• शनिबार ६-१९-२०८१/Saturday 10-05-2024
डबली

काठमाडौंमा मौलिक रैथाने लोकनृत्य कार्यशाला

काठमाडौं । काठमाडौंमा बिहिबारबाट त्रिदिवसीय ‘मौलिक रैथाने लोकनृत्य कार्यशाला एवं बृहत सांस्कृतिक संगोष्ठी २०८१’ सुरु भएको छ।  संगोष्ठी शनिबार बेलुकासम्म जारी रहने छ । राष्ट्रिय नृत्य संघ नेपालले कार्यशाला आयोजना गरेको हो ।

 

गोष्ठीमा शुक्रबार मगर समुदायको जिवैमामा नाचको प्रशिक्षण दिई बियो भने देशका विभिन्न क्षेत्रबाट आएका ६ दर्जन भन्दा बढी नृत्यकलाकार तथा नृत्य प्रशिक्षकहरुले नृत्य सिकेका थिए । गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् बरिष्ट नृत्य निर्देशक गोरे गुरुङ र नृत्य निर्देशक भिम मास्के रानाले मगर समुदायको जिवैमामा लोकनाचको प्रशिक्षण दिएका हुन् ।
 

‘जिवैमामा चैं मगरसमुदायको जीवनशैलीमा आधारित लोकनाच हो । गायनमा एक पछि अर्को गर्दै चार चरणको गीत प्रस्तुतिसँगै नृत्य पनि चार चरणमा गरिन्छ र हरेक चरणको नृत्य प्रस्तुत फरक रहन्छ ।’ नृत्य निर्देशक रानाले शुक्रबार प्रशिक्षणका क्रममा बताए । 

 

कार्यशालाको उद्घाटन बिहिबार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले गरेकी हुन् । रैथाने नृत्य प्रशिक्षणका लागि देशका विभिन्न कुनाबाट कलाकारहरु काठमाडौं आएकोमा उनीहरुको स्वागत गर्दै यस्ता प्रशिक्षणले लोकनाचको सँरक्षणमा योगदान पुग्ने शर्माले बताईन् । एकै थलोमा नृत्य कलाकारहरुले पूर्वको साकेला र गण्डकी प्रदेशको जिवैमामा नाच सिक्नु प्रसँसनीय कार्य भएको पनि उनले बताइन ।
 

काठमाडौंको शँकमुलमा जारी यो कार्यशालामा पहिलो दिन बिहिबार धरानका नगेन्द्र राईले साकेला नाच सिकाए । लोकनृत्य प्रशिक्षक नगेन्द्र राईले बिहिबार दिनभर राई समुदायको साकेला नाच सिकाउँदा प्रशिक्षार्थीहरु निकै उत्साहित देखिए । 

 

नृत्य कार्यशाला आयोजना गरिएको राष्ट्रिय नृत्य संघ नेपालका अध्यक्ष महेश गोदारले पछिल्लो समय आधुनिक सिक्न सहज भए पनि रैथाने नाचहरु हराउँदै गएकाले यस्ता नृत्य कलाकारले सिक्नुपर्छ भनेर कार्यशाला आयोजना गरेको बताए । उनका अनुसार शनिबार कार्यशालामा लोकनृत्यको बारे बहस र छलफल गरिने छ । सो छलफलमा उठेका कुराहरुलाई कार्यपत्रको रुपमा तयार गरेर सरकारलाई बुझाउने पनि गोदारको भनाई थियो ।
 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार