• बुधबार ११-२७-२०८२/Wednesday 03-11-2026
बिश्व

इरानको राजधानी तेहरानमा आक्रमण, मृत्यु हुनेको संख्या ८५ पुग्यो

काठमाडौं । इजरायलले शनिबार इरानको राजधानी तेहरानमा दिनदहाडै आक्रमण गरेको छ । अमेरिकासँगको बढ्दो तनावका कारण उक्त आक्रमण गरिएको स्रोतले जनाएको छ । अमेरिकाले इरानलाई आणविक कार्यक्रमबारे सम्झौतामा ल्याउन दबाब बढाउँदै क्षेत्रमा लडाकू जेट र युद्धपोत तैनाथ गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानको आणविक कार्यक्रम नियन्त्रणमा ल्याउने उद्देश्यले सम्झौता चाहन्थे । इरान भने युरेनियम संवर्धन गर्ने आफ्नो अधिकार कायम राख्न चाहन्छ र लामो दूरीका क्षेप्यास्त्र कार्यक्रम वा हमास तथा हिजबुल्लाह जस्ता सशस्त्र समूहलाई समर्थनबारे वार्ता गर्न इच्छुक देखिएको छैन । देशभित्र बढ्दो असन्तोष र विरोधबीच इरान युद्धबाट बच्न चाहिरहेको संकेत दिइरहेको छ ।

 

इरानले तत्काल प्रतिआक्रमण गर्नेबारे स्पष्ट जानकारी दिएको छैन, तर क्षेत्रभर फैलिएका अमेरिकी सैन्य अड्डा र कर्मचारी कुनै पनि जवाफी कारबाहीको लक्ष्य बन्न सक्ने चेतावनी दिएको छ । इजरायली रक्षामन्त्री इजरायल काट्जले आक्रमण धम्की हटाउने उद्देश्यले गरिएको बताएको छ, यद्यपि विस्तृत विवरण सार्वजनिक गरिएको छैन । तेहरानका प्रत्यक्षदर्शीहरूले खामेनीको कार्यालय आसपास पहिलो विस्फोटको आवाज सुनेको बताएका छन् ।

 

इरानी राज्य टेलिभिजनले विस्फोटको पुष्टि गरे पनि कारण खुलाएको छैन । त्यही समयमा इजरायलभर साइरन बजाइएको थियो । इजरायली सेनाले ‘सम्भावित क्षेप्यास्त्र प्रहारको तयारीस्वरूप’ जनतालाई सतर्क रहन आग्रह गरेको जनाएको छ । आक्रमणपछि इरानले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ र पाइलटहरूलाई विशेष चेतावनी जारी गरिएको छ । अमेरिकी सेनाले घटनाबारे तत्काल टिप्पणी गर्न अस्वीकार गरेको छ । घटनाले मध्यपूर्वमा नयाँ सैन्य टकरावको जोखिम बढाएको विश्लेषण गरिएको छ ।

 

यसैबिच इजरायलबाट गरिएको एक आक्रमणको निशानामा विद्यालय परेको र आक्रमणबाट कम्तीमा ८५ जनाको मृत्यु भएको इरानी अधिकारीलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि उक्त विद्यालयमा भएको आक्रमणमा परी ५३ जनाको मृत्यु भएको र ६३ जना घाइते भएको शिक्षा मन्त्रालयका प्रवक्तालाई उद्धृत गरी इरानको सरकारी इस्लामिक रिपब्लिक न्यूज एजेन्सी (आइआरएनए) ले जनाएको थियो ।
 

इरानी विदेशमन्त्री अराघचीले सामाजिक सञ्जाल एक्समा इरानको दक्षिणी भागमा केटीहरूका लागि प्राथमिक शिक्षा पढाइका लागि स्थापित विद्यालय भवनबाट धुवाँको मुस्लो निस्केको तस्बीर सार्वजनिक गरेका थिए । अराघचीले भने, “यो विद्यालयमा साना बच्चाहरू उपस्थित रहेका समय दिनदहाडै बमबारी गरिएको थियो । यो ठाउँमा मात्रै दर्जनौं निर्दोष बालबालिकाको हत्या भएको छ । इरानी जनतामाथि भएका यी अपराधको जवाफ दिइनेछ ।” एजेन्सी
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार