• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
अर्थ

एशिया प्याशिफिक क्षेत्रीय कार्यशाला शुरु, गुणस्तरिय पर्यटनकालागि पर्यटकीय तथ्याङ्कमा विज्ञहरुको जोड

काठमाडौं । संयुक्त राष्ट्रसंघ अन्तर्गत विश्व पर्यटन संगठन , नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय/ नेपाल पर्यटन बोर्डको आयोजनामा तीन दिवसीय वेटर डाटा फर वेटर टुरिजम इन साउथ एशिया एण्ड प्यासिफिक क्षेत्रीय कार्यशाला बुधबार(आज) देखि काठमाडौंमा सुरु भएको छ । 

 

चैत्र १ देखि ३ गते (मार्च १५ देखि १७) सम्म चल्ने कार्यशालामा नेपाल, भारत, बगंलादेश, मलेशिया, माल्दिप्स, इन्डोनेसिया,इरान, फिलिपिन्स , कम्बोडिया, लाओस्, कोरिया, थाइल्याण्ड, स्पेन,  लगायत ११ देश तथा युएनडब्लुयूटीओका प्रतिनिधिहरू सहभागी भएका छन् । संयुक्त राष्ट्रसंघ अन्तर्गत विश्व पर्यटन संगठनले विश्व पर्यटनका विभिन्न आयामहरूमा छलफल गर्दै पर्यटन उद्योगलाई चलायमान गराउन विभिन्न क्षेत्रमा कार्यक्रम हुँदै आइरहेकोमा सो क्षेत्रीय कार्यक्रम नेपालमा आयोजना गरिएको हो । 

 

नेपालमा आयोजना गरिएको कार्यक्रमका माध्यमबाट विश्व पर्यटनका नयाँ आयामहरूका बारेमा थप जान्न तथा अनुभव आदान प्रदान गर्ने र दिगो पर्यटन विकासमा साझा धारणा तय गर्ने अवसर मिल्ने अपेक्षा गरिएको छ । 

 

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले कोभिडले थलिएको पर्यटन उद्योगको विकास, विस्तार गर्न नयाँ गन्तव्य स्थलको खोजी गरी त्यसको विकास र विविधीकरण , पर्यटकीय पूर्वाधारको विकास, यस क्षेत्रमा लगानी बढाउनुका साथै पर्यटन उद्योगलाई ग्रामीण तहसम्म विकास र विस्तार गर्नुपर्ने बताउनुभयो ।

 

उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पर्यटन क्षेत्रको प्रवर्द्धनमार्फत संख्यात्मक तथा गुणात्मक रूपमा पर्यटक आगमनमा वृद्धि गरी प्राप्त लाभको समन्यायिक वितरण गर्ने कार्यको पनि थालनी गर्न सबैले आ आफ्नो ठाउँबाट प्रयास गर्नु पर्नेमा जोड दिँदै नेपालमा कार्यशाला आयोजना गरेकोमा युएनडब्लुयूटीओलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

 

कार्यक्रममा संयुक्त राष्ट्रसंघ अन्तर्गत विश्व पर्यटन संगठनका एक्सटर्नल रिलेशन निर्देशक बेका जकेलीले पछिल्लो समय पर्यटनको आयामहरू परिवर्तन हुँदै गएको सन्दर्भमा पर्यटकीय योजना तर्जुमा देखि प्रवर्द्धनात्मक कार्यका लागि गुणस्तरीय तथ्याङ्क आवश्यक हुने बताउनुभयो ।

 

स्पेनका लागि नेपाली राजदूत  डा. शर्मिला पराजुली ढकालले कोभिडको प्रभाव कम हुँदै विश्व पर्यटन लयमा फर्किन थालेको यस समयमा नेपालमा आयोजना भएको यो कार्यशालामा विज्ञहरूकाबीच हुने छलफल तथा बहसले विश्व पर्यटनलाई दिशानिर्देश गर्ने बताउनुभयो ।  

 

यस्तै गणतन्त्र कोरियाको संस्कृति खेलकुद तथा पर्यटन मन्त्रालयका डिजी जोङतायक पार्कले  भच्र्युल माध्यमबाट मन्तव्य राख्दै गुणस्तरीय तथ्याङ्कमा काम गर्न र एक अर्को देशको अनुभव साटासाट गर्न कार्यक्रम फलदायी हुने अपेक्षा सहित शुभकामना व्यक्त गर्नुभयो । 

 

युएनडब्लयूटिओको आयोजनामा नेपालमा भइरहेको कार्यक्रममा पर्यटनका विभिन्न आयामहरूमा हुने छलफल तथा पर्यटन तथ्याङ्कका विषयमा विभिन्न देशहरूका अनुभव आदान प्रदानले पर्यटनको लागि नयाँ दृष्टिकोण तय गर्ने  नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले बताउनुभएको छ ।

 

तीन दिवसीय कार्यशालामा पर्यटनसँग सम्बन्धित विभिन्न सेसनमा छलफल हुने बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न देशका विज्ञहरूको सहभागिता रहेको छ ।

  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार