• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
प्रवास

क्यानडाको टोरन्टोमा नेपथ्य यात्राको भब्य समापन

टोरन्टो ।ऐतिहासिक स्मारकका रुपमा श्रद्धा गरिने भब्य सभागृह ‘मेस्सी हल’मा गर्विलो उपस्थिती जनाउँदै नेपथ्यले क्यानाडाको श्रृंखलावद्ध यात्रा टुङ्ग्याएको छ । पहिलोपटक क्यानाडामा पाइला टेकेको ब्याण्डले सुरुमा क्यालगरी त्यसपछि भ्यानकुभर हुदै अन्त्यमा टोरन्टोमा प्रस्तुत भइरहँदा त्यो क्षण स्थानीय नेपाली समुदायका लागि मानक बन्दै थियो ।

 

‘यति महत्वपूर्ण हलमा उस्तै महत्वपूर्ण तवरले नेपथ्य प्रस्तुत भइदियो,’ टोरन्टोका मिङमा नोर्गे शेर्पा भनिरहेका थिए, ‘दर्शकका रुपमा उपस्थित हुँदा पनि त्यो एउटा नेपालीले गर्व गर्ने क्षण बनिदियो ।’
मिङमाका अनुसार प्रस्तुतीदेखि लिएर सहभागीतासम्मका हिसाबले यस्तो भब्य अनुभूति यसअघि भएको थिएन ।

 

कन्सर्ट सकिएपछि नेपथ्य र ब्याण्डका मुख्य गायक अमृत गुरुङको फेसबुक पोस्टमा आएका प्रतिक्रियाहरुले पनि मिङमाका भनाइलाई थप पुष्टि गरिरहेका छन् । दर्शक हुनुको अनुभूति प्रकट गर्दै प्रतिक्रिया जनाउनेहरुले टोरन्टो शोलाई ‘जीवनकै महत्वपूर्ण अनुभव’ भनेर उल्लेख गरेका छन् ।

 

कन्सर्टका लागि एक घन्टा अगावै हलको ढोका खुल्नासाथ दर्शकहरुको उपस्थिती सुरु भइसकेको थियो । स्थानीय समय अनुसार बेलुकीको ठीक सात बजे पहिलो प्रस्तुतीका रुपमा ‘सा कर्णाली’ म्यूजिक भिडियो बज्नासाथ तीनतल्ले हलको टनाटन दर्शक घेराले उत्तेजना र उत्साहको आवाज गुञ्जाएका थिए । त्यसपछि कन्सर्ट अवधिभर त्यो न्यानोपना जारी रह्यो ।

 


मञ्चमा ब्याण्डको उपस्थितीपछि भने ‘कोशीको पानी यो जिन्दगानी’बाट साँझको सुरुवात गरिएको थियो । त्यसपछि लगातार नयाँ र पुराना गीतहरु एकपछि अर्को प्रस्तुत हुँदै गए ।

 

दर्शकदीर्घामा एउटा परिचित क्यानेडेली अनुहार पनि देखिन्थ्यो । उनी थिए लामो समय नेपालमा बसेर पत्रकारिता गरेका ड्यानियल ल्याक । ‘नेपालले समेटेको गजबको धर्ती, संस्कृति र त्यहाँका मानिसहरुका बारेमा बोल्ने उत्साहवर्धक संगीतको अनुभूति भयो,’ ड्यानियल भन्दै थिए, ‘अमृत र उनको टोलीले आफ्नो प्रतिभा र हुटहुटीलाई यति गहनताका साथ प्रस्तुत गरे कि यो बेलुकी म एउटा मगनमस्त नेपालीजस्तै झुम्न पुगेँ ।’


टोरन्टो प्रस्तुतीसँगै क्यानाडाको श्रृंखलावद्ध यात्रा समाप्त भएपछि अब १४ सदस्यीय कलाकार, प्राविधिक र व्यवस्थापनको टोली अक्टोबर १२ तारिखका दिन स्वदेश फर्कँदैछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार