पोखरामा विद्यालय नाटक महोत्सव

पोखरा । पोखरामा भाद्र २७ गतेदेखि आयोजना हुन लागेको विद्यालय नाटक महोत्सवको लागि छनोट भएका नाटकको विवरण सहित मञ्चन मिति आयोजक पोखरा थिएटरले सार्वजनिक गरेको छ । महोत्सवमा पोखरा महानगरपालिका भित्रका विद्यालयका १४ नाटक तथा अतिथि नाटकको रुपमा काठमाण्डौंबाट थप एक नाटक हेर्न पाइने अध्यक्ष एवं महोत्सव संयोजक परिवर्तनले जनाए ।
नाटकको पहिलो दिन भाद्र २७ गते हिल पोइन्ट मा.वि. माटेपानी पोखराको नाटक ‘शिलान्यास’ मञ्चन हुनेछ । रमेश तिमल्सिनाले निर्देशन गर्ने यो नाटकका लेखक भीमनिधि तिवारी हुन् । भाद्र २८ गते नवदिप बोडिङ स्कुल अम्मरसिंहले तयार ‘म..म..म..म..भुत’ नाटक हेर्न पाइनेछ । सरुभक्तले लेखेको नाटक दिप्सना विश्वकर्माको निर्देशनमा तयार हुँदैछ ।
भाद्र २९ गते प्रगति मा.वि.बाटुलेचौरको ‘भोला’ नाटकको पालो परेको छ । टंक चौालगाईले लेखेको नाटक मिना भण्डारीको निर्देशनमा मञ्चन हुनेछ । भाद्र ३० गते ‘कोहि किन बर्बाद होस्’ नाटक सोसल पब्लिक स्कुल बुद्धचोकले मञ्चन गर्नेछ । विजय मल्लले लेखेको नाटक धनकाजी श्रेष्ठको निर्देशनमा तयार हुनेछ । भाद्र ३१ गते भानुभक्त आवासिय मा.वि. सिम्पानीको ‘अँध्यारामा बाँच्नेहरु’ नाटकको पालो परेको छ । मानबहादुर मुखियाले लेखेको नाटक मनोज अधिकारीले निर्देशन गर्नेछन् ।
असोज ३ गते अतिथि नाटकको पालो परेको छ । काठमाण्डौ प्रज्ञा कुञ्ज स्कुलको नाटक ‘खेल्ने बेला खेल्छौं, पढ्ने बेला पढ्छौ’ टंक चौलागाईको लेखन निर्देशनमा हेर्न पाइनेछ । असोज ४ गते गुरुकुल विद्यासदन नयाँबजारको किर्तिपुरको ‘युद्धमा’ नाटक मञ्चन हुनेछ । हृदयचन्द्र सिंह प्रधानले लेखेको नाटक मिलन श्रेष्ठले निर्देशन गर्दैछन् । असोज ५ गते ‘मुना मदन’ नाटक माउण्ट अन्नपूर्ण मा.वि. नदिपुरले मञ्चन गर्नेछ । लक्ष्मी प्रसाद देवकोटाले लेखेको खण्डकाव्य सोनिका कार्की खत्रीको नाट्य रुपमान्तरण र निर्देशनमा हेर्न पाइनेछ । असोज ६ गते बाल मन्दिर मा.वि. नदिपुरको ‘पाठशाला’ नाटकको पालो परेको छ । टंक चौलागाई लेखक रहेको नाटक सुसन पौडेलले निर्देशन गर्दैछन् । असोज ७ गते ‘आँधीको मनोरम नृत्य’ नाटक भाष्कर मेमोरियल स्कुल फूलबारीले देखाउनेछ । घिमिरे युवराजले लेखेको नाटक रोशनी रामदामले निर्देशन गर्नेछिन् । असोज ८ गते ‘हिउँजस्तो गोरी’ नाटक सनफ्लावर बोर्डिङ स्कुल अर्चलबोटले मञ्चन गर्नेछ । यो नाटक नाट्य रुपान्तरण दिप्सना विश्वकर्माले गरेकी छन् भने निर्देशन दिलिप देवकोटाले गर्दैछन् । असोज ९ गते केफ मा.वि. सिम्पानीको ‘कर्मको फल’ नाटकको पालो परेको छ । भानुभक्त अविरलले लेखेको नाटक रोहित पौडेलले निर्देशन गर्दैछन् । असोज १० गते ‘यति’ नाटक हेर्न पाइनेछ । छोरेपाटन मा.वि. छोरेपाटनले सरुभक्तले लेखेको नाटक अनुषा परियारको निर्देशनमा मञ्चन गर्नेछ । असोज ११ गते एस.ओ.एस. हर्मन माइनर स्कुल पोखराको ‘बिर्सन नसकिने मान्छे’ नाटक हेर्न पाइन्छ । अमृत परियारले निर्देशन गर्ने यो नाटकको लेखक वासु शशी हुन् ।
महोत्सवको अन्तिम दिन असोज १२ गते कास्की मोडनाइज्ड एकेडेमीको चाउथेको नाटक ‘मसान’ हेर्न पाइनेछ । अञ्जु दाहालको निर्देशनमा तयार हुने नाटकका लेखक गोपाल प्रसाद रिमाल हुन् । सबै नाटक दिउँसो साढे १ बजे गन्धर्व नाटकघर ग्रैहापाटन पोखरामा मञ्चन हुने आयोजकले जनाएका छन् । महोत्सवको लागि प्रमुख सहकार्य पोखरा प्रज्ञा–प्रतिष्ठान गरेको छ भने गण्डकी प्रज्ञा–प्रतिष्ठान र राइट फर चिल्डेनले सहकार्य गरेका छन् । मिडिया पार्टनरको रुपमा पब्लिक फोर के टेलिभिजनले सघाउनेछ ।
प्रतिकृया दिनुहोस