• आइतबार २-१३-२०८१/Sunday 05-26-2024
डबली

पाका मान्छेका सक्रियता कायम राखौँ !

सबै प्राणीमा उमेर अनुसार बिभिन्न प्रजातिगत गतिबिधि हुन्छ। रोग व्याधले सङ्क्रमण नगरेको भए शारिरिक क्षमता अनुसार मानिस बाँचुञ्जेल अन्तिम अवस्थासम्म पनि सकृय हुन सक्छन् । नेपालमा कतिपय परिवारमा अझै पाका मान्छेकै हैकम रहेकाले कामको बाँडफाँडको अगुवाई गर्दैमा पाका मान्छेका समय व्यतितभएको देखिन्छ । घरको राखनधरन देखि आईपर्ने बाहिरी काममा पाका महिलापुरुष हलगोरुझैँ नारिएकै हुन्छन् । दैनिक परिश्रमगरेर जीविका गर्ने परिवारमा त थला नपरेसम्म काममा जोतिएकै हुन्छन् भने हिँडडुल गर्न नसके घरको धरालो पाका मान्छे नै हुन्छन् ।

 

पाका मान्छेलाई आर्थिकरुपले सक्षम र भलादमी भनिएका परिवारले, मानिला मान्छेलाई कहाँ अझै काम लगाउनु ? ‘अब त बसिबसी खाने बेला भयो’ भनि सारिरीक श्रम मात्र होईन मानसिक सहयोग पनि लिनबाट बञ्चित गरिएको देखिन्छ । मान गरेर होस् वा घरका वयस्क बढिजान्ने भएर होस् सामान्य चलखेलबाट समेत रोकावट हुन्छ । त्यसपछि पाका मान्छे पनि ‘परिवारको प्यारो बन्न र भनेको मान्ने सन्तोषी गनिन’ घरमानै थुप्रिरहन्छन् । कतिपय सक्षम परिवार आफ्नो काममा बाधा नपरोस् भनि घरमा हेरबिचारगर्न झञ्झट मानेर पैसाको तुजुकमा पैसा खेपेर हेरचाह गृह र आश्रमतिर पनि पठाउँछन् । कति चाहीँ पढाईलेखाई र प्राज्ञिक कार्यक्रमतिर होईन फुर्सदीलो समयमा थप ज्ञान आर्जन नहोस् भनेझैँ भजनकिर्तन गर्ने परम्परागत केन्द्रतिर लखेटन खोज्छन् । अचेल यहि मनोबिज्ञान बुझेर थैली कमाउन लालायीत केही मानिसहरू सहर–बजारमा पाका मान्छेलाई उत्पादनबिहिन बनाउने तालतालका केन्द्रहरू खोलेर बसेका छन् ।
 

पाका मान्छे कतिपय ‘आ.. अब त सेवाबाट पनि निबृत्त भईयो, बेलामा धामा गरेकै हो, कति हाड घोटनु ?’ भनेर परिवारकै भरमा कुनै थप काम नगरी ‘त्वम शरणममा’ बस्न खोज्छन् । यसले उमेरिदा आउनसक्ने पुस्तान्तरणको बिभेदी मार व्यहोर्नुपर्ने हुनसक्छ । पाका मान्छे आफ्ना अनुभव, ज्ञान र सिपलाई तिलाञ्जली दिएर नयाँ पुस्तासँग लिउन टाँस्सिएझैँ मिल्न सबै कुरामा सक्दैनन्, यस्तो कमनै पाईएला । आफ्नो छ दशकभन्दा लामो आर्जनलाई ‘मैले केही पनि जानेको रहेनछ’ भनि शून्य सम्झने को होला र ? बरु, आफ्नो ज्ञान अनुसार सक्रृय रही अरुलाई कम प्रतिक्रिया देखाउन पो उचित होला !

 

कसले के गर्ने ?
आफैँ सक्रिय
पाका मान्छे आफैँमा खास शारिरिक समस्या छैन भने सक्रिय रहँदा कसले रोक्छ र ? कतिले गरिरहेकै काम समय तालिकाको निश्चित दश पाँचको बन्धन नभएकाले झन बढी काम गरिरहनुभएकै होला । यस्तोमा पारिवारिक गनगन वा समस्या कम होला, समाजमा मानिला भएकैले धेरै धामा गर्न त अब शारिरिक कारणले पनि कम होला ! किनकी मन्दगतिमा भएका कामले भएपनि तपाइँको हैसियत र पारिवारिक सत्ताको लगाम खुस्किसकेको छैन भन्ने हुन्छ ! जति सकिन्छ, आफ्नो ज्ञान, सिप र अनुभव अनुसार आफैँ सक्रृय हुन खोज्नु पर्छ। ‘अब पुग्यो, कति गर्नु ? चाहिए अरुले गर्छन्’ भनि निचमार्नु हुन्न, मतापले समतलमा नदी बगेझैँ धेरै नउर्ली लगातार काममा व्यस्तरहनु तपाइँको बाँकी उमेरको सुखकोलागि आवश्यक छ।

 

उमेरिदा आएको परिवर्तनलाई आत्मसाथ गरेर सारिरीक सक्षमताको अवस्थाअनुसार त्यही आधारमा अठोटेका कामगर्न, हिँडडुलगर्न र फलित उपलब्धिका रमाईला दिन बनाउन आफैँ कस्सिने हो । अरुले रोक्न खोजे, अपजस लाउन खोजे अरुका स्वाथ्र्यमा बाधा नपर्नेगरी फत्येगर्न लागिपर्नुनै मानिला मान्छेको गुण हो। बरु पहिले जुनै योजना पनि परिवार र चिनजान बिचमा अरुले गरुन भनि नसोधे पनि कौलासने बानी भए उमेरिदाचैँ उस्तैपर्दा ‘ढुङ्गो बोल्ला उहाँ बोल्नुहुन्न’ पारे पनि फरक पर्दैन। जसरी अनुकुल पर्छ सरिर र दिमागलाई सक्रृय बनाईरहनै पर्छ । उमेर बढदै गएपछि पहिले नभएका लक्षण देखापर्न सक्छन्, केही रोग उमेरअनुसार पनि लाग्न सक्छन्, यस्ता कुरामा आत्तिने होईने नियन्त्रण र समाधानतिर लाग्ने हो । हटाउनै नसकिने रोग आईलागेमा घटाउन सकिने प्रविधि र औषधि अचेल छ्यासछ्यास्ती पाईन्छन् बिज्ञको खोजी गरे पुग्छ ।

 

पाका मान्छे आफ्नो वरपरकाले बडो माया गरेको जस्तो गरेर ‘उमेरमा गरिहाल्नु भयो, अब हाम्रो पालो, बसीबसी खानुहोस्, चाहिएको ल्याईदिएकै छ, तलमाथि चित्त बुझाउनु पनि पर्छ नि ! कहाँ सबै आफैँले भन्याजस्तो हुन्छ र ? अरुका समस्या पनि बुझ्नुपर्छ नि, कालबेला कति फरक भईसक्यो ?’ जस्ता बैधानिक सत्तापलटका योजनामा मक्ख नपर्नोस् । ‘अब त के सक्नुहोला ? उमेर छैन है, फुर्रफुर्र धेरै गर्नुहुन्न !’ जस्ता होच्च्याउने, हतोत्साहित पार्ने र अनादर गर्ने बोलीबचन प्रति पनि सतर्क हुनुुपर्छ । माया गरेकोजस्तो गरेर तपाइँको सक्रिय उपस्थिति उनिहरूकालागि ‘आफुले गर्न नसकेको’ साविती, भन्ने आँट नभएर गरेको ‘ग्लानीको रुवाई’ हो । त्यस्तो रुवाईमा तपाइँ द्रविभूत हुने वा उतर्सिने नगर्नोस् बरु सकेसम्म चुपलागेर बस्नोस् नसके मधुर बोलीमा ‘सकेको त गर्दै जानुपर्छ नसके गर्दिन नि । तिमीहरूलाई दुखदिने पार्दिन, आफ्नै आँटले ज्यानले भ्याएकोमात्र गर्छु’ भनि घोसे मण्टो लाउनोस् । अनि घरमा छन्भने र ‘आधुनिकताले बिग्रीएका छैनन्भने’ ससाना बाबुनानीसँग कथा भनेर बस्नोस्, विषयान्तर भई रमाईलो हुन्छ ।

 

कतिपय परिवारमा तपाइँले कमाएको ज्ञान, सिप र अनुभवलाई त्यही स्तरमा अघि बढाउन नसक्ने होलान, उनीहरूका लागि तपाइँ ‘ईज्जत बढिभएको भालुको कम्पट’ हुनुभएको सम्भावना पनि हुन्छ । त्यसोभएको भए ‘यताउती गर्ने होईन, चुप्पलागेर घर बस्ने, दिएको खानेलाउने, लखरलखर होईन है, केहि भए हाम्लाई भूक्तमान !’ भन्न बेर लाउन्नन् । उनिहरूलाई ठूलोबडोको ‘हाउ’ प्रभाव पर्छ भने अलि बढाईचढाई गरेर ‘यस्ता मान्छेले बोलाका छन्, जानै प¥यो नि । अस्तिन त्यस्तो पर्दा मद्दत गरेका थिए’ भनेर पत्याउने चर्चा गर्नुहोस् । भित्री माया भए परिवार सदस्यले ‘पु¥याईदिउँ त’ भन्न बेर लाउन्नन्, नभए ‘राम्ररी जानु त, यसो बाटो काटदा होस् गर्नु नि, कि फलानोलाई बोलाउनु नि ! निकै पछि लाग्थ्यो त ! आज आउँनन् ति ?’ भनि लोकाचार पारी हाल्लान । जसरी हुन्छ आफुलाई एक छिन भएपनि मनको बह बिर्सने, रमाइलोले मन बहलिने ठाउँ, जमघट हुने काम तथा आफ्नो मानमनितो हुने अवसर नगुमाउनु यस उमेरमा राम्रो । दैनिक कोचेधन्दा र भनाई त सँधै सुनेभोगेकै हो नि, किन अल्झिरहनु मौका पर्दा ? अनि पुर्नताजगी हुने अवसर कहाँ खेर फाल्नु, तपाइँजस्तो पाकोले ?

 

सेवा निबृत्त वा पाको उमेरमा आइपुग्नु अघि बिभिन्न ज्ञान आर्जन गरेर सिप विकास गर्नुभएको छ भने जति सकिन्छ त्यसैमा समय लगाउनु होस् । सानो मात्रामा भएपनि त्यसै ल्याकतमा समय लगाउनु उचित हुन्छ । नयाँ कुरा जान्न त खोज्नोस् तर सिकेर त्यसबाट पारङ्गतभई उपार्जन गर्ने सपना देख्नु उमेर खस्केकाले भरनै गरिहाल्न समय नहोला । बरु कम्तीमा सामान्य लेखपढगर्न सक्ने भए वाङमयका अरु बिधामा कलम चलाउन नसके पनि आफुले पहिला भोगेको सँस्मरण, ठाउँका बर्णन, त्यतिखेरका प्रख्यात चिजविज, अन्नबाली र प्राकृतिक स्रोतको चर्चा लेख्न सक्नुहुन्छ । तपाइँले ‘बाघलाग्ने’ भनेका ठाउँमा अहिले सहरबजार बसेको होला ! तपाइँले नुन खेपेको र भैँसी बल्लतल्ल ल्याएको गोरेटो अहिले राजमार्ग बनेको होला ! बास बस्दै गएको र वर्षमा एकदुई पल्ट किनमेलगर्न बजार भनि पुगेको ठाउँ अहिले सवारीसाधन चढेर गइआई आधा दिनमै हुने भयो होला ! सबै कुरा लिपिबध्द गर्नोस्, यस्ता सामाग्री अहिलेका पुस्तालाई रोमाञ्चक पठन सामाग्री हुँदैनन् र ?

 

कतिपय पाका मानिस आफैँलाई अबमूल्यन गरेर ‘मैले त के गरेको थियो र ? मैले के सकेँ र ?, मैले के अनौठो गरेँ र ?’ भनि अनुभवले खारिएको ज्ञान र सिपलाई पञ्छाई लघुताभाषको दिनगन्ती गरिरहेका पनि पाईन्छन् । यो मनोबिज्ञान र बोलीचाली सर्बथा ठिक होईन भने मानसिक अशान्ती हुनजाने उन्मादको घर र नकारात्मक लक्षण हो । मानव इतिहासको विशाल भवनमा एक इँट थप्न तपाइँको अमूल्य योगदान छ भने नीजीरुपमा तपाइँको परिवारलाई अघि बढाउन तपाइँकै मिहेनत अतुल्य छ । अहिलेको जस्तो छेलखेल साधन, स्रोत र ज्ञानको अभावमा पनि तपाइँले बर्कतले भ्याएको र चलेको सामाजिक परिवेशअनुसार मनग्य गर्नु भएथ्यो, र त आज तपाइँको परिवार यस्तो अवस्थाको भयो । यस पाटोमा तपाइँ गर्व गर्नुहोस् र अझै जानेको, बुझेको र सकेको गरिरहन्छु भनि अठोट लिनु तपाइँको उमेरलाई सुहाउने कुरा हो । तपाइँ सक्रृय मानव प्रजाति हुनुहुन्छ, ‘जीउँदो लास र काल पर्खेको प्राणी’ होईन भन्ने आफैँलाई भन्न नडराउनोस् ।

 

अरुले सक्रिय पार्नेः
पाका मान्छेका वरपर रहेका वा हेरबिचार गर्नुपर्नेले पनि उमेर, सक्षमता र चाखलाई बिचार गरेर त्यहिनै काम बिस्तार गर्न प्रोत्साहित गरिरहने, सघाउने र प्रशँसा गरिदिने चलन चलाउनु पर्छ । पाका मान्छेलाई मनमा लागेका कैयौँ कुरा अनुभव र ज्ञानको पाईनमा खारिएर निचोडका हुन्छन् । कतिपय कुरा पुस्तान्तरणका कारण असम्भव वा समयसापेक्ष नलाग्न सक्छ अहिलेका युवा र किसोरकिसोरीहरूलाई, यो त बर्तमानमा आएको शिक्षा, त्यसको उपज सामाजिक मनोबिज्ञान र तथाकथित आधुनिकताको अराजकता हो । अरु उमेरसमुहले पाका मान्छेका कुरा एक पटक सुनेर, गमेरमात्र निक्र्योल गर्नुपर्छ, ठाडठाडै ठिकबेठिक छुट्ट्याएर ओठेजवाफ लाउने होईन । यसो गर्दा त मानव समाजले आर्जित अनुभवको मुहाननै थुन्न बाँध टालेको जस्तो भएन र ? टाँसिने शक्ति कम भएको बलौटे सिमेण्टको भरमा बनेको स्वतन्त्रता, आधुनिकता र ठिटौलेपनले कतिञ्जेल बज्रजस्तो दृढ अनुभवले खारिएर ज्ञान उम्रीरहने कञ्चन पानीको मूललाई थेग्न सक्ला र ? अतिभए पछि सम्पूर्ण घरगृहस्थी लाखापाखा लाग्ने गरेर बिष्फोट भए कसैलाई वा कुनै उमेर समुहलाई राम्रो होला र ?

 

हरेक घरपरिवारमा दैनिक तथा वार्षिक क्रियाकलापमा पाका मान्छेका मनसाय सहजै राख्न पाउने वातावरण बनाउनु पर्छ । वयस्कहरूले पारिवारीक चासोका सबै विषयमा सल्लाह लिने र ससाना बाबुनानीका फूर्सदका समय पाका मान्छेसँग बिताउन लगाउने चाँजो मिलाउनु पर्छ । बालबलिकाको मस्तिष्क विकास हुँदै गरेकाले हरेक बस्तुबारेमा मनमा कुतुहलता हुन्छ । उनिहरू बिज्ञानले पनि समाधान गरिनसकेका अनौठा प्रश्न पनि गर्न सक्छन्, वयस्कहरू आफ्नै काममा व्यस्तभएर र सम्झाउने क्षमताको अभावमा झञ्झट मान्न सक्छन् । त्यसोभएमा बालबालिकाको उत्सुकता निराशामा परिणत हुनजान्छन् र उनिहरू परम्परागत अन्धविश्वासतिर लाग्न थाल्छन्। त्यसैले त कतिपय नामचलेका पढेलेखेका परिवारका बालबालिका भूतप्रेतका कुराले तर्साउने र गल्तीभएमा भगवानले नराम्रो गर्ने भन्दै आतङ्कित भएका पाईन्छन् । यस्तो भएमा आउँदो पुस्ता कस्तो बन्ला ? के समाज समृध्दी तिर जाला त यसरी ? त्यसैले पाका मान्छेलाई भावी पुस्ताको समाज निर्माणकालागि मानव समाजको हितमा पनि सक्रृय बनाई रहनुपर्छ ।


परिवारकै हालका जिम्बेवारले आफ्ना पाका मान्छेको क्षमता, सिप र ज्ञान बिचारगरेर उहाँहरूको अहिलेको सारिरीक अवस्थाअनुसार जति सक्नुहुन्छ त्यस्तो कामलाई अघि बढाउन हौस्याउनु पर्छ । घर बाहिर जान नसक्ने भए त्यस्तै गुणभएका र उहाँहरूलाईनै मनपर्ने मान्छे जम्मा गरिदिने व्यवस्था गर्नुपर्छ । ज्ञान र सिपको प्रचारकालागि स्रोता र ग्राहाक खोजीदिनु पर्छ । यसले पाका मान्छेमा मनोबैज्ञानिक सकारात्मक प्रभाव त हुन्छ नै थप परिवारकै आयआर्जन र प्रसिध्दिको दायरा पनि बढन जान्छ । पाका मान्छेका ज्ञान र सिप उहाँहरूसँगै हराएर जाने अवस्था कबै सिर्जना गरिनु हुन्न बरु असल परिवारका सदस्यले बढाउनेतिर पो लाग्नुपर्छ ।

 

अन्त्यमा,
पाका मान्छे हरेक हिसाबले तत्कालिन समाजका सबैभन्दा कामलाग्ने निर्देशक उमेरसमुह हो । समाजमा आएको चाहिँदो नचाहिँदो सबै खालका परिवर्तनले बेलाबखत छेउकुना पारिएका हुन, त्याज्य र बेकामे मनुवा होईनन् । हरेक देशमा चलेका चैते हुरी र खडेरी पछिको आकस्मिक वर्षातको भेलले कहिलेकाहीँ पाका रुखपात र सदियौँ देखि जानेसुनेका अजङ्ग भिरपहरा बढारिन्छन् । जब मौशमी फेरबदल शान्त हुन्छ, तब सबै आआफ्नै स्थानमा पूनर्जीवित र आशन जमाएका हुन्छन् । हामी पनि नेपालमा नवधनाढ्य सोख र न्युनपूँजिबादी झुसिलो डकारले प्रभावित अवस्थामा रहेकाले ठाउँठाउँ अनमेल, अडबाङ्गे व्यक्तिबादको चपेटामा परेका छौँ । अशिष्टताको काला बादल फाटन बेर लाग्दैन, ‘सूर्य नअस्ताउने भनिएका साम्राज्य’ त ढले, ‘हामी मान्छे अरु भुसुना रैती’ भन्ने निरङ्कुशले धुलो चाटे भने मानिसले मानिसलाई गर्नुपर्ने यथायोग्य व्यवहार र सम्बन्ध कायमहुने दिन किन आउँँदैन् ? सबैले नगरे हामी पाका मान्छेनै अघि सरी राखौँ न ! केले रोक्छ र आँटे ?

 

समानता, आदर, सदभाव र हरेक उमेरसमुहलाई अनुकुल सामाजिक परिस्थिति कतिपय देशमा भईसक्यो, हाम्रा देशका अगुवा भन्नेले तथा हातमा तालसाँचो लिएर बसेकाले गलत काम नगरी सार्वजनिक बचनबध्दताअनुसार गरेमात्र पुग्छ ! त्यसपछि आवश्यक्ता छ, केबल पाका मान्छे धर्यभई राम्रा काम अघि बढाउन निरन्तर प्रयाश र अरु उमेर समुह विशेषगरी किशोरकिशोरीलाई उनको भविष्य सुनिश्चित गर्ने रचनात्मक सल्लाह । हामी ‘पाका मान्छे अझै जीउँदा र सक्रृय छौँ’ भन्ने मायालु हुङ्कार कम नपारौँ, गर्वसाथ गडगडाएर बढौँ ! बसन्तको मेघ गर्जनले आउँदो वर्षातको राम्रो छनक दिन्छ, पाका मान्छेका मानिला धामा कायम राखौँ, आज त्यसैको अत्यन्त जरुरी कार्यभार हामी सबैमा छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार