• शनिबार ६-६-२०८०/Saturday 09-23-2023
पत्रपत्रिका

किन आक्रमणमा परे कांग्रेस सहमहामन्त्री यादव ?

काठमाडौं । कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ । राजेन्द्र लिङ्देननिकट राप्रपाका कार्यकर्तासमेत रहेका नुवाकोट विदुर–७ तुप्चेका ४७ वर्षीय श्यामबहादुर सापकोटाले सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गरेका हुन् । बुधबार काठमाडौं महानगरपालिका–२८ स्थित भृकुटीमण्डपमा आयोजित रिपोर्टर्स क्लबको साक्षात्कार कार्यक्रम सकिएपछि सापकोटाले यादवलाई खुकुरी प्रहार गरेका हुन् ।

 

यादवको टाउकोपछाडि चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए । उनले योजनाबद्ध रूपमा खुकुरी बोकेर आएको अनुसन्धानबाट देखिएको छ । यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ । प्रहरी वृत्त सिंहदरबारमा राखिएका सापकोटाले प्रहरीसँगको बयानमा सापकोटालाई आफूले रिसको आवेगमा खुकुरी प्रहार गरेको बताएका छन् । आफू राष्ट्रवादी भएको र नेताहरूले संसदबाट एमसिसी पारित गरेको, ललिता निवास जग्गा प्रकरणमा माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई उन्मुक्ति दिएको जस्ता कारणले रिसको आवेगमा नेतामाथि आक्रमण गरेको बताएका छन् ।

 

यादवलाई ट्रमा सेन्टरमा आइसियूमा राखेर उपचार भइरहेको र उनको स्वास्थ्य स्थिर रहेको अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। बद्री रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘टाउकोको सिटी स्क्यान गर्दा हाल कुनै पनि आन्तरिक चोट नदेखिएको जानकारी गराइन्छ, उहाँको टाउकोको पछिल्लो भागमा रहेको घाउलाई न्युरो सर्जरी÷ओर्थोपेडिक सर्जरीका विज्ञ चिकित्सकहरूद्वारा शल्यक्रिया गरी रक्तश्राव रोकिएको र घाउमा टाँका लगाइएको छ, तत्पश्चात् हेर्नका लागि ट्रमा सेन्टरको आइसियूमा चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको छ, हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा आइसियूमा उपचार भइरहेको जानकारी गराइन्छ ।’ यादवको टाउकोको पछिल्लो भाग तथा गर्धनमा धारिलो हतियार प्रयोग भएकाले गहिरो घाउ परेको अस्पतालले जनाएको छ । राजधानी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार