राज्यद्वारा हराइएको सत्यको प्रतीक ‘हराएको कुकुर’
काठमाडौं । थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘हराएको कुकुर’ मञ्चन भइरहेको छ। हराएको कुकुर’ लाई नाटकमा राज्यद्वारा हराइएको सत्यको प्रतीक मानिएको छ। नाटकका पात्रहरू क्रमश एउटा चिया पसलमा भेट्छन्। त्यही पसलमा हुलियासहित कुकुर हराएको सुचना टाँसिएको छ। जसले भेटाउँछ उसलाई एक लाख पुरस्कार दिने भनि लेखिएको छ। पैसाको लागि त्यही कुकर खोज्ने क्रममा ती पात्रहरूले कस्तो कदम चाल्छन् त भन्ने प्रश्नसँगै नाटक अगाडि बढेको छ।
नाटक एउटा रूपकात्मक नाटक हो,जसले राज्य संरचनामा व्याप्त अन्याय, अनुसन्धान प्रणालीको पक्षपात, र नागरिक आवाजमाथिको दमनलाई उजागर गर्छ। कुकुर हराएको सामान्य घटनाबाट सुरू हुने यो कथा क्रमश एउटा गम्भीर सामाजिक,राजनीतिक विमर्शमा रूपान्तरण हुन्छ । नाटकको सुरुवातमा एक कुकुर हराउँछ । “सानो माछा ढडियामा, ठूलो माछा बढिएमा” भन्ने जनकथन यहाँ कानुनी प्रणालीको वास्तविक अनुहार बनेर प्रस्तुत हुन्छ । निर्दोष जनताले अन्यायको विरोध गर्दा उनीहरूलाई नै अपराधी ठहर गरिन्छ। अनुसन्धान गर्ने निकायहरू निष्पक्षता गुमाएर शक्तिशाली पात्रहरूका आज्ञाकारी बन्न पुग्छन्। प्रमाणहरू हराइन्छन्, घटना ढाकछोप गरिन्छ, र सत्यको स्वर दबाइन्छ । नाटकको उत्कर्षमा हराएको कुकुर भेटिन्छ, जुन दृश्यले एउटा समाधान प्रस्तुत गरेजस्तो देखिए पनि नाटकका मूल प्रश्नहरू अझै अनुत्तरित रहन्छन् ।
नाटक वास्तवमा राज्यद्वारा हराइएको सत्यको प्रतीक हो । नाटकले दर्शकहरूलाई चुनौती दिन्छ, के साँचो न्याय कहिल्यै भेटिन्छ त रु के नागरिक आवाजको दमनलाई राज्यद्वारा वैधता दिन सकिन्छ ? नाटक एउटा सरल खोजीको कथा मात्र होइन, सत्ताको आलोचना गर्ने, नागरिक चेतनालाई झकझक्याउने, र संरचनागत अन्यायलाई प्रश्न गर्ने एक गहिरो नाट्य प्रस्तुति हो।
नाटकका लेखक तथा निर्देशक मणि कुलुङ राई हुन् भने किरण नेपाली, स्मृति कल्मर, रेज्मी राई, इन्द्रेणी कुलुङ, रमा कुलुङ, अबिनास डि एम, मिना श्रेष्ठ, मनि कुलुङ र सुनिल वाहिङ राईले अभिनय गरेका छन्। नाटकको ध्वनि परिकल्पनामा अमिर ताम्राकार र नवीन काफ्ले छन्। उमेश तामाङको प्रकाश परिकल्पना रहेको नाटकमा सुनिल बाहिङ राईले प्रकाश परिचालन गरेका छन्। नाटकको मञ्च आकाश मगर र मन्जिल मगरले तयार पारेका हुन्। रविन तामाङको नाट्य रूपान्तरण रहेको नाटक साउन ४ सम्म चल्नेछ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस