• बुधबार ४-२७-२०८३/Wednesday 08-12-2026
देश/प्रदेश

साउने सङ्क्रान्ति मनाइँदै

काठमाडौं । साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक अनुष्ठान गरी मनाइँदैछ। सूर्यले मिथुन राशिको यात्रा पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने दिनलाई साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा रहेको छ।

 

आजैदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले दक्षिणायन सुरु हुने धार्मिक मान्यता छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्वका साथ मनाइन्छ।

 

परम्पराअनुसार काग भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपातीलगायत औषधीय गुण भएका वनस्पति राखी कण्डारक नाम गरेको राक्षसको पूजा गरेर अगुल्टो फाल्ने चलन छ । लुतो फाल्दा आआफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने र ढोका बन्द गर्ने प्रचलन नेपाली समाजमा रहेको छ ।

 

साउन महिनालाई भगवान् शिवको विशेष पूजा–आराधना गर्ने महिनाका रूपमा पनि लिइन्छ । महिलाले हरियो चुरा तथा हरियो कपडा लगाएर प्रकृतिसँगको निकटता झल्काउने परम्परा पनि रहेको छ । साउन महिना देवादिदेव भगवान् शिवको महिना भएकाले पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार