• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

बिवाह शैलीमा आएको बदलाव, डोली देखि हेलिकप्टरसम्म

काठमाडौं । अहिले बिवाहको शैलीमा बदलाव आएको छ । कुनै समय बिवाह गरेर डोली चढाए बेहुली ल्याइने चलन हिजो आज मोटर गाडीले लिएको छ । म्युजिक भिडियोमा यदाकदा देखिने डोलीहरु अहिले हराएका छन ।

 

विवाहमा दुलहा र दुलहीलाई बोक्न प्रयोग हुने डोलीको चलन हराउँदै जान थालेको छ। कलात्मक ढंगले निर्माण गरिएका दुलहा बोक्नका लागि प्रयोग गरिने डोली हराउँदै गएको हो। बाह्य संस्कृतिको प्रभावका कारण डोलीको सट्टा दुलहा–दुलही बोक्नका लागि यातायातका साधन कार, बस र जीपको प्रयोग हुन थालेपछि विवाहमा डोली हराउँदै गएको हो । 

 

डोलीमा नै दुलही ल्याउने चलन थियो तर त्यो चलन अब परिवर्तन भएको दक्षिणढोका निवासी प्रमोद अर्यालले बताए। उनले भने, अहिले सबैकुरा परिवर्तन भएको छ। अहिले दुलहीलाई डोलीमा अथवा बोकेर ल्यायो भने लाज हुन्छ भन्छन् । फेरी सधै सबैकुरा एउटै पनि त हुँदैन यो त समय अनुसार चल्ने कुरा हो। आफनो छोराको बिवाहमा कारलाई सजाएर दुलही लिन गईयो ,अब डोली कहाँबाट पाउनु ।’अर्यालले थप्नु भयो ।  

 

कुनैबेला गाउँमा हुने बिहेवारीमा दुलहीलाई डोली चढाएर भित्रयाउने चलन खुब चलेको थियो तर अहिले त्यो देख्न पाइँदैन । पछिल्लो पुस्ताले त डोली कस्तो हुन्छ भन्ने समेत थाहा पाएका छैनन् । अहिले डोली बोकेर हिँड्दै गरेका जन्ती भेट्न मुश्किल छ । डोलीसँगै पुराना सांस्कृतिक पहिचान र परम्परा लोप हुँदै गएका छन् । गाउँघरतिर डोली प्रयोग हुन छोडेपछि धेरैको आम्दानी पनि सुकेको छ । हिजोआज धेरैतिर सडक पुगेपछि गाडी चल्न थालेकाले सबैले गाडी प्रयोग गर्न थालेका छन् । 

 

डोलीमा रंगीचंगी कपडाको मोहोरी, खिल्वार, छौना, मचिया, पर्गेहनी, लाखक चुनरिया, वहन्वार, घारा, लोटा, घण्टी, पघा र स्याँठाको प्रयोग हुने गरेको छ यसरी बनाइएको डोली बोक्नका लागि दुई जना व्यक्तिको आवश्यकता पर्ने गर्दछ । 

 

यस्तै दुलहीको घरमा जन्ती लगेर जाँदा भने विशेष प्रकारले बनाएको चँडोलको प्रयोग हुने गर्दछ । दुलहाको इज्जत र पहिचान बेग्लै बनाउनका चँडोलको महत्वपूर्ण भूमिका रहन्छ। चँडोल बनाउन छाजन, वहन्वार, घण्टी, घारा, स्वाँठा, खटिया, पर्नेहनी र पनहीको आवश्यकता पर्ने गर्दछ । चँडोलमा दुलहालाई सवार गराएर चार जनाले बोक्ने गरी बनाइएको हुन्छ। तर, पछिल्लो समय डोली र चँडोलमा राखेर लैजाने प्रचलन विरलै मात्र देख्न पाइन्छ ।

 

डोली पछि दुलहा–दुलहीलाई घोडामा सवारी गराउन थालियो। विवाहमा दुलहा र दुलही बोक्नका लागि घोडाको प्रयोग हुन थाल्यो। परम्परागत डोली छाडेर घोडामा सवारी गर्दा सहज र छिटो हुने धेरैको ठम्याई छ । तर, यो क्रम यत्तिमै रोकिएन। विवाहमा दुलहा–दुलहीका लागि कारदेखि हेलिकप्टरसम्म प्रयोग हुन थाल्यो ।

 

संस्कृतिबिद् सत्यमोहन जोशी भन्छन्, नेपाल साँस्कृतिक बिविधता भएको देश हुनाले यहाँ हरेक जातजातीका मान्छेहरु बस्छन् । आफनो चलनमा चिना देखाएर माग्ने चलन भएको उनी बताउँछन्। अहिले जस्तो मायाप्रेम बस्ने बित्तिकै बिवाह गरिहाल्ने होइन। हाम्रो चलनमा रितिरिवाज अनुसार बिवाह गरिन्थ्यो। हाम्रो जमानामा थोरै मान्छेले मात्र मायाप्रेम र चिना नदेखाई विवाह गर्ने गर्थे। अहिले समय अनुसार बिवाह गर्ने तरिकाहरुमा परिवर्तन आएको संस्कृतिबिद् जोशीले बताए । अहिले भन्दा पहिलाको बिवाह गर्ने चलन धेरै सजिलो भएको पनि उनको ठ्म्याई थियो । 

 

यसैगरी पछिल्लो समय सहरी क्षेत्रमा बग्गीको प्रचलन बढेको छ । छोटो दूरीका लागि दुलहा र दुलहीलाई बग्गीमा सवारी गराउन थालिएको छ । विवाहलाई भव्य बनाउनका लागि यो एउटा राम्रो विकल्प बनेको छ । विगतमा राजपरिवारको विशेष सवारी साधन हुन्थ्यो, बग्गी । राजपरिवारका सदस्यहरूले कतै आउजाउ गर्नका लागि घोडाले तान्ने आकर्षक बग्गीको प्रयोग गर्थे पछि राजपरिवार र संभ्रान्त वर्गले आफ्ना विशेष समारोहहरूमा बग्गी चढ्न थाले । अहिले भने विवाहका लागि यसको प्रयोग व्यापक बन्दैछ । विवाहलाई विशेष बनाउन एवं राजसी ठाँटको बनाउन बग्गी प्रयोग गर्न थालिएको छ । अब सर्वसाधारणले पनि निश्चित समयका लागि यसलाई भाडामा लिएर चलाउने गरेका छन् ।

 

केही महिना अघि नायक राजेश हमाल कपाल काट्ने हजामको विवाहमा हेलिकप्टर चार्टर गरेर सहभागी भएका थिए । सर्लाही बरबगञ्ज गाविस–४ का सुरेन्द्र ठाकुरको विवाहमा हमाल हेलिकप्टर चार्टर गरेर सहभागी हुन पुगेका थिए । ७ बर्षदेखि काठमाडौंमा हमालको कपाल काट्दै आएका सुरेन्द्रको निम्तो मान्न हमाल हेलिकप्टर चार्टर गरेर निम्तो मान्न गएको कुरा अहिले पनि ताजै छ ।  

 

यस्तै एक महिना धनुषाको कमला नगरपालिकामा किशोर किशोरीको विवाह तामझामका साथ गरिएको  थियो । हुनत विवाह त्यती चर्चाको विषय बन्दैन् तर यो विवाह चर्चाको विषय बन्नुको कारण भने दुलहालाई हेलिकप्टर चाटर्ड गरेर ल्याउनु नै थियो । धनुषाको कमला नगरपालिका –४, बल्हा सघारा स्थित भर्खरै धान काटिएको खेतमा आर ६६ टर्बाइन हेलिकोप्टर अवतरण गरिएको थियो । 

 

अहिले विवाहको संस्कार यस्तो हुनुको कारण रितिरिवाज परिवर्तनशील हुनु हो, भन्छन् साहित्यकार तेजेश्वर बाबु ग्वंग । उनले भने, यो परिवर्तनशील नियमको गाथा नै हो । अहिलेका युवाजमातले पहिलेका कुराहरुको चाल पनि पाउँदैनन् र त्यसको हेक्का पनि राख्दैनन् । र, यो प्रकृतिक नियम पनि हो र यो परिवर्तन हुनु राम्रो पनि हो । आफनो बिवाह मागी र प्रेम दुबै भएको पनि उनले भने । अहिले यस्तो हुनुलाई हामीले पुस्तान्तरण भएको पनि भन्न सक्छौं ।  

 

केही महिना अघि ह्यात रिजेन्सीमा आयोजित रिसेप्सन पार्टीमा उदिप श्रेष्ठले नायिका आँचल शर्मालाई हेलिकप्टर चार्टर गरेर ल्याएको कुरा पनि धेरै चर्चाको बिषय बनेको थियो । हेलिकप्टरबाट आँचलको हात समाउदै जब उदिप झरे, सबै एकछिन चकित नै भएका थिए । 

 

मानव जीवनलाई आर्दश रूपमा सञ्चालन गर्न विवाहको चलन सुरु भएको हो । बिवाह जे जसरी गरेपनि हामीले हाम्रो संस्कार बिर्सनु हुँदैन। तर अहिले बिवाह गर्ने भनेको पनि फेसन जस्तो भएको छ। काठमाडौंमा नै पनि छोटो दुरीका लागि पनि हेलिकप्टर चार्टर नै गरेर रिसेप्सन पार्टीमा जाने चलन बढ्दै छ । दुर दराज र मध्यम वर्गका लागी अहिले पनि कहि कतै डोली प्रयोग हुने गरेको बेला बेला भेटिने गरेको छ ।

 

यस्ता मौलिक चलन चल्तीलाई आउने पुस्ताहरुले पनि अनुसरण गर्ने बनाउन सके यो बिभिधता बचाइरख्न सकिन्थ्यो भन्नेमा पुरानो पुस्ता एक मत छ तर बढ्दो आधुनीकता र देखासिकीले भइरहेका चलनहरु हराउने र आधुनिकताका नाममा भड्किला सस्कृती भित्रिनु चिन्ताको बिषय भएको संस्कृती बिद्हरुको धारणा छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार