• शनिबार ३-९-२०८१/Saturday 06-22-2024
पत्रपत्रिका

साउनमा पचपन्न हजारभन्दा बढीले लिए श्रम स्वीकृति

काठमाडौँ ।  आर्थिक वर्ष २०७९/८० को सुरुदेखि लगातार बढेको श्रम स्वीकृति लिनेको सङ्ख्या चालु आव २०८०/८१ को पहिलो महिनामा घटेको छ । 

 

वैदेशिक रोजगार विभागका अनुसार चालु आवको पहिलो महिना साउनमा ५५ हजार ५७५ जनाले श्रम स्वीकृति लिएकामा गत आवको पहिलो महिना साउनमा भने श्रम स्वीकृति लिएर बिदेसिनेको सङ्ख्या ६१ हजार ६३० थियो । जुन सङ्ख्या चालु आवको भन्दा छ हजार ५५ ले बढी हो । गत साउनपछि लगातार उकालो लागेको विदेश जानेको सङ्ख्या एकै महिनामा ७६ हजार जनाले सम्म श्रम स्वीकृति लिएका थिए । 

 

विभागका अनुसार चालु आवको साउनमा बिदामा आएर पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १६ हजारभन्दा बढी रहेको छ भने वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत ३९ हजार १५२ श्रमिकले विदेश जान श्रम स्वीकृति लिएका छन् । 

 

विभागका निर्देशक कविराज उप्रेतीले गत आवको तुलनामा केही घटेको देखिए पनि तुलनात्मक रूपमा ५५ हजारले श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या कम भन्न नमिल्ने बताउनुभयो । उहाँका अनुसार गएको आवको असारमा पनि साढे ५५ हजारकै हारहारीमा श्रम स्वीकृति लिएर विदेश गएका थिए ।

 

गत आवमा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या सात लाख ७१ हजार पुगेको थियो । अघिल्लो आव भने छ लाख ३१ हजारले गएका थिए । गत आवमा श्रम स्वीकृति लिनेको सङ्ख्या अघिल्ला आवको सोही अवधिको तुलनामा एक लाख ४० हजारले बढी छ । आव २०७७/७८ मा एक लाख ६६ हजार ६९८ युवाले विदेशमा रोजगारीका लागि जान श्रम स्वीकृति लिएका थिए । यस्तै आव २०७६/७७ मा श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या तीन लाख ६५ हजार ४३३ रहेको विभागको तथ्याङ्क छ ।

 

विभागका अनुसार नेपालको आन्तरिक सिर्जना गर्न नसकेका बेला रोजगारीको विकल्पका रूपमा रहेको वैदेशिक रोजगारी कोभिड सङ्क्रमणका कारण दुई वर्ष सुस्त रहे पनि हाल कोभिडअघिकै अवस्थामा छ ।गोरखापत्र 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार