• बिहीबार ८-१८-२०७७/Thursday 12-03-2020
अन्तर्वार्ता

‘मेरो जीवन नै उत्सव हो’

काठमाडौं । डा.उषा लोहनी त्रिभुवन विश्वबिद्यालयको प्राणीशास्त्रकी पूर्व–प्राध्यापक हुनुहुन्छ । अमृत साइन्स क्याम्पस र केन्द्रिय शिक्षण विभाग, किर्तिपुरमा उहाँले ३८ वर्ष प्राध्यपन गर्नुभयो । नेपालको इथ्नोजुओलजी अर्थात् मान्छे, जनावर र पर्यावरणबीचको अन्तर सम्बन्धको बिशिष्ट अध्ययन गर्ने उहाँ पहिलो नेपाली हुनुहुन्छ । यस विषयमा उहाँले गरेका अध्ययनहरू अन्तरराष्ट्रिय जर्नलहरुमा पनि प्रकाशित भएका छन् । यो अन्तरसम्वन्ध बारे उहाँको निष्कर्ष हो—राज्यले हेक्का नराखेको कारणले गर्दा एकातिर पर्यावरणीय विनाश अक्षम्य रुपमा भएको छ भने अर्कोतिर हजारौँ वर्ष अगाडिदेखि हाम्रो पुर्खाले आर्जन गरेको ज्ञान—ethnozoological knowledge जसको हस्तान्तरित स्वरुपको आधारमा हाम्रो स्वरुप रहेको र हामी बाँचेर आएका हौँ, सो विस्तारै विलुप्त हुँदै गइरहेको छ । र, यो सन्तुलन बिग्रँदा मुलुकको समग्रतामा नै, अझ मूलत : नेपालको रैथाने जनजातिहरुको ज्ञान र संस्कृतिमा, नराम्रो असर परेको वहाँको अध्ययनको निचोड रहेको छ । अर्को शब्दमा भन्नुपर्दा पुरानो संस्कृतिले ज्ञान बोकेको हुन्छ । संस्कृति भत्क्यो भने ज्ञान मर्दछ । संस्कृति बनेर रहेको त्यो क्षेत्रले मान्छे र जनावरबीचको सम्वन्धलाई धर्म र मान्यताहरुबाट परिभाषित गरेको हुन्छ। यहाँनिर बुझ्नुपर्ने कुरा मान्छेले गर्दै आएको जनावरको उपयोग मात्र होइन सम्वर्धन पनि हो । यो सन्तुलन मिलाउने ज्ञानले विभिन्न चाडबाड, उत्सव, रितिरिवाज, खुशीको उन्मुक्ति र दुखको आवेग मार्फत अभिव्यक्ति पाएको छ । जनावरको प्रयोग र संरक्षणको यो फलदायी ज्ञान अत्यन्त उपयोगी अन्तरसम्वन्ध हो, मान्छेले सिकेको र समयले प्रमाणित गरेको । विकाशको क्रममा यो कमजोर हुँदै जाने पनि प्राकृतिक प्रकृयाको रुपमा केहि हदसम्म वर्णन गर्न सकिन्छ । विकासको क्रममा विलुप्त हुनु अगाडि नै यो संरक्षित भइसक्नुपर्दछ । यहाँनेर हामी चुक्नु हुँदैन । राज्यले गर्ने विभिन्न संरक्षण रणनीतिमा यो मर्म समाहित हुनुपर्दछ । 

 

तर हाम्रो यसपटकको यो छलफल मूलत : व्यवसायिक क्षेत्रभन्दा बाहिर नै गएर हुनेछ । त्यो भनेको संगीत, अझ सांगतिक यात्रा हो । उहाँको कहिले संगीत पेशा बनेन, तर यसमा अत्यन्त रुची र माया रह्यो । फ्रेसन्यूज नेपालका लागि सुकृत नेपालले उहाँसंग गरेको यो संवाद :

 

डाक्टर साहेब तपाई हराएको जस्तो; यदाकदा केही भजन, केही गीत मात्र सुनियोे । पहिलो जिज्ञासा—यो के हो ?
हराएको भन्दा पनि, लाग्छ, यस क्षेत्रमा म कहिले उदाएकै थिइनँ । ठीक भन्नुभयो, मेरा केही गीतहरु मात्र छन्, तुलनात्मक रुपमा भजन अली बढी । तर म ठान्छु ती बाँचेका छन् । म जति हराएकी छु, त्यति रमाएको पनि छु । जिन्दगी रमाउनको लागि नै होइन र ? हाम्रा महाकवि देवकोटाको अंग्रेजी कविताको त्यो भनाई राम्रो लाग्छ मलाई – ‘धरतीमा जन्मिन पाउनु नै सबैभन्दा ठूलो उत्सव हो ।’ हेर्नुस्, एउटा कस्तो सुन्दर संयोग बन्यो मेरो जिन्दगीको । मेरी दिदी डा. विमला प्रसुती गृहमा हुनुहुन्थ्यो । उहाँले मेरो कोखबाट झिकेर रोइरहेको मेरो शिशुलाई मेरो हातमा थम्याउँदै भन्नुभयो – ‘ल, तेरो छोरा’ । अपार खुशीको क्षण थियो त्यो । त्यो थियो मेरो जिन्दगीको उत्सव । मेरी आमाजु स्वर्गीय अम्बिका दिदीले भन्नुभयो, ‘हाम्रो घरको उत्सव बनेर आयो यो । यसको नाम उत्सव राखौ’ । मैले महसूस गरेँ (मेरो असीम खुशीको अनुभूतिलाई उहाँले च्याप्पै समात्नुभयो । यसरी मेरो छोराको नाम नै मेरो जिन्दगीको ‘उत्सव’ भयो । यसै पाटोबाट अझ पर गएर म भन्छु – संगीत एउटा उत्सव हो मेरो । उत्सवले के गर्छ ? खुशी दिन्छ । हो, त्यो खुशी मैले संगीतमा पनि पाएकी छु ।

 

हामी बडो मिठो छलफलमा आइपुग्यौँ । तपाइँको लागी संगीत कसरी खुशी बन्यो ? 
जिन्दगीलाई एउटा फराकिलो क्यान्भासमा राखेर हेर्नुहोस् । त्यहाँ समयको प्रवाह अर्थात् टाइमलाईन देख्नुहुन्छ । समग्रता देख्नुहुन्छ । बच्चामा खेलौना खेल्दाको खुशी । त्यो फुट्दाको रुवाबासी । यसरी हुर्किँदै जाँदा विभिन्न चरणमा खुशी र रोदन सम्मिलित हुँदै गएको हुन्छ । हो, यहाँनिर मेरो जीवनमा गीत संगीतको कुरा आउँछ । संगीत मेरो खुशी भएको कथा आउँछ । त्योवेला म हुर्किँदै थिएँ । स्कूल जान हतार – महेन्द्र भवनमा । त्यतिबेला घरमा एउटै मात्र रेडियो थियो । पिताजीले न्यूज सुन्ने । तर जब मैले मौका पाउँथेँ, तब म रेडियो नेपाल लगाउँथेँ र गीत सुन्थेँ । त्यतिबेला नारायण गोपालका गीतहरु धेरै बज्थे । ती गीतहरु मलाई अत्यन्त मन पर्थे, अझै पनि पर्दछन् । गीत सुन्दा जति खुशी मिल्थ्यो मलाई, त्यो भन्दा धेरै खुशी गीत गाउँदा हुन्थेँ । त्यही भाका र त्यही शब्द टिपेर म नारायण गोपालको स्वरसँगै उहाँले जस्तै गरी गाइरहेको हुन्थेँ । मसँगै गाउँथे मेरी दिदी इन्दु र वहिनी सरोज । त्यतिवेला म हराएको हुन्थेँ । समयको त्यो अन्तरालमा त्यहाँ, जहाँ म आफै गाएर आफै रमाइरहेको हुन्थेँ, त्यो नै मेरो खुशी थियो । यो क्रम एक दिन, दुइ दिन होइन, मेरो विवाह नगरुञ्जेलसम्म चालु रह्यो । 

 

त्यसको मतलब के बैवाहिक सम्वन्ध पछि संगीतसँगको सम्वन्ध टुटेको हो ?
होइन, झन् प्रगाढ बन्यो । मेरो पहिलो गीतको रेकर्ड नै बिवाह गरेपछि भयो । बिवाहको पाँच वर्षपछि भयो । 

 

एउटा गीत रेकर्ड गर्न पनि पाँच वर्ष लाग्नुको कारण के थियो ?  
हेर्नुस् खै कसरी वर्णन गरूँ म यो, सायद हरेक चीजको लागि साईत चाहिँदोरहेछ, संयोग मिल्नुपर्दो रहेछ । बिवाह हुँदा म एम्. एस्सी. गर्दै थिएँ । मेरो श्रीमान वुटवलमा काम गर्ने । मलाई पढ्न यतै बस्नु पर्ने भयो, उहाँलाई कामले उतै । आउने जाने भइरहन्थ्यो । यसैबिच छोरा जन्म्यो । म संयुक्त परिवारकी बुहारी । समयको परिवेश फरक थियो । समाजलाई चलायमान गराउने मान्यताहरू फरक थिए । अहिले मेरी छोरी बुहारी भएको परिवेश र म भएको परिवेशबीच धेरै फरक थियो । त्यसैले केही समय संगीत थाति रह्यो । तर समय मिल्यो कि म गुनगुनाइरहेकै हुन्थेँ । झन् एक्लै रहँदा मेरो खुशीको साधन संगीत नै रह्यो । फरक यत्ति रह्यो कि गाउनेबाट गुनगुनाउन थालेँ । 

 

यस्तै गुनगुनाएको वुटवल छाडेर काठमाडौं फर्केको श्रीमानले गहिरिएर सुन्नु र रेडियो नेपालमा भ्वाइस टेस्ट खुल्नु फेरि अर्को संयोग बन्यो । हामी दुबै गयौँ रेडियो नेपाल । मैले टेस्ट दिएँ । फेरि केही दिनपछि अर्को अचम्म भयो । सुनियो – म त रेडियो नेपालको भ्वाइस टेस्टमा पहिलो भइछु । प्रथम हुनेको एउटा गीत रेडियो नेपालले रेकर्ड गर्ने नियम रहेछ । मेरो आफ्नै स्वरमा गीत रेकर्ड भयो । मेरो लागि यो उपल्वधी थियो । यस अर्थमा कि मेरो खुशीको एउटा प्रवाह सुरु भयो । अझ नातिकाजी दाई, नेपाली संगीतको शिखर व्यक्ति, आफैले लयबद्ध गरेको गीत आफै बसेर रेकर्ड गर्नुभएको थियो । रचनाकार हुनुहुन्थ्यो ख्यातीप्राप्त श्री कालीप्रसाद रिजाल । रेकर्ड गर्न पुरा दिनभरी लागेको त्यो दिन मेरो खुशीको दिन थियो ।

 


सुरुवातमा उपल्वधी नै उपल्वधी हाँत पार्नु भएछ, कति समेट्दै जानुभयो । अर्थात् कति रेकर्ड भएका छन ? 
छैनन् धेरै । एकदम कम । करिव तीस जति भजन छन् । आधुनिक त करिव दशमात्र । 

 

लामो यात्रमा यति कम र त्यसमा पनि भजन र आधुनिकमा यत्रो फरक कसरी ? 
एकदमै ठीक भन्नुभयो । इन्ट्रोस्पेक्सन अर्थात् आफूभित्र हेर्दा, आफैलाई ठम्याउन खोज्दा यो प्रश्न कहिलेकाहीँ म आफैसँग नै गर्ने गर्दछु । तर जब हेर्छु तय गरेर आएको लामो बाटो र ती घुम्तीहरु, कता कता लाग्छन्, जिन्दगी नै संयोगहरुको क्रमबद्धता हो । यो कुरालाई प्रष्ट पार्न अलिकति डाइभर्सन गरौं कुराकानीलाई । हामी मध्यम वर्गीय परिवारमा, त्यो पनि ज्वाइन्ट फ्यामेलीमा, बाबुआमाको ध्यान छोराछोरीले विहान उठेदेखि नै पड्नु अझ कराएर घोकुन्, राम्रो नम्बर ल्याएपछि स्कलरसिप पाएर पढ्न जाउन् र अनि डाकटर, इन्जिनियर बनुन् भन्ने मै थियो,पछि ठूलो भएपछि झन अझ राम्ररी बुझियो— उहाँहरुको पनि त्यो वेलाको समयको परिवेशभित्र जीवनको आफ्नै संघर्ष थियो । त्यसबीच जे सुविधा दिन सक्नुभयो मेरो पिता पुरुषोत्तम रेग्मी र माता धन रेग्मीले र सबैभन्दा ठूलो कुरो त मैले समेट्न सक्ने भन्दा धेरै धेरै माया र असल मान्छे बन्नु पर्दछ भन्ने जुन संस्कार दिनुभयो, त्यो नै मेरो जीवनको सबैभन्दा ठूलो ज्ञान र चेतना हो, पूजीँ हो । 

 

सुरुको वेला मेरो यसरी नै पढ्ने चटारो मै वित्यो । अहिले बुझ्दै छु पढाइ भनेको धेरै रमाइलो र कम चटारो हुनुपर्ने हो, जतिसुकै पढ्ने प्रेसर भएपनि । शिक्षा त समग्रता हो, मान्छेको लुकेको क्षमता के मा छ सो पहिचान गर्ने अवसर पनि हो । क्लास रुमभित्र सिक्ने नै सबैकुरो त होइन । मैले तपाईँलाई बताइसकेँ मेरो परिवेश । त, पढ्ने चटारो र तुलनात्मक रुपमा पढाइमा राम्रै भएको कारणले पनि होला चटारो बढेको नै थियो । तर यही चटारोमा एम. एस्सी.को एकवर्ष बाँकी नै छँदा मेरो विवाह भयो । यसरी संगीतको विधिवत यात्रा त मेरो सुरु नै हुन सकेन जब कि त्यो मेरो खुशी थियो । जन्मघरमा छँदा भएन, कर्म घरमा पनि त्यो संभावना देखिएको थिएन । जन्मघर जस्तै कर्मघर पनि ज्वाइन्ट फेमेली थियो । मेरो त झन अब तीनवटा रोल भयो – बुहारी, प्राध्यापक र आमा । शिक्षित र धर्मभीरू परिवार थियो । नित्य पूजाआजा र चाडबाड भइरहन्थ्यो । त्यसैमा व्यस्त रहुनुपर्ने । मेरा ससुरा वेदप्रसाद लोहनी नेपालमा सिमेन्ट ढलान सुरु गर्ने पहिलो नेपालको इन्जिनियर हुनुहुन्थ्यो । बडो आकर्षक व्यक्तित्व भएको डाइनामिक मान्छे । र, सबैलाई माया गर्ने र मद्दत गर्ने स्वभाव थियो उहाँको । हामी जीवनभर सँगै बस्यौँ उहाँसँग । त्यो सौभाग्य रह्यो हाम्रो । सासु हुनुहुन्थ्यो असल मनको । समग्रमा घरमा सँधै चटारो थियो । मेरो गृहस्थीको चटारोमा मैले आफ्नो शिशुलाई पनि पर्याप्त समय दिन सकिरहेकी थिइनँ । क्याम्पसमा पढाउन, घरमा पढन् पनि त पर्‍यो – नोट त तयार गर्नुपर्‍यो । चापाचाप, भ्याइनभ्याइ थियो । हतार हतार गरेर क्लास भ्याउँथेँ म क्याम्पसमा । त्यतिवेला साइन्समा वर्कलोड निकै नै थियो । म यो कुरो यस कारणले मात्र गरिरहेकी छु कि म समयको अभावभित्र बाँचेको थिएँ त्यतिवेला । संगीतको लागि त समय नै थिएन । यो अभावको कारण म संगीतमा खुम्चिन पुगें । फुक्न सकिन । मौका मिलेको वेला घरमा पनि गाउने होइन कि गुनगुनाउँथेँ । त्यत्ति हो । 

 

गीत रेकर्ड गर्न रेडियो नेपाल मात्र थियो । अनि त्यतिवेलासम्म रेडियो नेपालमा गीत गाउनेलाई इज्जतसँग हेरिँदैन थियो त्यो परिवेशमा जुन परिवेशमा म थिएँ । मेरा श्रीमान वसन्त लोहनीले २०३९ सालको भ्वाइस टेस्टमा मलाई रेडियो नेपाल नपुर्‍याएको भए सायद मेरो सांगितिक यात्रा सुरु हुँदैन थियो होला । या, अझ धेरै ढिलो सुरु हुन्थ्यो।

 

मैले भनेँ नी, तपाईलाई संयोगको कुरा । भजन किन तुलनात्मक रुपमा बढी भन्ने कुराको उत्तर पनि एउटा संयोगमा आधारित छ । त्यो संयोग जुन चाँदीको घेरा बनेर देखापर्‍यो । मेरा ठाइला ससुरा, जसलाई हामी कान्छोबुबा भन्छौँ, उहाँको नाम केशव लोहनी ।, उहाँ अन्न नखाने, भजन कीर्तन र भागवत पाठ गरेर जीवन बिताएको मान्छे हुनुहुन्थ्यो । रेडियो नेपालको धार्मिक कार्यक्रममा पनि प्रवचन गर्नुहुन्थ्यो । त्यसैले त्यहाँ सबैसित हेलमेल थियो । उहाँ भजन लेख्नुहुन्थ्यो। अनि गाउने मान्छे चाहिन्थ्यो उहाँलाई रेडियो नेपालमा भजन रेकर्ड गर्न । यता रेडियो नेपालमा गाउन म योग्य बनेकी थिएँ। यो संयोग बन्यो तालसुर मिलेको, उहाँ र मेरो वीच। उहाँको भजन, उहाँले नै डेट लिएर, म्यूजिक हाल्न लगाएर, मलाईसगै लिएर र पुर्‍याउने हुँदा घरबाट मलाई फुक्का हुन्थ्यो। तर समय निकाल्न भने मैले चारदिन अगाडिदेखि चाँजोपाँजो मिलाउनु पर्थ्यो । समय व्यवस्थापन गर्न मलाई त्यति सजिलो थिएन । यसरी नै हो भजन मेरो बढी भएको । ती सबै उहाँकै रचना हुन्, संगितकार चाहिँ अलग अलग । आधुनिक गीतपट्टि त्यस्तो संयोग परेन । जे छन् बिभिन्न कालखण्डमा ती मेरो श्रीमानको त्यतिवेलाको प्रयासले हो । यस्तो प्रयास जति जुर्‍यो त्यति नै गीत बने । 

 

२०३९ सालमा नातिदाईले रेकर्ड गराइदिएपछि एक्कैपटक जुर्‍यो २०४८ मा । केही गीतहरू रेकर्ड भए । त्यस मध्ये शुभबहादुरजीले संगीत गर्नुभएको एउटा गीत मेरो श्रीमानले लेख्नुभएको थियो । सिम्फोनीमा दीप तुलाधरले रेकर्ड गर्नुभएको । २०७४ सालमा आफ्नै घरमा यसको साधारण भिज्यूयल पनि गरियो । 

 

 

२०५३ सालको अन्त्यतिर यसै क्रममा महान संगीतकार गोपाल योञ्जनसँग भेटने साइत जुर्‍यो । मेरो श्रीमानको चिनजानी रहेछ । हामी गयौं उहाँको धापासीस्थित घरमा । उहाँले माथिल्लो तल्लामा रहेको आफ्नो स्टुडियो देखाउनुभयो । त्यसैसँग जोडिएको तलको कोठामा बसेपछि मलाई कुनै गीत गाउन भन्नुभयो र आफू हार्मोनियमा जुट्नुभयो । उहाँकै रचना र संगीतको नारायण गोपालले गाएको गीत गाएँ – चुमेर पाना भरी । अहिलेसम्म किन अगाडि नआएको यती ट्यालेन्टेड भएर पनि । म आफै बसेर रेकर्ड गर्छु । कुनै रचना छ ? भनेर सोध्नुभयो । मेरो श्रीमानले दिनुभयो । अभ्यास गर्न आफ्नै स्वरमा क्यासेटमा भरेर दिनुभएको थियो । त्यो प्रोत्साहन गरेको स्वर अझै मेरो कानमा गुञ्जिन्छ । त्यो स्मृतीको क्षण झ्वाट्ट अगाडि आउँछ जब वसुन्धराको त्यो स्टुडियो भएको घरबाट तल झरेपछि बगैँचा अगाडिको चोकबाट बिदावारी भएर निस्केका थियौँ ।  गर्ने भन्दाभन्दै हाम्रै अलमल भयो । यसको केही महिनापछि २०५४ साल जेठमा उहाँ बित्नुभयो । करिव २० वर्षपछि रेकर्ड भयो त्यो गीत । सम्भवतः उहाँको आखिरी संगीत हो यो । त्यतिवेला उहाँले आफैले रेकर्ड गरिदिएको भए त्यो गीत अर्कै हुन्थ्यो होला । त्यतिवेला त मेरो स्वर पनि ताजा थियो । शायद गीतको पनि नियति हुन्छ होला ।

 

 

यसरी नै करिव एक वर्ष अगाडि हो भूपेन्द्र रायमाझीले संगीत गरेको गीत अहिलेसम्मको आखिरी गीत । 

 

 

तपाईको एक आपसमा जोडिएका संयोगको कुराबाट मेरो मनमा एउटा कौतहल जागृत भएको छ । के प्राध्यापन पनि तपाईँको संयोग हो ?
बिलकुल हो । हेर्नुस्, म मेडिसिन पढ्न छानिएको थिएँ, जर्मनीमा । त्यहाँ गएको भए म डाक्टर बन्थेँ होला । तर जान पाइनँ । झन त्यही वर्ष के कारणले हो अन्त्यमा सिट नै आएन । अनि वि.एस्सी.तीर लागेँ । एम्.एस्सी.गरँे, अनि धेरैपछि पिएच.डी. । यहाँ अर्को संयोग पनि जोडिएको छ । म र मेरी छोरी अनुसँगै विद्यार्थी बन्यौँ । म पनि पिएच. डी. गर्दै थिएँ बैंगलोर विश्वबिद्यालयमा । छोरी छेउको ल कलेजमा कानून पढ्दै थिइन । यसलाई संयोग नभनेर के भन्नु हुन्छ त ? 

 

डाक्टर बन्न चाहेको मान्छे प्राध्यापनमा आइपुग्नुभयो, संयोगले आएको यो पेशा कस्तो लाग्यो, रमाउन सक्नुभयो ? 
असाध्यै रमाएँ म । क्याम्पस पुग्दा मलाई आफ्नै थलो (Habitat) मा पुगेको महसूस हुन्थ्यो । खुशी हुन्थेँ म । मैले क्लास लिन कहिले छोडिनँ । त्यसका धेरै कारणहरु छन् । त्यतापट्टी नजाउँ अहिले । तर एउटा कारण बारे म अलिकति भन्न चाहन्छु । घरमा मेरो आफ्नो बच्चाहरुलाई आमाको हैसियतमा कसरी असल कुराहरु सिकाउँ भन्ने नै मेरो ध्याउन्न हुन्थ्यो हरेक कुरामा । मैले जाने जति कति चाँडो सिकाउँ र असल संस्कार दिउँ भन्ने भाव नै अटाइ-नअटाइ हुन्थ्यो म भित्र । हुन त मेरो ससुराले काखमा लिएर पञ्चतन्त्रका जनावरका कथाहरू तिनीहरुले बुझ्ने गरी बताईरहनु हुन्थ्यो । मैले जानेसम्म नकारात्मक कुरा गर्दै गरिनँ । कतिपय चित्त नबुझेको बेलामा पनि फलानो बेठिक भन्दै भनिनँ । उनीहरुको जिन्दगी उनीहरुले नै अनुभव गर्ने हो । मैले सकेसम्म सकारात्मक सोच बनाउने प्रयास मात्र गरेँ । यो भाव नै मेरो प्राध्यापनमा पनि रह्यो । कसरी सही र जाने जति सिकाउँ भन्ने रह्यो । भाईबहिनी सरह ठान्थेँ, पछि छोराछोरी र अझ पछि त मसिना बच्चाब्च्ची सरह । म धेरै आफ्ना बिद्यार्थीहरुलाई चिन्दिनँ । क्लास भरिभराउ हुन्थ्यो । तर केही देख्छु, सुन्छु, ती आफ्नो क्षेत्रका ख्यातिप्राप्त विशेषज्ञ छन् रे । मेरो खुशी त्यहाँ छ । एउटा घटना सुनाउँ एकवर्ष अगाडिको । महाराजगञ्जको टिचिङ्ग अस्पतालमा हामी थियौँ अपरेशन थिएटर बाहिर। मेरी भाञ्जीको छोरीको नाकको अपरेशनको थियो । अपरेशन गर्ने सर्जनले बाहिर आएर देखाउनु भयो झिकेको सिस्ट र भन्नुभयो, ‘अपरेशन राम्रोसँग भयो ।’ मलाई हेरेर नमस्कार भन्नुभयो । मैले नचिनेको भाव बुझेर भन्नुभयो, ‘म्याडमले हामीलाई पढाएको अस्कलमा ।’ उहाँ प्रध्यापक भईसक्नुभएको रहेछ । त्यो मेरो आफ्नै आर्जनको खुशी थियो । 

 

 महिला सशक्तिकरणका बारे यहाँको भनाई के छ ?  
पुरुष भन्दा महिला धेरै भएको हाम्रो मुलुकमा महिला अझै स्वतन्त्र छैनन् । भोट हालेर वराबरी हुने होइन । महिला तुलनात्मक रुपमा पीडित, शोषित र अशिक्षित छन् । मैले आफैले देखेको छु, अनुभव गरेकी छु यो कुरा । विश्वबिद्यालयमा पढ्दा राष्ट्रिय विकास सेवा अन्र्तरगत दस महिना गाउँमा पढाउँदा र समाज सेवा गर्दा देखेँ यो । नेपाल हेर्ने र बुझ्ने मेरो चाहनाले गर्दा देशको विभिन्न भागमा पुगेँ । ट्रेकिङ्ग पनि गर्दै आएको छु । काम उनीहरुले बढी गर्छन् तर सबैतिरबाट अन्याय उनीहरुले भोग्दै आइरहेका छन् । यसको अन्त्य हुनैपर्छ। पाँच तारे होटेलमा गरिने महिला सशक्तिकरणको एनजीओ सेमिनारबाट यो हल हुने होइन । इफेक्ट हेरेर भएन कारक तत्व नै खोज्नुपर्‍यो । असमानता हुने कारण मिटाउँदै जानुपर्‍यो। एकदम सरल किसिमले भन्नुपर्दा यसको थालनी परिवारबाट नै हुनुपर्दछ । के गरिव के धनी, बाबुआमाले छोराछोरीबीचको भेदभाव मात्रै होइन कामको भेदभाव पनि गर्नुभएन। दुबैले काम गर्ने हो । छोरा गफ चुटेर बस्ने, छोरीले घरमा काम गर्ने जुन चलन नै जस्तो छ, त्यसको अन्त्य हुनुपर्‍यो । छोराले घरको काम किन नगर्ने ? घरको काम परिवारका सबै सदस्यहरुले मिलेर गर्ने हो । अनि मात्र परिवार बन्छ । महिला सशक्तिकरण घरको अगेनाबाट, बाबुआमाको सोचको परिवर्तनबाट र राज्यले यसको लागि दिने टेवावाट हुने हो । सरकार कानून बनाउँछ महिला उत्थान, सहभाहिता र प्रतिनिधित्वको तर आफैले त्यसको पालना गर्दैन। अनि कहाँबाट हुन्छ ? समाजको दृष्टिकोणमा, महिलाप्रति हेर्ने समग्र मानसिकतामा नै आमूल परिवर्तन आउनु पर्दछ । महिला एउटा उपभोग गर्ने वस्तु (commodity) त होइन नी ? यो परिवर्तनको सम्वाहक हुनुपर्ने पनि हामी महिला नै हो । 

 

अन्तमा एउटा प्रवुद्ध बुद्धिजीविको हैसियतमा अहिलेको मुलुकको स्थितिबारे केही भनिदिनु हुन्छ कि ? 
पहिले नै प्रष्ट पारौँ एउटा कुरा । राजनीतिसँग कुनै पनि साइनो नभएको मान्छे हुँ म – भन्नुस्, Apolitical Professional । मैले जिन्दगीभर आफ्नो सिप, जाँगर र पसिना चुहाएर बाँचेकी छु । मैले आम नेपालीहरुलाई पनि यसरी नै बुझेकी छु । आम नेपालीहरुको कथा त धेरै दुःखको छ । हेर्नुस् त ती कहालीलाग्दा भिरहरुमा कुँदिएका गर्हाहरुमा गरिएको खेती। प्रत्येक गर्हाहरुले हाम्रो पुर्खाको बाँच्ने संघर्षको कथा र व्यथा बोकेका छन् ।  विश्वमा नेपाली भन्ने बित्तिकै एउटै जात छ । त्यो भनेको अत्यन्त इमान्दार, परिश्रमी र मेहनती जात। मैले भनिसकेँ म राजनीति जान्दिनँ । मेरो मनको कुरा यती मात्र हो एउटा यस्तो सिस्टमले काम गरोस् जहाँ नेपाली सबै बराबर हुन् र सबैलाई अवसर बराबर होस्। जोसँग बढी क्षमता छ उसले अगाडि जान पाउनुपर्‍यो । राज्यले विभेद नगरोस् – यो मेरो मान्छे, त्यो तेरो मान्छे भनेर ।  राज्यले विभेद गर्दैन भनेर जनताले महसुस गर्न पाउनुपर्‍यो। यो अनुभूति गर्ने कुरा हो । विधिसम्मत कर्मकाण्डको भाषण सुनाएर भएन । न्यानो बढिरहेको छ भनेर तथ्याङ्क भट्टयाएर त भएन नि । हामी नेपालीले महसुस गर्नुपर्‍यो त्यो न्यानोलाई। बृहत अध्ययन, विश्लेषण र व्याख्या गरेपछि जे बुझिन्छ कुनै समस्यावारे, त्यो कहिलेकाहीँ कुनै दृश्यको एउटा झलकबाट झन् राम्ररी बुझिन्छ । मुलुक कसरी अगाडि बढिहेको छ, हेर्नुस् त। मुलुकमा कोही नेपाली भोकै मर्ने छैनन् भनेर प्रधानमन्त्रीले जिम्मा लिइरहँदा र यत्रो महामारीमा मर्ने, बाँच्ने जोखिम लिएर कामको लागि नेपालीहरु आफ्नो घर छोडेर मुग्लान जान बाध्य भएका छन् । हामी सबैले देख्यौँ गौरीफन्टा नाकाबाट मुलुक छोडिरहेका तन्नेरी नेपालीहरू लर्को । साह्रै खिन्न लाग्यो । भाषणमा जुन तारा झारेर त भएन नी ! डा. गोविन्द केसीले न्याय माग्दा किन राज्यले धरपकड गरेको ? कुलमानजीले हामीलाई लोडसेडिङ्ग मुक्त विजुली दिएका थिए । किन काम गर्न नदिएको ? के फेरि इन्भर्टर र व्याट्रीको कमिसनको लागि हामीले लोडसेडिङ्ग भोग्नु पर्ने हो ? के राजनीतिले नै सबै खाँदै गरेको हो ? सही सोच कै अभाव छ अहिले । अहिले मुलुकमा सोच नै धेरै बिग्रिसक्यो । जिम्मा लिएर काम गर्न नसक्नेले के फूर्ती लगाउनु ? पानीमा लेखिएका नाम जस्तै हराएर जान्छन् भोलि ती । ती भोलि हराउलान्, तर मुलुक त आज बिग्रियो नी !  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार