• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

राष्ट्रपति निर्वाचन आज, दुई पूर्वसभामुख प्रतिस्पर्धामा

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो राष्ट्रपतिका लागि बिहीबार मतदान हुँदै छ । मतदान स्थल नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतदानको सबै तयारी पूरा भएको छ । 

 

बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुने मतदानमा सङ्घीय संसद्को राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य मतदाता रहेको एउटा मतदान केन्द्र र प्रदेश सभा सदस्य मतदाता रहेको अर्को गरी दुईवटा मतदान केन्द्र तोकिएका छन् । दुवै मतदान केन्द्र सम्मेलन केन्द्रको ल्होत्से हलमै राखिएको छ तर मतदान गर्न भने सङ्घीय संसद्का सदस्य हलको मुख्य ढोका पश्चिमबाट प्रवेश गर्नेछन् । प्रदेश सभा सदस्यका लागि भने उत्तरतर्फको ढोका प्रयोग गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

 

निर्वाचन आयोगले सार्वजनिक गरेको नमुना मतपत्रअनुसार राष्ट्रपतिको निर्वाचनमा दुई प्रकारका मतपत्र प्रयोग हुनेछन् । सङ्घीय संसद्का सदस्यका लागि एक थरीको र प्रदेश सभा सदस्यका लागि अर्को थरीको मतपत्र छापिएका छन् । दुवै मतपत्रमा उम्मेदवारको फोटोसहितको नाम उल्लेख गरिएको छ । सङ्घीय संसद्का सदस्यका लागि सेतो पृष्ठभूमिमा रातो अक्षरमा लेखिएको मतपत्र प्रयोग गरिनेछ । प्रदेश सभा सदस्यका लागि सेतो पृष्ठभूमिमा हरियो अक्षरले लेखिएको मतपत्र छापिएको छ ।

 

मतपत्रको पहिलो क्रममा उम्मेदवार रामचन्द्र पौडेलको र दोस्रो क्रममा उम्मेदवार सुवासचन्द्र नेम्वाङको नाम उल्लेख छ । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको फोटो र नाम उल्लेख गरिएको कोठाभित्र स्वस्तिक चिह्न लगाएर मतदान गरिने जनाएको छ । 

 

निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनबाट पूर्वसभामुखसमेत रहिसकेका नेपाली कांग्रेसका  वरिष्ठ नेता  रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको तर्फबाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार