जब उडिरहेको यात्रुवाहक रुसी विमान अकस्मात् खेतमा ओर्लियो...

काठमाडौं । रुसमा १७० मानिस बोकेर उडिरहेको एउटा यात्रुवाहक विमानले प्राविधिक समस्या उत्पन्न भएपछि खेतमा आपत्कालीन अवतरण गरेको छ। साइबेरियाको नोभोसिभिर्स्क क्षेत्रको जङ्गलनजिकै मकै खेती गरिने ठाउँमा त्यसरी अवतरण गरेको उरल एअरलाइन्सको एअरबस ए३२० मा सवार यात्रु र चालकदलका सदस्य सकुशल रहेको बताइएको छ।
ओम्स्क पुग्ने क्रममा उक्त जेटको हाइड्रोलिक प्रणालीमा समस्या उत्पन्न भएपछि विमानचालकले खेतमा विमान ओराल्ने निर्णय गरेको उक्त निजी वायुसेवा कम्पनीले जनाएको छ।उरलले रुसले बेहोरिरहेको प्रतिबन्धका कारण विमानमा नियमित मर्मतसम्भार हुन नसकेको भन्ने कुराको खण्डन गरेको छ।
सामाजिक सञ्जालमा प्रेषित एउटा भिडिओमा एउटा ठूलो उपकरण प्रयोग गरेर ककपिट, पखेटा र पछाडिको भाग काटेर छुट्ट्याएको देखिन्छ। विमानलाई खेतबाट बाहिर निकाल्न त्यस्तो प्रयास गरिएको हो।
रुसको उड्डयन निकाय रोसाभियात्सियाले मङ्गलवार बिहानै उक्त विमानले "आकस्मिक अवतरण" गरेको जनाएको छ । उसका अनुसार विमान अवतरण गर्ने ठाउँ कामेन्का गाउँनजिकै "आकाशबाटै छानिएको" जनाएको छ।
उसका अनुसार विमानमा सवार कुनै पनि यात्रुले औषधोपचारका लागि सहायता खोजेनन्।रोसाभियात्सियाले आपत्कालीन अवतरणको घटनाको अनुसन्धान गरिरहेको बताएको छ।उरलले अनुसन्धान पूरा नभएसम्म चालकदललाई निलम्बन गरिएको बताएको छ। बीबीसी
प्रतिकृया दिनुहोस