• बुधबार ३-६-२०८१/Wednesday 06-19-2024
डबली

कञ्चनजङ्गालाई नियाल्दा

हामी सातजनाको टोली बिहान सात बजे धुलिखेल हुँदै वीपी राजमार्गका नागबेली घुम्तीहरू छिचोल्दै अघि बढ्यौं । दुई साताअघि नै तिहार सिद्धिएको थियो तर हामी प्रस्थान गरेको कात्तिक २७ गते नेपाली साहित्यका शिखर पुरुष महाकवि देवकोटाको जन्मदिन परेछ । यो विशेष दिन हाम्रो यात्राको लागि विशेष साइत थियो । उनले गरेको नेपाली साहित्यको योगदानलाई स्मरण गर्दै कतिखेर भिमान कटिएछ पत्तै भएन । भिमान कटेपछि वीपी राजमार्गलाई छोडेर मदन भण्डारी लोकमार्ग हँुदै पूर्वतिर लागियो । यात्रा आफैंमा ज्ञानका गोरेटाहरू हुन्, जहाँ पलपल आनन्दहरू पनि भेटिन्छन् नै, तर एकै दिनको यात्रामा एकैचोटि तीन महापुरुषहरू मेरै यात्रामा सँगसँगै यात्रारत महसुस गरिरहेँ । महाकवि देवकोटाले जसरी नेपाली साहित्यमा आफ्नो नाम स्वर्ण अक्षरले कोरेका थिए त्यसरी नै वीपी र मदन भण्डारीले पनि राजनीतिमा त्यस्तै दरिलो झण्डा गाडेर गएका थिए । यी तीनै महापुरुषहरूलाई नमन गर्दै यात्रा अघि बढ्यो ।


राम्रो पिच गरिएको फराकिलो बाटो, कतै जङ्गल, कतै पहेँलपुर धान पाकेका फाँटहरू, कतै बस्ती त सामुन्ने सफा नीलो आकाश, के खोज्छस् ...आँखो भने झैं एकपछि अर्को दृश्यहरूले तानिरहे । ठाउँठाउँमा नयाँ पुलहरू बन्दै गरेको देख्दा विकासले पनि गति लिँदै रहेछ है भन्ने अनुभूत गर्न पाइयो । नयाँ बन्दै गरेको मदन भण्डारी लोकमार्ग सोचेभन्दा सुन्दर रहेछ । चतराधाममा पुग्दा साँझ परिसकेको थियो । दुई पहाडका साँगुरो खोँचमा सप्तकोशीको पुल रहेछ । चतराधाम हुँदै धरानको बाटो भेडेटारतर्फ अगाडि बढियो । हामीले अग्रिम होटल बुक गरेका थिएनौं तरपनि मुस्किलले भेडेटारमा कोठाहरू पाइयो । डाँडोको टुप्पोमा अवस्थित भेडेटारमा चिसो हावा चलिरहेको थियो । त्यहाँबाट उत्तरतर्फ धनकुटा जिल्लाको सदरमुकाम धनकुटा बजार साँझको बत्तीमा प्रकाशमय देखिन्थ्यो । खाना खाएर वाइफाईमा रमाउँदै गर्दा कतिखेर भुसुक्क निदाइएछ पत्तै भएन ।

 

भेडेटारबाट बिहान धरान आएर विभिन्न देवस्थलको दर्शनमा लागियो । पिण्डेश्वर, दन्तकाली र बूढासुब्बा मन्दिर घुमियो । टुप्पो नभएका बाँसको बारेमा धेरै अगाडि नै सुनेको हो तर बूढासुब्बा सेरोफेरोमा पुगेर उक्त कुरा प्रत्यक्ष देख्न पाइयो । त्यसपछि इटहरीमा खाना खाएर झापातिर अघि बढियो । नेपालको पूर्वी सिमाना मेची पुलमा पुग्दा राष्ट्रियताले छाति फुलेको अनुभूत भयो । मेची नदी काँकडभिट्टा बजारबाट पाँच मिनेटमै पुुगिँदो रहेछ । त्यहाँबाट फर्किएर झापाकै चारआली भन्ने ठाउँबाट उत्तरतर्फ लागियो । चिया गार्डेनका सुन्दर दृश्यसँगै बाटोका दुवैतर्फ सुपारीका बोटहरू अत्यन्त सुन्दर देखिन्थे । त्यसको केही समयपछि ईलाम जिल्ला टेकियो । पहाडको फेदीबाटै इलाम जिल्ला टेकिने रहेछ । इलामलाई पहिले पाँच ‘अ’ को जिल्ला भनेर चिनिन्थ्यो अहिले आठ ‘अ’ पुगिसकेछ । अदुवा, अम्रिसो, अलैंची, ओलन(दुध), आलु, अर्थोडक्स चिया, अकबरे खुर्सानी र अतिथि सत्कार; अझ भविश्यमा ‘अ’ को संख्या दर्जन पुगोस् इलामलाई शुभकामना !

 

 

इलामको कन्याममा चिया बगानको दृश्यले मन्त्रमुग्न बनायो । त्यही भञ्ज्यङमा राष्ट्रिय झण्डा फर्रफराइ रहेको थियो । छिन्छिन्मा हुस्सु लाग्ने र खुल्ने मौसमले रूप फेरिरहन्थ्यो भने मानिसको उपस्थिति पनि त्यत्तिकै देखिन्थ्यो । त्यहाँ विभिन्न जातजातीका भेषभूषामा सजिएर फोटो खिच्ने अवसर पनि मिल्दो रहेछ साथै घोडचढीको मौका पनि मिल्ने रहेछ । त्यहाँबाट साँझ बास बस्न फिक्कल बजार नजिकै पुगियो । 

 

यात्राको तेस्रो दिन बिहान फिक्कलबाट इलाम बजार हुँदै पशुपतिनगर पुगियो । त्यहाँबाट नजिकै नेपाल भारत सिमाना पर्दो रहेछ । उक्त दशगजा क्षेत्रको नेपालतर्फ स–साना झाडी मात्र थिए भने भारततर्फ ब्रिटिश कालमै लगाइएका बिरुवा आज जङ्गलका रूपमा फैलिएको थियो । दशगजापारि भारतको दार्जिलिङ जिल्ला सुरू हुँदो रहेछ । दार्जिलिङमा एउटा जिप रिजर्भ गरेर हामी मिरिकसम्म पुग्यौं, जहाँको चिया बगान अत्यन्त सुन्दर रहेछ । विश्व सम्पदा सूचीमा सूचीकृत दार्जिलिङको टुकटुके रेल यताउती दौडिरहेको देखिन्थ्यो । ब्रिटिश सरकारकै पालामा चलेको यो रेल आजसम्म दार्जिलिङको चिनारी बनेर पर्यटक तानिरहेछ । दार्जिलिङमा रक क्लाइम्बिङ, चिडियाघर र संग्राहलय भ्रमण पश्चात् सूर्योदर्शन गर्न इलामको श्रीअन्तुडाँडा आइयो । श्रीअन्तुबाट उत्तरतर्फ कञ्चनजङ्गालाई शिरमा बोकेर कुम्भकर्ण हिमश्रृंखला हाँसिरहेको थियो । मनोरम श्रीअन्तुबाट देखिने सुन्दरता मनमा त उतारियो तर शब्दमा उतार्न धौधौ पर्ने रहेछ ।

 

श्रीअन्तुबाट पुनः कन्याम, झापाबाट कोशी ब्यारेज, लाहान हँुदै बास बस्न ढल्केवर पुगियो । हाम्रो यात्राको पाँचौ दिन बिहान नुहाइधुवाइ गरेर पवित्र हँुदै जानकी मन्दिरको दर्शन गर्न पुगियो । नेपालका  विविध दर्शनीय स्थलहरू मध्येको एक जानकी मन्दिरलाई नौलखा पनि भनिँदो रहेछ । तत्कालीन समयमा टिकमगढकी महारानीले नौ लाख रुपैयाँ खर्च गरेर बनाइएकाले यसलाई नौलखा मन्दिरका नाममा चिनिएको रहेछ । जानकी मन्दिरकै छेउमा राम र सीताको विवाह भएको विवाह मण्डप पनि रहेछ । उक्त स्थानमा वर्षको एक दिन ठूलो मेला लाग्दो रहेछ । विवाह पञ्चमीका दिन अहिले पनि भारतबाट जन्ती ल्याउने परम्परा जिवित रहेछ ।

 

 

जनकपुरबाट वर्दिवास हँुदै सर्लाही जिल्लाको चन्द्रनिगाहपुर नजिक भरत ताल पुगियो । यो नेपालकै सबैभन्दा ठूलो मानव निर्मित ताल रहेछ । वागमती नदीबाट पानी लगेर वागमती नगरपालिकाका वर्तमान मेयर भरतकुमार थापाको अगुवाइमा बनाइएकाले यो मानव निर्मित तालको नाम उनै मेयरको नामबाट प्रचलित रहेछ । पर्यटकको घँुइचो लाग्ने यो स्थान साँच्चै आकर्षक र रमणीय छ, जहाँ मोटरबोटबाट ताल परिक्रमाको आनन्द लिन पाइयो । त्यसपछि हेटौंडा हुँदै सातघुम्तीको बाटोबाट टिस्टुङ, पालुङ हँुदै चित्लाङ पुगेर बास बसियो ।

 

नेपालमा सर्वप्रथम मोटर ल्याउँदा यही बाटोबाट बोकेर काठमाडौं भित्र्याइएको इतिहास छ । हाम्रो यात्राका छैठौं तथा अन्तिम दिन चन्द्रागिरी पहाड हँुदै थानकोट निस्किएर यो नियात्राकार रमेश दाहालसहित निना दाहाल, प्रज्ञा दाहाल, उमा दाहाल, शम्भु अधिकारी, आयुषा फुयाल र महालक्ष्मी फुयाल गरी हामी सातजनाको टोली काठमाडौं पुगियो । अन्त्यमा यात्राभरि गाडी चलाएर साथ दिनुहुने भाइ रतिश दुलाललाई धेरैधेरै धन्यवाद ! शुभयात्रा । 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार