• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
राजनीति

प्रधानमन्त्रीको भारत भ्रमण तालिका

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चार दिने भारत भ्रमणमा जाँदैछन् ।  प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली दिउँसो १ बजे राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।

 

प्रधानमन्त्री दाहालसँग परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित करिब ४७ जनाको सरकारी प्रतिनिधिमण्डल भारत जान लागेको छ ।

 

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा द्विपक्षीय हित र चासोबारे भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीसँग छलफल हुनेछ। भ्रमणका क्रममा विद्युत् व्यापार, प्रसारण लाइन निर्माण, एकीकृत जाँच चौकीको उद्घाटनलगायतका कार्यसूची तय भए पनि थप केही विषयमा समेत छलफल हुने जनाइएको छ ।

 

भ्रमणका क्रममा नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा भारतीय लगानी प्रवद्र्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाई मार्गबारे पनि छलफल हुँदैछ। हवाई ट्रान्जिट र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सवालमा उठेका विषयप्रति दुई देशका सरकार प्रमुखले छलफल गरेर टुङ्गो लगाउने नेपालको तयारी रहेको छ।

 

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा चलायमान बनाउन भारतसँग रहेका केही असमझदारीलाई यो भ्रमणले हटाउने अपेक्षा गरिएको छ । प्रधानमन्त्री प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्याह्न १ः२५ बजे प्रस्थान गर्दैछन् । भ्रमणमा सरकारी उच्चाधिकारीको टोली प्रधानमन्त्रीसँग रहने छ। त्यसबाहेक नेपाली उद्योगी व्यवसायीको ठुलो समूह पनि प्रधानमन्त्रीसँगै भारत जाने तयारीमा रहेको छ। उद्योगी व्यवसायीसँगै एक दजर्नभन्दा बढी सम्पादक, पत्रकारको समूह पनि भारत जाने तयारी छ।

 

भ्रमणको दोस्रो दिन बिहीबार जेठ १८ गते प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीबिच हैदरावाद हाउसमा उच्चस्तरीय भेटवार्ता हुनेछ। दुई देशका प्रधानमन्त्रीको भेटवार्तालगत्तै संयुक्त पत्रकार सम्मेलन आयोजना गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग भेटवार्ता गर्नेछन् ।

 

त्यस्तै प्रधानमन्त्रीले नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले संयुक्त रूपमा आयोजना गर्ने नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई पनि सम्बोधन गर्नेछन् भने भारतस्थित नेपाली समुदायसँग पनि छुट्टै छलफल गर्ने कार्यतालिका रहेको छ। स्वदेश फर्कने दिन उनले भारतका केही पर्यटकीय स्थलको अवलोकन भ्रमण गरेर जेठ २० गते साँझ प्रधानमन्त्री दाहाल स्वदेश फर्कनेछन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार