• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

पर्यावरणलाई केन्द्रमा राखेर विकास र रूपान्तरणका अवसर खोज्न विज्ञहरूको सुझाव

काठमाडौं । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले जलवायु परिवर्तनका प्रमुख समस्या र शिक्षामा विशेषगरी ग्रामीण समुदायमा पर्ने असरलाई सम्बोधन गर्न ‘ग्रीन स्कूल’ अवधारणा लागू गर्नमा जोड दिएका छन् ।


काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेशन (कुसोइड), विकास शिक्षा विभागले आइतबार काठमाडामा आयोजना गरेको ‘ग्रीन स्कुलः एजुकेशन फर सस्टेनेबल प्लानेट’ सेमिनारमा प्रस्तोता तथा वक्ताले अहिलेको हरित विद्यालयमा भविष्य सुरक्षित गर्न र ग्रहलाई दिगो बनाउनको लागि लगानी अन्तिममा आएको बताए ।


कार्यक्रममा कुसोइड डीन, डा. बालचन्द्र लुईटेलले दिगो शिक्षाशास्त्रका लागि विभिन्न संस्था र समुदायहरूसँग साझेदारी प्रवद्र्धन गर्ने आफ्ना कार्यहरू र योजनाहरू साझा गरे । पर्यावरण–न्याय र कक्षा कोठाभन्दा बाहिरको शिक्षा सम्बन्धी कुसोइडले संवेदनशीलतालाई प्रतिबिम्बित गरेको उनको भनाई थियो । ’शिक्षा र जलवायु परिवर्तनः अन्तर्राष्ट्रिय अनुभव र पाठ’ सत्रको मुख्य वक्ताको रूपमा, ग्रीन स्कूल, न्यूजील्याण्डका स्कूल प्रमुख, क्यारोलिन रेनीले जलवायु र विद्यालयका कार्यहरूलाई एकीकृत गर्न पाठ्यक्रम र शिक्षाशास्त्र डिजाइन र वितरण गर्ने आवश्यकतालाई जोड दिए । 

 

ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले पर्यावरणलाई केन्द्रमा राखेर विकास र रूपान्तरणका अवसर खोज्न स्थानीयदेखि विश्वव्यापी कलाकार र सरोकारवालालाई आग्रह गरकी थिइन । उनले आगामी नीति, योजना र बजेटमा ललितपुरमा ‘ग्रीन स्कुल’ अवधारणा ल्याउन महानगरले नीति तथा कार्यक्रम समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे । 

 

शिक्षा तथा मानव संशाधन विकास केन्द्रका उपमहानिर्देशक रुद्र अधिकारीले ‘ग्रीन स्कूल – नीति, अभ्यास र अगाडिको बाटो’ सत्रमा ‘हरियो विद्यालय’लाई स्वच्छ, स्वस्थ, सुरक्षात्मक र हरियाली वातावरण सिर्जना गर्ने विद्यालयका रूपमा परिभाषित गरेका थिए । 

 

’विद्यार्थीहरूले वातावरणीय प्रक्रिया, अन्तरसम्बन्ध र मुद्दाहरूको बुझाइ प्राप्त गर्न आवश्यक छ। उपयुक्त मनोवृत्ति, मूल्यमान्यता र वातावरणीय सरोकारहरूप्रति संवेदनशीलताका साथ धेरै जीवन सीपहरू प्राप्त गर्न यो धेरै महत्त्वपूर्ण छ । यसका लागि समुदायको सक्रिय सहभागिताबाट वातावरणीय दिगोपनका लागि शिक्षक र विद्यार्थीलाई सचेत बनाउनुपर्ने बताए ।

 

सेभ द चिल्ड्रेनका डा लक्ष्मी पौडेल, डब्ल्यूडब्ल्यूएफका घनश्याम गुरुङ, युनेस्कोबाट प्रकृति गुरुङ, युनिसेफकी सबिना जोशी, नर्वेजियन दूतावासकी निकिता धवन, फिनल्याण्डको दूतावासबाट टुओवी लेप्पामेन र एक्सन नेपालका रोजी घिमिरे सम्मिलित विज्ञहरुको प्यानलले महत्वलाई प्रकाश पारेका थिए । 

 

त्यसैगरी ‘शिक्षा र जलवायु परिवर्तनः अन्तर्राष्ट्रिय अनुभव र पाठ’ सत्रमा पाकिस्तान, अष्ट्रेलिया, भारत र बंगलादेशका विज्ञहरूले शिक्षा र जलवायु परिवर्तनको अन्तर–अनुशासनात्मक क्षेत्रमा देश–विशिष्ट सिकाइ साझा गरेका थिए । ‘अन्डरस्ट्यान्डिङ ग्रीन स्कुल–थ्योरी एण्ड प्राक्टिस’ सत्रमा रिजु ढकाल, सन्दीप श्रेष्ठ, टिना सिलापकार, रविना महर्जन र सञ्जीवनी योञ्जनलगायत विभिन्न प्रस्तोताले आ–आफ्ना प्रस्तुति दिएका थिए ।

 

हरित विद्यालय, जलवायु परिवर्तन र दिगो योजनाका लागि शिक्षाका सम्बन्धमा नेपाल र दक्षिण एसियाली क्षेत्रका अन्य देशहरूमा विद्यमान उत्कृष्ट अभ्यासहरूको आलोचनात्मक चेतना जगाउने उद्देश्यले सेमिनारको आयोजना गरिएको कुसोइडका संकाय डा राजकुमार ढुंगानाले बताए  ।

 

सेमिनारको मुख्य सन्देशहरू प्रस्तुत गदै सह-प्राध्यापक डा प्रकाशचन्द्र भट्टराईले नीति तथा निर्देशन र सरोकारवालाहरूको तत्परताले नेपालमा हरित विद्यालयको अवधारणालाई प्रचारप्रसार गर्ने प्रशस्त अवसरहरू रहेको बताए । उनले सहरी क्षेत्रमा मात्र सीमित नभई देशका कुना–कुनामा पनि हरित विद्यालय लगायतका विद्यालय सुधारका पहलहरुको कार्यान्वयनलाई विस्तार गर्नुपर्ने आवश्यकता औल्याएका थिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार