• शनिबार ४-१६-२०८३/Saturday 08-01-2026
मनोरञ्जन

‘प्रतिवैरम्’ बाट धेरै आशावादी छु : निर्माता शाह

काठमाडौं । राकेश शाह गीतकार, निर्माता हुनुका साथै उद्यमी तथा निर्माण परियोजना व्यवस्थापन क्षेत्रमा पनि कार्यरत छन् । लहानमा जन्मिएका शाह हाल बेलायतको स्कटल्याण्डस्थित एडिनबर्गमा बसोबास गर्दै आएका छन् । उनी आदर्श प्रोडक्सन्सका संस्थापक समेत हुन् । उक्त संस्थामार्फत नेपाली तथा मैथिली भाषामा म्युजिक भिडियो, वेब सिरिज तथा चलचित्र निर्माण हुँदै आएको छ । 

 

भारतको गुरु नानक इन्स्टिच्युसन्स टेक्निकल क्याम्पस, जवाहरलाल नेहरू टेक्नोलोजिकल युनिभर्सिटी, हैदराबादबाट सिभिल इन्जिनियरिङमा स्नातक उपाधि हासिल गरेका शाहले बेलायतको स्कटल्याण्डस्थित हेरियट–वाट विश्वविद्यालयबाट कन्स्ट्रक्सन प्रोजेक्ट म्यानेजमेन्ट विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरेका हुन् । इन्जिनियरिङ क्षेत्रमा आफ्नो व्यावसायिक करिअरलाई निरन्तरता दिँदै शाहले नेपाली तथा मैथिली भाषाको मनोरञ्जन क्षेत्रसँग पनि सक्रिय रूपमा आबद्ध रहँदै आएका छन्। गीतकारका रूपमा उनले ‘के तिमी मलाई माया गर्छौ’ र ‘कसरी भनूँ तिमीलाई’ गीतको रचना गरेका छन् ।

 

आदर्श प्रोडक्सन्समार्फत उनले ‘न्यानो साथ’, ‘कसरी भनूँ तिमीलाई’, ‘के तिमी मलाई माया गर्छौ’, ‘जाने मान्छे गईहाल्छ छोडेर’ लगायतका नेपाली म्युजिक भिडियो निर्माण गरेका छन् । उनले मैथिली भाषामा भने ‘चेहरा या चाँदनी गोरी’, ‘प्रियतम के हाथ’, ‘जवानी काफी’, ‘चालू अपन देश’ ‘आहा के चेहरा’ लगायतका म्युजिक भिडियोहरू पनि निर्माण गरेका छन् ।

 

संगीतसँगै शाहले डिजिटल तथा चलचित्र क्षेत्रमा पनि काम गर्दै आएका छन् । नेपाली तथा मैथिली भाषामा निर्माण गरिएको वेभ सिरिज ‘आरती’ मा उनले क्रियटिभ प्रोड्युसरको भूमिका निर्वाह गरेका छन् । उनी नेपाली, मैथिली, हिन्दी तथा भोजपुरी भाषामा निर्माण भएर प्रदर्शनको तयारीमा रहेको बहुभाषिक चलचित्र ‘प्रतिवैरम्’ मा निर्माताका रूपमा आबद्ध छन् । ‘आरती’ पछि चलचित्र ‘प्रतिवैरम्’ बाट धेरै नै आशावादी भएको उनले बताए । 

 

आदर्श प्रोडक्सन्समार्फत शाहले नेपाली तथा मैथिली भाषामा मौलिक सामग्री निर्माण गर्दै आएका उनका निर्माणहरूमा म्युजिक भिडियो, वेभ सिरिज तथा फिचर चलचित्र समावेश छन् । उनले विभिन्न कलाकार, गायक–गायिका, चलचित्रकर्मी तथा अन्य सिर्जनात्मक क्षेत्रका व्यक्तिहरूसँगको सहकार्यमा कामहरु गरेका छन् । 

 

हाल बेलायतमा निर्माण परियोजना व्यवस्थापन क्षेत्रमा कार्यरत रहेका शाह नेपालमा निर्माण भइरहेका मनोरञ्जनसम्बन्धी विभिन्न परियोजनाको योजना, विकास तथा निर्माण प्रक्रियामा पनि सक्रिय रूपमा संलग्न छन् । उनी निर्माण परियोजना व्यवस्थापनको अनुभवलाई चलचित्र तथा डिजिटल सामग्री निर्माणसँग जोडेर काम गर्दै आएका छन् ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार