• शुक्रबार ४-४-२०८१/Friday 07-19-2024
खेलकुद

भारतका यी दुई 'दिग्गज ब्याटर' ले सन्न्यास लिने सम्भावना कति ?

पछिल्लो १३ वर्षदेखि कुनै पनि विधाको विश्वकप नजितेको भारतले अब उपाधिका लागि दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नुपर्ने छ। यसअघिका खेलहरूमा अविजित रहेका दुवै टोलीबीच वेस्ट इन्डिजको बार्बेडोसमा फाइनलको खेल हुने छ।

 

सन् २०११ मा भारतले विश्वकप जित्दै गर्दा त्यो सचिन तेन्दुलकरका निम्ति अन्तिम मौका हो भन्ने सबैलाई थाहा थियो।  विश्वकपका निम्ति छैटौँ प्रयत्न गर्दै गर्दा उनी ३९ वर्षका थिए। त्यतिखेर भारतीय राष्ट्रिय क्रिकेट टिमको अनौपचारिक नारा नै थियो, 'यसपालि सचिनका निम्ति जितौँ।'

 

कप्तान महेन्द्रसिंह धोनीले जितका निम्ति निर्णायक हुने गरी छक्का प्रहार गरेपछि तेन्दुलकरलाई काँधमा बोक्नेमध्येमा विराट कोहली पनि एक थिए। विराटले स्मरणीय तरिकाले भनेका थिए, "उनले हाम्रो टोलीको ब्याटिङलाई लामो समयसम्म आफ्नो काँधमा बोके, अब उनलाई हाम्रो काँधमा बोक्ने समय आएको छ।"

 

सचिनका स्वाभाविक उत्तराधिकारी कोहली स्वयं अहिले ३६ वर्ष लाग्दै छन् र आफ्नो करिअरको अन्तिम चरणमा छन्।  अब अर्को टी२० विश्वकप २०२६ मा र ५० ओभरको ओडीआई विश्वकप सन् २०२७ मा आयोजना हुने छन्।

 

कोहली तेन्दुलकरको तुलनामा अधिक तन्दुरुस्त छन् तर उनलाई यही स्तरमा 'ह्वाइट बल' क्रिकेट खेलिरहेको देख्न भने कठिन नै छ। अनि ३७ वर्षीय कप्तान रोहित शर्माका निम्ति पनि सायद यो अन्तिम विश्वकप हुन सक्छ। भारतीय टीममा यसपालि "लौ, कोहलीका निम्ति जितौँ" वा "रोहितका निम्ति जितौँ" भन्ने नारा लागेको देखिएको छैन, भित्रभित्रै खेलाडीहरूले त्यसो भनिरहेका भए थाहा हुने कुरा भएन।

 

बरु यस पटक सायद "राहुल द्रविडका निम्ति जितौँ" भन्ने भावना देखिन्छ। हाल भारतीय क्रिकेट टिमका प्रशिक्षक रहेका राहुलले सन् २०११ को विश्वकप खेल्न पाएका थिएनन्। राष्ट्रिय क्रिकेट टीमसँग यो उनको अन्तिम सहकार्य हो।

 

कोहली र शर्माले सुरूमा खेल्न थाल्दा टी२० अहिलेको भन्दा एकदमै भिन्न थियो। सूर्यकुमार यादव र (विश्वकै सात नम्बर) यशस्वी जयसवालसँग ताल मिलाउन सक्षम हुनु भनेको उनीहरूको अनुकूलन क्षमताको प्रमाण हो।

 

यी दुवैले वा एकले यो विश्वकपपछि सन्न्यास लिन सक्ने सम्भावना पनि छ। भारतले जितेको खण्डमा उनीहरूका निम्ति त्यसपछि अझ ठूलो उपाधि जित्न बाँकी केही रहने छैन र जितपछि उनीहरू किनारा लाग्न सक्ने छन्।

 

भारतले हार्‍यो भने चाहिँ उनीहरूमाथि बाटो लाग्न दबाव पर्नेछ। खेल निर्दयी हुन्छ।  गत वर्ष भारत ५० ओभरको विश्वकपको फाइनलमा अस्ट्रेलियासँग पराजित हुँदा देश निराशामा डुब्यो। खेलाडीहरूलाई पनि मनमा निकै पीडा भयो।

 

सबैभन्दा धेरै पीडा त कोहली र शर्मालाई नै पर्‍यो। उनीहरूकै राम्रो प्रदर्शनका कारण भारत फाइनलसम्म अपराजित रह्यो। तर फाइनलमा उनीहरूको 'जादु' चलेन।न उनीहरू सचिन तेन्दुलकरजस्तो साथीहरूको काँधमा बोकिन पाए। यस्तो मौका अब कहिल्यै नआउन सक्छ भन्ने टीमका हरेकलाई थाहा थियो।

 

त्यसैले यो टी२० विश्वकपमा एक किसिमको मुक्ति खोजिएको छ। जुनसुकै ढाँचाको क्रिकेट किन नहोस्, उपाधिबिना कुनै पनि खेलाडीको करिअर अधुरै मानिन्छ। सन्न्यासयात्राको सुरूवातका निम्ति पनि जित नै सुखद बिन्दु हुन सक्छ। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार