• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

'आरआरआर' को 'नाटू नाटू' गीतलाई ओस्कर पुरस्कार

काठमाडौं । तेलुगू भाषामा बनेको चलचित्र ‘आरआरआर’ मा समाविष्ट बहुचर्चित गीत ' नाटू-नाटू' ओस्कर पुरस्कार जित्ने भारतीय चलचित्रको पहिलो गीत बनेको छ। पन्चानब्बेऔँ अक्याडमी अवार्ड्समा लेडी गागा र रिहानाजस्ता हस्तीका सिर्जनालाई पछि पार्दै उक्त गीतले 'उत्कृष्ट मौलिक गीत'को उपाधि हात पारेको हो।

 

चित्ताकर्षक लय र कोरिओग्राफीका कारण उक्त गीतले विश्वभरि दर्शक र श्रोताहरूलाई मन्त्रमुग्ध पारेको छ। भारतमा निर्मित वृत्तचित्र 'दि एलिफन्ट विस्परर्स' ले पनि 'बेस्ट डक्यूमेन्टरी शर्ट' विधामा अर्को ओस्कर हात पार्‍यो।

 

उक्त वृत्तचित्रमा बथानबाट छुट्टिएको एउटा घाइते छावाको स्याहारसुसार गर्ने एउटा जोडीको कथा प्रस्तुत गरिएको छ। 'दि एलिफन्ट विस्परर्स' सो विधामा ओस्कर जित्ने भारतबाट पहिलो वृत्तचित्र हो।

 

भारतको मनोरम नीलगिरि पर्वतशृङ्खलामा छायाङ्कन गरिएको उक्त वृत्तचित्रमा मानिस र हात्तीबीच विकसित आत्मीय सम्बन्ध देखाइएको छ।यद्यपि 'नाटू-नाटू'ले हात पारेको उपाधिलाई विशेष मानिएको छ।

 

यसअघि 'नाटू-नाटू'ले ज्यानुअरी महिनामा विभिन्न कीर्तिमान बनाएको थियो। उक्त गीतले गोल्डन ग्लोब र क्रिटिक्स चोइस अवार्ड पनि हात पारिसकेको छ।ओस्कर पुरस्कार ग्रहण गर्दै सङ्गीत संयोजक एमएम कीरवानीले उक्त गीत "प्रत्येक भारतीयका लागि गौरवको विषय" भएको टिप्पणी गरे।

 

आफू अमेरिकी जोडी 'द कार्पेन्टर्स'का गीतहरू सुन्दै हुर्केको बताउँदै उनले उक्त जोडीको चर्चित गीत 'टप अफ द वर्ल्ड' को लयमा आफ्नो बाँकी सम्बोधन गरे।'आरआरआर'ले आफूलाई उक्त गीतको शीर्षकमा भनिए जस्तै "विश्वको सर्वोच्च स्थानमा" पुर्‍याइदिएको भनेपछि दर्शकदीर्घामा हाँसो गुन्जिएको थियो।बीबीसी

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार