• शनिबार ६-६-२०८०/Saturday 09-23-2023
रंगमञ्च

इँगि निर्देशित नाटक ‘दमिनी भिर’ को मञ्चन सुरु 

काठमाडौं । मण्डला नाटकघरमा इँगिहोपो कोइँच सुनुवारको परिकल्पना तथा निर्देशन रहेको नाटक ‘दमिनी भिर’ को मञ्चन सुरु भएको छ । नाटक राजन मुकारुङको उपन्यास दमिनी भिरमा आधारित छ । यो उपन्यास मदन पुरस्कार २०६९ बाट पुरस्कृत भएको थियो । थैली इन्टरटेनमेन्टको सहकार्यमा नाटक तयार भएको हो । 

 

नाटकमा सङ्क्रमणकालीन नेपाली समाजको वस्तुगत अवस्था, मनोविज्ञानबारे गहिरो चित्रण गरिएको छ । नेपाली समाजको संस्कृति, संरचना र सभ्यतालाई मुख्य रूपमा उठान गरिएको छ । सामाजिक विसङ्गति र विद्रोही चेतना मूल स्वर बनेर आएका छन् । जातीय पहिचानको मुद्दा पनि नाटकमा सशक्त रूपमा प्रस्तुत छ ।  राजनीतिक आरोह अवरोह र आन्दोलनको शिथिलताका कारण उत्पन्न निराशावादी जीवनदृष्टि पनि यसमा मुखरित हुन पुगेको छ । समतामुखी समावेशी चिन्तनको अभिव्यञ्जना पनि पाइन्छ नै । राज्यसँग गरिएका माग र त्यसको परिपूर्तिका लागि गरिएका विभिन्न खाले आन्दोलनले सामाजिक सद्भाव बिथोलिने भय पैदा हुँदा उत्पन्न सन्त्रासपूर्ण परिवेश नाटकमा प्रस्तुत गरिएको छ ।

 

नाटकमा  किरण चाम्लिङ, पुनम थापा, सीता राई, रियर राई, सुजाता गुरुङ, सुजु सुनुवार किराती, प्रतिना राई, मणि कुलुङ राई, सोनाम लामा, कवि राई, शायोक मुकारुङलगायतका कलाकारको अभिनय रहेको छ । नाटक असोज १३ गतेसम्म मञ्चन हुनेछ ।   

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार