• शनिबार ३-९-२०८१/Saturday 06-22-2024
मनोरञ्जन

आदिवासी जनजाती चलचित्र महोत्सव शुरु 

काठमाडौं । मौलिक आदिवासी मातृभाषी चलचित्र निमार्णमा प्रोत्साहन र प्रवर्धन गर्ने उद्देश्यसाथ चौथो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८१ काठमाडौँमा बुधबारदेखि सुरु भएको छ । महोत्सवको उद्घाटन उपसभामुख इन्दिरा रानाले गरिन । उपसभामुख रानाले आदिवासी जनजाति समुदायप्रतिको आमबुझाइमा सकारात्मक परिवर्तन ल्याउन चलचित्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन । उनले भनिन्, “अझै धेरै जनजाति समुदायका चलचित्रहरू बन्नुपर्छ । यी चलचित्रको माध्यमबाट हाम्रो जाति र सम्प्रदायको पहिचानलाई विश्व समाजमा चिनाउन र हामीप्रतिको मानसिकतामा परिवर्तन ल्याउनसक्नुपर्छ ।” 

 

महासङ्घका अध्यक्ष पुर्खाजित राईले विभिन्न समुदायको संस्कार, संस्कृति, भाषा, रैथाने ज्ञानसीप, प्राकृतिक क्षेत्रको पर्यटन विकास गर्दै र पहिचानलाई संरक्षण गर्न आदिवासी जनजाति चलचित्रकर्मीले मातृभाषामा चलचित्र निर्माण गरिरहेको बताए । महासङ्घका अध्यक्ष पुर्खाजित राईले भने, आदिवासी जनजाति चलचित्रको प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । २०४४ सालमा नेवारी भाषाको चलचित्र ‘शिलु’ निर्माण भएयता सात सयभन्दा बढी आदिवासी चलचित्र निर्माण भइसकेको बताइन्छ ।

 

राष्ट्रिय सभागहृमा गुरुङ, लिम्बु, वालुङ, मेचे, बोटे, थामी, बाह्रगाउँले, धिमाल, राजी, कुसवाडी, राजवंशी, भुजेल, मगर, तामाङ र थारु भाषाका मार्कली, सुगुप, फुटुक, डामपूजा, काजिया, नेमदेवा, इन्डिजिनियस पुलिस, तिजीलोप्होपा, घज्याङबाह्रमलगायत १८ वटा चलचित्र प्रदर्शन गरिने छ । जेठ २५ गतेसम्म महोत्सव सञ्चालन हुने जनाइएको छ ।

 

आदिवासी जनजाति चलचित्र महोत्सवले आदिवासी जनजातिका मौलिक कला, संस्कृति, भाषा, धर्म, परम्परा र लोक प्रथाको दस्तावेजीकरण एवं संरक्षण र प्रवर्द्धनका साथै पर्यटन विकासमा टेवा पुग्ने आयोजकको विश्वास छ । महोत्सवको यो चौथो संस्करणमा फिचर, सर्ट फिल्म डकुमेन्ट्रीसहित नौ वटा चलचित्र प्रदर्शन गरिनेछ । महोत्सवमा प्रदर्शन हुने उत्कृष्ट चलचित्रलाई नगद २० हजार, उत्कृष्ट वृत्तचित्रलाई १० हजार, उत्कृष्ट सर्ट फिल्मलाई १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार