवायु विज्ञानको प्रश्न हो। बढ्दो तापक्रमले वर्षा, बादल र चरम मौसमी घटनाको स्वरूप कसरी बदल्दैछ—यो (Meteorology) मौसम विज्ञानको प्रश्न हो। त्यसले नदीको बहावलाई कसरी उग्र बनायो—यो (Hydrology) जलविज्ञानको प्रश्न हो। यो बिपदको प्रमाण कसरी जुट्यो र जुटाइयो यसका लागी भू-सुचना विज्ञान (GIS) चाहिन्छ र रीमोट-सेन्सिङ तथा भू-उपग्रह बारे विज्ञता (Geomatics) चाहिन्छ । पुर्व सुचना प्रणालीले कसरी काम गर्छ जान्नको लागी सुचना तथा संचारप्रविधी (ICT) बारे विज्ञता चाहिन्छ । नेपाल जस्तो कृषिमा आश्रीत ६३% समुदाय र अर्थतन्त्रमा २४% योगदान गर्ने कृषिक्षेत्रमा भएको क्षती र यसले पार्न सक्ने अरु समस्याहरु जस्तै गरीबी, खाद्य-असुरक्षा, कुपोषण र कृषियोग्य जमीनको क्षती जान्नका लागी कृषीविज्ञान (Agri-science) चाहिने हुन्छ ।
तर कथा त्यहाँ सकिँदैन।
वायुमण्डल तताउने हरितगृह ग्यास कहाँबाट आए? कसले कति उत्सर्जन गरिरहेको छ?—यो (Environment Science) पर्यावरण विज्ञान र (Climate Policy) जलवायु नीतिको प्रश्न हो। बाढीले कति सम्पत्ति, पूर्वाधार र जीविकोपार्जन नष्ट (Loss and Damage) गर्यो?—यो (Econoics) अर्थशास्त्रको प्रश्न हो। तथ्याङ्कले यी सम्बन्धहरूलाई कति बलियो प्रमाणित गर्छ?—त्यसका लागि (Econometrics) इकोनोमेट्रिक्स चाहिन्छ।
अनि मानिसको पीडा कहाँ गनिन्छ?
विस्थापन, मानसिक तनाव, सामाजिक विघटन, सांस्कृतिक क्षति, जीविकोपार्जनको संकट, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अन्य जोखिममा रहेका समुदायमाथि परेको असमान प्रभाव—यी सबै बुझ्न (Sociology) समाजशास्त्र, (Psychology) मनोविज्ञान, (GESI) लैङ्गिक अध्ययन र सामाजिक समावेशिताका दृष्टिकोण आवश्यक हुन्छन्।
अझ गम्भीर प्रश्न त त्यसपछि सुरु हुन्छ—अब त्यस्तो भूगोलमा हामी कस्तो विकास गर्ने?
कुनै पूर्वाधारले वातावरणलाई कति जोखिममा पार्छ र बदलिँदो वातावरणले स्वयं त्यो पूर्वाधारलाई कति जोखिममा पार्छ—यो दुवैतर्फको जोखिमलाई निर्माणअघि नै गम्भीर रूपमा मूल्याङ्कन गर्नुपर्छ। IEE र EIA कागजी स्वीकृतिको प्रक्रिया होइनन्; तिनलाई भविष्यको विपद् रोक्ने वैज्ञानिक सुरक्षा कवचका रूपमा लिनुपर्छ।
त्यसैले भोटेकोशी बाढीको प्रश्न केवल ‘बाढी किन आयो?’ भन्ने होइन।
प्रश्न यो पनि हो—हिमनदी किन बदलियो? जलवायु किन बदलियो? चरम मौसम किन बढ्दैछ? नदीको जोखिम किन बढ्यो? हामीले कहाँ र कस्तो पूर्वाधार बनायौँ? त्यसबाट कसले लाभ लियो र जोखिम कसले बोक्यो? र अन्ततः क्षति कसले व्यहो¥यो?
यी प्रश्नको उत्तर एउटै विषय, एउटै संस्था वा एउटै विज्ञले दिन सक्दैन।
भोटेकोशी हामीलाई एउटा महत्वपूर्ण पाठ दिइरहेको छ—बहुआयामिक संकटलाई एकल विषयको चस्माबाट हेर्ने हो भने समाधान होइन, भ्रम मात्र उत्पादन हुन्छ।
अब आवश्यक छ—बहुविषयक अनुसन्धान, प्रमाणमा आधारित बहस र विकासको पुरानो ढाँचामाथि गम्भीर पुनर्विचार।





प्रतिकृया दिनुहोस