• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
रंगमञ्च

मण्डलामा चैत १० बाट ‘यौटा सपनाको अवसान’

काठमाडौं । सामाजिक मुद्दालाई भव्य क्यानभास र डिजाइनसहित मञ्चमा प्रस्तुत गर्ने निर्देशकको पहिचान बनाउनुभएका रङ्गकर्मी अनुप बराल चार वर्षपछि नयाँ नाटक लिएर मञ्चमा प्रस्तुत हुँदैछन् । चार वर्षअघि मण्डला थिएटरमा ‘महाभोज’ निर्देशन गरेका बरालले वर्तमान समयमा चलिरहेको आर्थिक सङ्कटको दुरुस्त चित्र प्रस्तुत गर्ने गरी ‘यौटा सपनाको अवसान’ शीर्षकको नाटक तयार पारेका छन् । मण्डला थिएटरमा चैत १० बाट मञ्चन हुने तयारीमा रहेको नाटकको अहिले ‘रिहर्सल’ भइरहेको छ । 

 

सन् १९४९ मा अमेरिकामा पहिलो पटक मञ्चन भएको आर्थर मिलर लिखित अमेरिकी नाटक ‘डेथ अफ अ सेल्समेन’लाई अनुप बराल र उहाँको लेखक कलाकार समूहले समसामयिक बनाएर प्रस्तुत गर्दै छ । चरित्र र कथाको आत्मा ग्रहण गरे पनि नाटकलाई नेपाली सन्दर्भमा जोडेर प्रस्तुत गर्न लागिएको बराल बताए । नाटकलाई नेपाली माटो सुहाउँदो बनाउने काम कवि विप्लव प्रतीकले गरेका छन् ।

 

मान्छेको भौतिक वस्तुको अति मोहका कारण चुकाउनुपर्ने मूल्य नाटकको मुख्य कथ्य भएको निर्देशक बरालले बताए । “मञ्चमा हामीले सपनाको मूल्य चुकाउन बाध्य यस्तै चरित्रलाई जीवन्त बनाउने तयारी गरिरहेका छौँ,” रिहर्सलका बीच भेटिएका बरालले भने ।

 

अनुप बरालका नाटक भव्य हुन्छन् र खर्चिला पनि। दर्शक जम्मा गर्न संघर्ष गर्नुपर्ने थिएटरमा खर्चिला नाटक गर्न ठूलै जोखिम लिनुपर्ने हुन्छ । तर यो नाटक तयार गर्न यो सबै जोखिम लिएका छन्, गोविन्द पराजुलीले । सन् २०१० मा राष्ट्रिय नाचघरले दिने ६ महिने प्रशिक्षण लिएर थिएटर र थिएटर व्यवस्थापनामा  सक्रिय गोविन्दले सिनेमामा झैँ नाटकमा पनि सोलो निर्माणको अभ्यास संस्थागत गर्न ‘यौटा सपनाको अवसान’ तयार गरेको उनी बताउँछन् ।

 

सोलो निर्माण अर्थात् एक जनाले मात्र लगानी गरेर नाटक तयार गर्ने । नेपालमा एकै व्यक्तिले लगानी गरेर नाटक तयार गर्ने अभ्यास न्यून छ ।  आर्थिक जोखिम आफ्नो थाप्लोमा लिएर नाटक तयार गर्ने प्रतिवद्धतापछिको कारण खोल्दै गोविन्द भने, ‘म आफैँले कलाकार भएर पनि नाटकमा काम गरेँ । अभिनयमा डुब्नु पर्ने हामी जहिले पनि पैसाको चिन्तामा डुबेका हुन्छौँ । यसरी नाटक गरेर आफैँ र दर्शकलाई पनि ठगिरहेको महसुस गरेपछि मैले निर्माणको अभिभारा लिने निर्णय गरेको हुँ । यौटा सपनाको अवसान यसैको मूर्तरुप हो ।’

 

गोविन्दले सन् २०१६ मा प्रवीन खतिवडाको निर्देशनमा ‘ऊ कस्को’ र सन् २०१७ मा ‘एक बोली एक दाम’ यसरी नै निर्माण गर्नुभएको थियो । ‘नाटक गर्नलाई पैसा आउँछ र गर्छु भन्ने नहुँदो रहेछ,’ गोविन्दको बुझाइ छ, ‘अझ अहिले त देश नै आर्थिक संकटबाट गुज्रिरहेको छ । मानिसमा भविष्यलाई लिएर चिन्ता छ । तर यस्तो बेलामा आँट हौसला दिने नै कलाले हो । यही जिम्मेवारी महसुस गरेर अभावमा पनि काम गरिरहेका छौँ ।’

 

थापागाउँस्थित मण्डला थिएटरमा महिना दिनसम्म चल्ने नाटकमा शेखर चापागाईं, दिया मास्के, दिव्य देव, मेनुका प्रधान, रोय, सूर्यमान लिम्बू, विकास जोशी, उत्पल झा, सन्देश शाक्य, सारा जे, अविरल प्रताप, अभिषेक खड्का, विशाल पुलामी, निकिता आचार्य, सुरज मल्ल, जीवन गौतम आदिको अभिनय रहनेछ ।    

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार