कौसीमा ‘वेडिङ एल्बम’

काठमाडौं । कौसी थिएटरमा भारतीय नाटककार गिरीश कर्नाडद्वारा लिखित ‘वेडिङ एल्बम’ मञ्चनको तयारी हुँदैछ । नाटकलाई अनुवाद तथा निर्देशन आकाङ्क्षा कार्कीले गरेकी छिन् ।
आफू हुर्किएको मध्यमवर्गीय क्षेत्रीबाहुन समाजको संरचनामा उर्लिएर आउने गरेको ढोङ र भेदभावलाई प्रश्न गर्न यो नाटक सक्षम भएकाले पनि मञ्चन गर्ने निर्णय गरेको कार्की बताउँछिन् । “हाम्रो कथामा के पर्छ र के पर्दैन त्यो निरपेक्ष हुँदैन । मलाई तिनै नाटक गर्न मन पर्छ, जुन पढ्दा मलाई नाटकले आफूलाई र आआफूवरिपरिका युवालाई बुझेको महसुस हुन्छ । यस्ता नाटकले हाम्रो कथा भनिरहेका छैनन् भन्न कसरी सकिन्छ ?” उनले भनिन् ।
नाटक यही असोज ४ देखि २७ सम्म मङ्गलबारबाहेक हरेक दिन साँझ ५ः१५ बजे मञ्चन हुनेछ । हरेक शनिबार दिउँसो १ बजे अतिरिक्त मञ्चन पनि हुने छ । नाटकको समयअवधि एक घण्टा ४५ मिनेटको छ ।
नाटकमा लुनिभा तुलाधर, आशान्त शर्मा, आकाङ्क्षा कार्की, सुदाम सिके, केनिपासिंह पहरी, रञ्जना भट्टराई, विनीता लामा गुरुङ, सेबिता अधिकारी, नवीनचन्द्र अर्याल, ऋषिकेश बस्याल, जीवन गौतम र निष्ठा त्रिपाठी मञ्चमा देखिनेछन् । नाटकको मञ्च परिकल्पना झकेन बिसी र नीराजन डोटेलले गरेका छन् छ भने ध्वनि परिकल्पना नरेश गजुरेल र सुरज मल्लको रहेको छ ।
प्रतिकृया दिनुहोस