• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
स्वास्थ्य

हामीलाई कुन-कुन भाइरसले चुनौती दिइरहेका छन्

काठमाडौं । पछिल्ला केही साता कोभिड सङ्क्रमणदर उच्च रहँदा उस्तै लक्षण देखिने अन्य भाइरसबाट हुने सङ्क्रमण पनि बढिरहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

 

ज्वरो आउने, जीउ दुख्ने र टाउको दुख्नेजस्ता स्वास्थ्य समस्या कोरोनाभाइरसको सङ्क्रमणका लक्षण हुन् तर पछिल्लो समय धेरै बालबालिका सङ्क्रमित भएको एडिनोभाइरसका लक्षणहरू पनि उस्तै छन्।

 

सबै उमेर समूहका मानिसहरूलाई लक्षण देखिने कोरोनाभाइरस र बालबालिकालाई सताउने एडिनोभाइरसबाहेक उस्तै लक्षण देखा पर्ने डेङ्गी सङ्क्रमण पनि नेपालका केही जिल्लामा देखिएको छ। नेपालमा हरेक वर्ष वर्षा याममा फैलने डेङ्गीबाट पनि विगत सात महिनामा ९०० जना सङ्क्रमित भइसकेका छन्।

 

कोरोनाभाइरस
नेपालमा सन् २०२० बाट देखिएको कोरोनाभाइरस उत्परिवर्तन हुँदै आएको ओमिक्रोन भेरिअन्ट पछिल्लो एक वर्षयता नेपालमा सक्रिय छ।

 

यसका विभिन्न उपप्रजाति सक्रिय भएपछि विगत एक महिनायता कोभिड सङक्रमणदर उच्च देखिएको छ। ओमिक्रोन भेरिअन्टका लक्षणहरूमा नाकबाट पानी बग्ने, टाउको दुख्ने, शरीर गल्ने (मध्यम वा गम्भीर), हाच्छिउँ आउने र घाँटी दुख्ने जस्ता छन्।

 

एडिनोभाइरस
बालबालिकामा देखिने यो भाइरस आफैँ नियन्त्रण हुने सेल्फ लिमिटिङ समूहको भाइरस भएको विशेषज्ञहरू बताउँछन्। यसको छुट्टै निगरानी गर्ने नेपालमा प्रणाली नभए पनि केही केही साताअघि कान्ति बाल अस्पतालमा यस्तो भाइरसबाट सङ्क्रमित बालबालिकाहरूको ठूलो सङ्ख्या पाइएको थियो।

 

जुलाईको अन्त्यतिर उक्त अस्पतालमा दैनिक ९०० देखि १,००० जनासम्म उक्त भाइरस सङ्क्रमणको लक्षण देखिएका बिरामीहरू उपचारका लागि आएको अस्पतालले जनाएको थियो।

 

नेपाल पेडियाट्रिक सोसाइटीका अध्यक्ष तथा बालरोग विशेषज्ञ डा। गणेश राईका भनाइमा एडिनोभाइरस लागेपछि रुघाखोकी लाग्ने र ज्वरो आउने हुन्छ।

 

डेङ्गी
दिउँसो सक्रिय हुने लामखुट्टेबाट फैलने डेङ्गीका लक्षण पनि कोभिडसँग मिल्दोजुल्दो ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्ने र थकान महसुस हुने छन्।

 

विगत केही वर्षको तथ्याङ्क हेर्दा नेपालमा जुलाईबाट सेप्टेम्बरबीचमा डेङ्गीको धेरै सङ्क्रमण हुने गरेको छ। यो पटक कोभिडको सङ्क्रमण पनि यही समयमा उकालो लागेको छ।यसकारण मानिसहरू झुक्किने जोखिम थप बढेको अधिकारीहरू बताउँछन्।

 

महाशाखाका अनुसार गत ज्यानुअरीयता नेपालमा ६० वटा जिल्लाका ९०४ जनामा डेङ्गी सङ्क्रमण भएको छ। जसमध्ये ७५ प्रतिशत सङ्क्रमित लुम्बिनी र बाग्मती प्रदेशका १० वटा जिल्लामा भएका छन्। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार