ट्रम्प र ह्यारिसको राष्ट्रपतीय बहसअघि उनीहरूका बलिया पक्ष र कमजोरीको लेखाजोखा
काठमाडौं। अमेरिकामा मङ्गलवार दोस्रो चरणको राष्ट्रपतीय बहस हुँदै छ तर डोनल्ड ट्रम्प र कमला ह्यारिस पहिलो पटक आमनेसामेने हुँदै छन्।
उक्त बहस टेलिभिजनमा व्यापक रूपमा हेरिने छ र त्यसले कसलाई मत दिने भन्ने विषयमा अमेरिकीहरूमाथि ठूलै प्रभाव पार्न सक्छ। कमला ह्यारिस कुशल बहसकर्ता मानिन्छिन्, तर डोनल्ड ट्रम्पले पनि सन् २०१६ र २०२० मा आफूलाई बलियो प्रतिद्वन्द्वी साबित गरिसकेका छन्।
उक्त बहस फिलाडेल्फियामा १० सेप्टेम्बरमा हुन्छ र 'ईएसटी' अनुसार राति ९ बजे सुरु हुन्छ। यो सन् २०२४ को दोस्रो राष्ट्रपतीय बहस हो। राष्ट्रपति जो बाइडनले चुनावबाट बाहिरिने निर्णय गर्नुअघि जुन महिनामा उनी र डोनल्ड ट्रम्पबीच पहिलो बहस भएको थियो।
एबीसी टेलिभिजनबाट प्रसारण हुने दोस्रो बहस एबीसी न्यूज लाइभ, डिज्नी प्लस र 'हुलु'बाट 'लाइभस्ट्रीम' हुन्छ। बहसमा कडाइका साथ समयसीमा तोकिएको हुन्छ। हरेक उम्मेदवारले सञ्चालकले सोधेका प्रश्नको जबाफ दिन अधिकतम दुई मिनेटको समय पाउँछन् भने खण्डनका निम्ति पनि दुई मिनेटकै समय पाउँछन्।
दोस्रो उम्मेदवारले बोलिरहँदा अर्काको माइक्रोफोन बन्द गरिएको हुन्छ। उक्त बहसकक्षमा दर्शकहरूको उपस्थिति हुँदैन। ह्यारिसले बहस अवधिभर माइक्रोफोन बन्द नगर्ने इच्छा राखेकी भए पनि हालै उनी नियमप्रति सहमत भएकी छन्।
सन् २०२० मा बाइडन र ट्रम्पको पहिलो बहस आपसी चर्काचर्की र एकअर्काले बोल्दै गर्दा बीचबीचमा हस्तक्षेप गरिएका कारण भद्रगोल भएपछि चार वर्षअघि नयाँ नियम ल्याइएको थियो। मङ्गलवारको बहसलाई सञ्चालकद्वय डेभिड म्युर र लिन्जी डेभिसले सञ्चालन गर्ने छन्। दुवै एबीसीका समाचारमूलक कार्यक्रमका प्रस्तोता हुन्।
गत जुलाईमा राष्ट्रपतिका रूपमा पुन: चुनावका लागि उभिनुअघि जो बाइडन मतदाता सर्वेक्षणमा राष्ट्रिय स्तरमा र धेरै 'स्विङ स्टेट'हरूमा डोनल्ड ट्रम्पभन्दा पछि देखिएका थिए। राजनीतिक विश्लेषण गर्दै आएको 'रिअल क्लिअर पलिटिक्स' नामक संस्थाले गरेको देशव्यापी सर्वेक्षणको संश्लेषणअनुसार चुनावी मैदानमा सामेल भएयता ह्यारिसले तीन अङ्क हासिल गरेकी छन्। उक्त संस्थाले जनाएअनुसार सेप्टेम्बर ३ सम्मको राष्ट्रिय स्थितिमा उनी ट्रम्पभन्दा १.९ अङ्कले अघि थिइन्।
यद्यपि सन् २०१६ मा यही स्थितिको राष्ट्रिय सर्वेक्षणहरूमा हिलारी क्लिन्टन पनि पाँच अङ्कले अघि थिइन्, तर ट्रम्पसँग हार्न पुगिन्। राष्ट्रिय सर्वेक्षणको तुलानामा राज्यभित्र गरिने सर्वेक्षणहरू महत्त्वपूर्ण मानिन्छन् किनभने अलगअलग राज्यका मतपरिणामले उम्मेदवारले 'इलेक्टोरल कलेज'मा हासिल गर्ने मत निर्धारण गर्छ र 'इलेक्टोरल कलेज'ले को राष्ट्रपति बन्छ भन्ने तय गर्छ।
त्यहाँ एरिजोना, जोर्जा, मिशिगन, नोर्थ क्यारलाइना र पेन्सिल्भेनियाजस्ता 'स्विङ स्टेट'हरू पनि छन्, जुन उम्मेदवारहरूका लागि जित हासिल गर्न महत्त्वपूर्ण छन्। यी सबैमा कडा प्रतिस्पर्धा छ। सेप्टेम्बरको सुरुमा 'रिअल क्लिअर पलिटिक्स'ले ह्यारिसले मिशिगन र जोर्जाको सर्वेक्षणमा ट्रम्पलाई उछिनेको, पेन्सिल्भेनियामा बराबरी स्थितिमा रहेको र एरिजोना तथा नोर्थ क्यारलाइनामा ट्रम्पभन्दा पछाडि रहेको जनाएको थियो।
राजनीतिक विश्लेषकहरू यी प्रक्षेपणहरू चुनावी नतिजाको नजिक रहेकोमा सहमत छन्। राष्ट्रपतीय चुनाव जित्नका निम्ति 'इलेक्टोरल कलेज'बाट २७० मत हासिल गर्नुपर्छ। हालैका सर्वेक्षणहरूले डेमोक्र्याट्सका निम्ति २२६ र रिपब्लिकन्सका निम्ति २१९ मत सुनिश्चित रहेको देखिएको छ। बाँकी ९३ मत जसलाई पनि जान सक्छ ।बीबीसी
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस