पुर्ननिर्माणमा जुटौं,गफमा होइन !
नेपाल मानवीय त्रासदीको सामना गरिरहेको छ। कयौंको ज्यान गुमिसकेको छ, परिवारहरु बिछोडिएका छन्, उद्धारकर्मीहरु जुटिरहेका छन् । अन्तर्राष्ट्रिय समुदायहरुले आपतकालीन आपूर्ती, उद्धार कर्मचारी, यातायात, प्रविधि र प्राविधिक विज्ञता सहयोग गरिरहेका छन् । यस्तोबेला एउटै प्राथमिकता हुनुपर्छ, ज्यान जोगाउनु, पीडा कम गर्नु र नेपाललाई पुर्ननिर्माणमा सहायता पु¥याउनु। तर, यस त्रासदीको बीचमा, एउटा गम्भीर र गैरजिम्मेवार चर्चा सामाजिक सञ्जालमा फैलिन थाल्यो, कुन देशले बढी दियो, कुनले कम । कुन देश नेपालको ‘राम्रो मित्र’ हो भनी तुलना गरियो । हामीले यो बुझ्न जरुरी छ कि यो मानवीय सहायता हो, एकता हो, स्कोरबोर्ड होइन । कुन देशले कति सहयोग दियो भनेर मात्र हेर्दा भ्रामक हुन्छ ।
मानवीय सहायता विभिन्न प्रकारको हुन्छ । बाहिरी देशहरुले विमान, इन्जिनियर,उद्धार विशेषज्ञ, उपग्रह चित्र, मौसम जानकारी वा आवश्यक उपकरण पठाउन सक्छन्। केही सहयोग तुरुन्त आइपुग्छन् ; केही महिना वा वर्षपछि पुनर्निर्माणका लागि प्रतिबद्ध हुन्छन् । त्यसलाई कसरी संख्यामा तुलना गर्न सकिन्छ ? यस प्रकारको वरियताले कति ठूलो क्षति पु¥याउन सक्छ त्यो अझ चिन्ताजनक छ । यदि सहयोग दिने हरेक देशलाई तुरुन्तै स्कोरबोर्डमा राखेर, धेरै दियो भनेर प्रशंसा गरियो वा कम दियो भनेर हँसाइयो भने सानो देशहरू वा सीमित स्रोत भएका देशहरूलाई सहयोग गर्न प्रोत्साहन कसरी मिल्ला ? कल्पना गरौं, कुनै देशले आफूले सक्ने सहयोग पठाएको छ र त्यसलाई कम महत्वपूर्ण भनियो किनभने अर्को देशले बढी दिएको छ । उद्धारकर्मीहरूले जोखिम लिएर काम गरिरहेका छन् र उनीहरूको योगदान कम मूल्यवान भएको भनियो किन भने त्यो सजिलै नगदमा परिणत हुँदैन । त्यो मानवीय सेवा होइन, गणित हो जसभित्र निराशावाद लुकेको हुन्छ ।
नेपाललाई अझ धेर देशहरूको सहयोग चाहिन्छ । उद्धारकर्मी, खाना, टेन्ट, औषधि, प्रविधि र पुनर्निर्माण सहयोग सबै आवश्यक छ । अन्तर्राष्ट्रिय सहभागितालाई निरुत्साहित गर्ने कुराले अन्तत ः नेपाललाई नै हानी पु¥याउँछ । यो भन्दा पनि गैरजिम्मेवार छ, ती वरियतालाई भू–राजनीतिक संकेतहरूमा परिणत गर्ने प्रयास : नेपालाई अन्य देश भन्दा बढी दियो, त्यसैले नेपाललाई बढी माया गर्छ; अर्को देशले कम दियो, त्यसैले नेपालसंगको मित्रतामा प्रश्न उठ्छ । यस्ता दावीहरुलाई गम्भीर शङ्काको रुपमा हेरिनुपर्छ ।
यहाँ जसले नेपाल र सहयोगी देशहरूबीच अविश्वास फैलाउने प्रयास गरिरहेको छ, उनीहरू विपद्का पीडितहरुको हितमा छैनन् । उनीहरू मानवीय पीडालाई राजनीतिक विभाजनका लागि प्रयोग गरिरहेका छन् । नेपाललाई आज मात्र होइन वर्षौंसम्म अन्तर्राष्ट्रिय सहयोगको आवश्यक पर्छ । सडक र पुल पुननिर्माण गर्नुपर्छ । जलविद्युत् र सञ्चार पूर्वाधार पुनःसञ्चालन गर्नुपर्छ । विपद् निगरानी र प्रारम्भिक चेतावनी क्षमता सुधार गर्नुपर्छ । नेपाललाई किन कसैले अन्तर्राष्ट्रिय मित्रहरुलाई एकअर्काविरुद्ध प्रयोग गर्न सोच्ला । यो एउटा ठुलो प्रश्न हो । प्रत्येक देशले आफ्नो क्षमता र नेपालको आवश्यकता अनुसार योगदान दिनुपर्छ, उद्धार तथा राहत प्रयासहरू सरकारको प्राथमिकता र योजना अनुसार समन्वय गर्नुपर्छ । कुनै देशसँग पैसा छ भने अर्कोसँग विशेष उद्धार टोली छ । केहीसँग विमान र व्यवस्था छ । केहीसँग उपग्रह, मौसम विज्ञान, जल विज्ञान वा इन्जिनियरिङ्ग ज्ञान छ । अहिले नेपाललाई यी सबै कुराहरुको आवश्यकता छ ।
चीनको एउटा पुरानो भनाई छ, ‘सबैले दाउरा हाल्यो भने आगो तीव्र बल्छ ।’ त्यस्तै ‘सानै भएपनि राम्रो काम नगर्न चाहिँ भएन ।’ यी विचारहरूमा मानवीय सहयोग गर्नुपर्छ भन्ने प्रष्ट्याउँछ । चीनको सहयोगलाई पनि यसै व्यापक सन्दर्भमा बुझ्नुपर्छ । चीनले केवल पैसा दिएको छैन । चीन नेपालका छिमेकीका रूपमा उद्धार र दीर्घकालीन विपद् रोकथाममा सहभागी छ । सबै देशका लागि एउटै मानक लागू हुन्छ । विपद्कालाई सहयोग कत्तिको प्रभावकारी भयो, स्रोतहरू पीडितसम्म पुग्यो कि पुगेन भन्ने मुख्य विषय हो । परिवारहरू शोकमा छन्, मानिसहरू अझै हराइरहेका छन् र उद्धारकर्मीहरूले माटो र भत्केका भग्नावषेशहरुमा खोजिलाई जारी राखेका छन ।
मानवीय सहायता भू–राजनीतिक वारियतामा बदल्न खोज्नेहरूले आफैंलाई एउटा साधारण प्रश्न सोध्नुपर्छ, के यसले विपत्तिमा अड्किएको एउटा पनि व्यक्तिलाई जोगाउँछ ? के यसले एउटा विस्थापित परिवारलाई गास बास कपास दिन्छ ? के यसले एउटा नष्ट भएको घर पुनर्निर्माण गर्छ ? यदि होइन भने, सायद स्कोरबोर्डलाई छाडिदिनु राम्रो हुन्छ । किनकि विपद् आउँदा नेपाललाई प्रतिस्पर्धा, शङ्का वा भू–राजनीतिक अंकगणीत होइन, एकता चाहिन्छ, स्कोरबोर्ड होइन ।
(लेखक युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजी अफ चाइनाको स्कूल अफ पब्लिक एडमिनिस्ट्रेशनका प्राध्यापक र पत्रकारिता तथा सञ्चार विभागका अध्यक्ष हुन्)





प्रतिकृया दिनुहोस