• बिहीबार १-२०-२०८१/Thursday 05-02-2024
मनोरञ्जन

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभलमा ‘महानगर’

काठमाडौं । भारतको कोलकाता फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियर भएको फिल्म ‘महानगर’ अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभलमा छनोट भएको छ। फिल्मका क्रिएटिभ प्रोड्युसर नवनिधि दाहालले फिल्मको अमेरिका प्रिमियर सोही फेस्टिभलसँगै हुने जानकारी गराएका छन् । 

 

मोहन राई निर्देशित फिल्म कोलकाता फिल्म फेस्टिभलमा फिल्म एसियन सेलेक्ट अन्तर्गत दि नेटवर्क फर दि प्रमोसन अफ एसियन सिनेमा (नेटप्याक) अवार्डका लागि प्रतिस्पर्धात्मक विधामा छनोट भएको थियो । 

 

‘अञ्जली’ र ‘सखी’ नामका दुई फिल्म बनाएका मोहनको ‘महानगर’ फिचरमा डेब्यू फिल्म हो । ‘अञ्जली’ तेस्रो लिंगी अञ्जली लामाको जीवनीमा बनाएको डकुमेन्ट्री फिल्म हो भने ‘सखी’ छोटो फिल्म । 

 

फिल्मले विश्वका ९३ देशबाट सहभागिताका लागि आएका २५ सय फिल्मबाट फेस्टिभलमा ठाउँ बनाएको हो । यो फेस्टिभलको २४ औं संस्करण हो । फेस्टिभल मे २८ देखि सुरु भएर जुन ६ सम्म चल्नेछ । 

 

कार्म र मेनुका प्रधानको मुख्य भूमिका रहेको फिल्मले एक रातको कथा भन्छ । सानो घटनाका कारण सँगै रात गुजार्न बाध्य उनीहरुको जीवनमा त्यही रातले ल्याउने परिवर्तन फिल्मको कथा हो । फिल्ममा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे आदि कलाकार पनि अभिनय रहेको छ । 

 

फिल्मलाई माउन्टेन रिभर फिल्म्स्को सहकार्यमा मिडलवे फिल्म्स्ले निर्माण गरेको हो । निर्देशक मोहन राई स्वयंको लेखन रहेको यो फिल्मको कार्यकारी निर्मातामा गोविन्द पराजुली तथा क्रिएटिभ निर्माता नवनिधि दाहाल रहेका छन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन, संगम पन्थीको संगीत र परीक्षित झाको सम्पादन छ ।

 

ब्रुकलिन फिल्म फेस्टिभलमा यसअघि दुई नेपाली फिल्मले सहभागिता जनाइसकेका छन् । सन् २००९ मा ‘सारी सोल्जर्स’ यो फेस्टिभलमा छनोट भएको थियो भने सन् २०१७ मा सुनिल पाण्डे निर्देशित सर्ट फिल्म ‘अनन्त यात्रा’ पनि यहाँ छनोट भएको थियो । 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार