• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

ग्रेटा राणामा श्रद्धासुमन

राणा शासनको अन्तसँगै नेपालको पटक पटक भ्रमण गरेर वा यहाँ आएर बसोवास नै गरी नेपाललाई विश्व सामुचिनाउने धेरै व्यक्तिहरू छन् । यिनै व्यक्तिहरूको कारण नेपाल पुरै विश्वमा भ्रमण नगरी नहुने गन्तव्यको रूपमा परिचित हुँदै गएको थियो । केही त्यस्ता व्यक्तिहरू बारे तल छोटो छलफल गरौँ । 

 

सन् १९५० को पुवाद्र्धमा नेपालमा राणाशासनको अन्त भएर यो सुन्दर मुलुकको ढोका विश्वसामु खुला भएपछि बल्ल विश्वभरका अन्वेषक, प्रकृतिप्रेमी, पर्वतारोही, पर्यटक, संस्कृतिविद् आदिको नेपाल आगमनमा वृद्धि हुँदै जान थाल्यो । त्यस्तै बेलातिर शुरुमा स्वीस विकास नियोग र पछि संयुक्त राष्ट्र संघमा कार्यरत स्वीस भूगर्भविद् डा. टोनी हेगेनले नेपालको अधिकांश भागको १४,००० किलोमिटर पैदल यात्रा गरेर नेपाल सम्बन्धि वृहत् चित्रमय पुस्तक प्रकाशन गरेपछि भने नेपाल विश्वभर झनै प्रख्यात र भ्रमण गर्नै पर्ने गन्तव्यको रूपमा चिनिन थाल्यो । तत्पश्चात आफ्नो जीवनभर टोनी हेगेन निक्कै पटक नेपालको भ्रमणमा आए । पछि पछि त उनकी सुपुत्रीले पति पिताको पदचाप पछ्याएर नेपाललाई माया गर्न थालिन् ।

 

सन् १९५३ मे २९ तारिखको दिन न्यूजिल्याण्डका नागरिक सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथा आरोहण गरेर फर्केपछि नेपाल फेरी विश्वको नजरमा पर्न गयो । त्यसपछि हिलारीले पनि आफ्नो देहावसानको समयसम्म नै नेपालमा पटक पटक भ्रमण गरेर खासगरी नेपालका शेर्पाहरूको उत्थान र शिक्षामा निक्कै धेरै काम गरे र नेपाललाई विश्वसामु चिनाउने काम पनि गरे । आजभन्दा करिव ५० वर्ष पहिले उनकी धर्मपत्नी र छोरीको निधन त्रिभुवन विमानस्थल नजिकै पिलाटस पोर्टर विमान दुर्घटनामा भएको थियो । हिलारीका सुपुत्रले पनि सगरमाथाको आरोहण गर्नुका साथै नेपालमा धेरै सामाजिक कार्यहरू गरेका थिए । यो पंक्तिकारले करिव १३ वर्ष पहिले न्यूजिल्याण्डको अकल्याण्डस्थित हिलारीको घरमा गएर उनकी कान्छी पत्नीसँग भेट्ने अवसर पनि पाएको थियो ।

 

संयुक्त राज्य अमेरिकामा जन्मेकी एलिजावेथ हौली सन् १९५७ मा पहिलो पटक नेपाल आएपछि सन् १९५९ देखि नेपालमा नैै बसेर उनले नेपाल बारेका समाचारहरू तथा लेखहरू अमेरिका तथा अन्य मुलुकका प्रमुख छापाहरूमा छपाएर पत्रकारको रूपमा काम गर्न थालिन् । हिमाल आरोहण कहिल्यै नगरेकी भएता पनि सगरमाथा, केटु तथा अन्य हिमालका आधार सिविरसम्म पुगेर र विभिन्न आरोहीहरूसँग अन्तर्वार्ता लिएर उनले हिमाल आरोहण सम्बन्धि रोचक घटनाहरूको विवरण विश्वसामु पठाउने गरिन् । पछि नेपालको लागि न्यूजिल्याण्डकी महावाणिज्यदूतको रूपमा आजिवन काम गरिन् । उनी एडमण्ड हिलारीकी घनिष्ट मित्र पनि थिइन् ।

 

सन् १९०५ मा युक्रेनमा जन्मेका बोरिस लिस्सानेभिच र उनकी अमेरिकी पत्नी इङ्गरको जोडी ब्यालेडान्सका प्रख्यात कलाकार थिए । पछि भारतको कलकत्तामा आएर उनले क्लब ३०० नामको रेष्टुरेन्ट खोले, जहाँ नेपालका राजा त्रिभुवन र राणा शासकहरूदेखि भारतका ठूला नेताहरू पनि खानपिनको आनन्द लिन र एकापसमा भेटघाट गर्न जाने गर्दथे । पछि उनले सन् १९५१ मा राजा महेन्द्रका भाई बसुन्धरासँग मिलेर नेपालकै पहिलो रोयल होटेलको स्थापना गरे । त्यसपछि याक एण्ड यती रेष्टुरेण्ट लगायत चिम्नी रेष्टुरेन्ट र पर्यटनका अन्य क्षेत्रमा पनि काम गरे । बेलायतकी रानी एलिजावेथ द्वितियाको नेपाल भ्रमण हुँदा काठमाडौँमा र चितवनको जङ्गलमा समेत खानपानको व्यवस्था गर्ने जिम्मा उनैले पाएका थिए । राजा त्रिभुवन, राजा महेन्द्र, राजकुमार बसुन्धरा, किरण शमशेर, बार्बरा एडम्स लगायत त्यतिबेलाका धेरै जना उच्च व्यक्तित्वसँग उनको हिमचिम थियो । नेपालमा मदिराप्रेमीहरूका लागि सर्वप्रथम कलकत्ताबाट सोडा मगाउने पनि उनै हुन् । नेपालमा शुरुका दिनमा पर्यटक भित्राउन उनको ठूलो देन रह्यो । हिमाल आरोहण गर्न नेपाल आउनेहरू पनि उनकै रोयल होटेलमा बस्ने गर्दथे । पछिल्लो समयमा आफ्ना सहयोगी नेपालीबाट नै ठगिएका उनको देहावसान नेपालमा नै भएको थियो । उनकी धर्मपत्नी इङ्गर पनि बुढेशकालमा एक्लो जीवन बिताउन वाध्य भएकी थिइन् । उनीहरूका ३ छोरा भएका भएता पनि कोही पनि बाबुआमालाई माया गर्ने खालका भएनन् । बरु आफ्नी आमाले बैङ्कमा राखेको सानो रकमको पछि लागेर उनलाई दुख दिइरहने काममा उनका कान्छा छोरा अलेक्जेण्डर लागिरहे । यो पंक्तिकारले एक नीजि बैङ्कमा काम गर्दा इङ्गर र उनको बुढेसकालको सानो वचतको सुरक्षा गर्न एकाध पटक अलेक्जेण्डरलाई सम्झाउनसमेत परेको थियो ।  

 

सन् १९३१ मा अमेरिकाको न्युयोर्कमा जन्मिएकी बार्बरा एडम्स बेलायतकी महारानी एलिजावेथ द्वितियाको नेपाल भ्रमणको समाचार सम्प्रेषण गर्न सन् १९६१ मा काठमाडौँ आएर रोयल होटेलमा बस्दा पहिलो पटक राजकुमार बसुन्धरासँग आँखा जुधे पछि यी दुई बीच प्रेम सम्बन्ध गाँसिन गयो । त्यसपछि उनीहरू बीच विवाह नभएको भएता पनि बार्बरा आफ्नो पुरै जीवन नेपालमा नै बसुन्धराको पे्रमिकाको रूपमा रहिन् । नेपालको पहिलो ट्राभल एजेन्सीको स्थापना गरिन्, राजनीतिक र कुटनीतिक जमघट गर्ने स्थान बन्यो उनको घर र नेपाल सम्बन्धि दर्जनौँ पुस्तक र सयौँ लेखकी लेखिका पनि बनिन् र साथै विभिन्न पत्रिकाकी नियमित पंक्तीकार समेत भएर काम गरिन् । नेपालको नागरिक बन्ने उनको सदिक्षा उनको जीवनको अन्तिम क्षणमा गएर मात्र पुरा भयो । यसको कारण थियो, बसुन्धराको अथाह सम्पत्ति, जसमा बार्बराले हकदावी गर्लिन् भन्ने भयले तत्कालिन दर्वारले उनलाई नागरिकताबाट वञ्चित गरेको थियो । तर उनले यो पंक्तिकारको घरमा आएको बेला पनि पिता गोविन्दप्रसाद लोहनीसँग कुरा गर्दा बसुन्धराको सम्पत्तिमा दावी गर्ने आफ्नो कुनै ध्येय नरहेको र मात्र नेपालसँगको प्रगाढ प्रेमले गर्दा नेपाली भएर मर्न चाहेको कुरा बताएकी थिइन् । पिताजीले उनको नागरिकता प्राप्तिको निम्ति त्यतिबेलाका अधिकांश नेता तथा शासकका ढोका ढक्ढकाउनु भएको थियो र अन्तमा सफलता पनि मिलेको थियो ।

 

दक्षिण भारतबाट आजभन्दा ५ दशक अघि नेपाल आएर शिक्षण पेशामा संलग्न हुँदै पोखराको पृथ्वीनारायण क्याम्पसका प्रथम क्याम्पस प्रमुख बन्न सफल भएका जर्ज जोनले धेरै विद्यार्थीहरूलाई आज नेपालका विभिन्न क्षेत्र हाँक्न सक्ने गरी सक्षम तुल्याए । उनमा नेपालको यति धेरै माया छ कि उनी आफ्नो अवकाशको आजको समयमा पनि यानी ८४–८५ वर्षको उमेरमा पनि पोखरामा आफ्नै घर बनाएर बसोवास गरिरहेका छन् ।

 

नेपाललाई अति माया गर्ने तथा आफ्नो मातृभूमि नै छोडेर नेपालमा आइ जीवनभर बसोवास गरी नेपाललाई आफ्नो क्षेत्रबाट विश्व सामु चिनाउने विभिन्न क्षेत्रका व्यक्तित्वहरू मध्ये श्रीमती ग्रेटा राणा पनि एक हुन् । आज उनको दुखद देहावसानको बेला उनैको सम्झनामा यो लेख लेख्ने प्रेरणा मिलेको हो ।

 

सन् १९४३ मा संयुक्त अधिराज्यको क्याशलफोर्ड, पश्चिमी योर्कशायरमा एक संभ्रान्त परिवारमा जन्मेकी ग्रेटा मेरी पेनिङ्गटन राणाले मधुकर शमशेर राणासँग वैवाहिक वन्धन पश्चात नेपालमा आएर बसोवास गर्न शुरु गरेकी हुन् र झण्डै आधा शताव्दिको बाँकी जीवन उनले यहीँ व्यतित गरिन् ।

 

ग्रेटामा सानै उमेरदेखि अङ्ग्रेजी साहित्य, कविता र कला बारे विशेष लगाव थियो । स्कुले पढाई स्थानीय ग्रामर स्कूलबाट पुरा गरेकी उनले म्यान्चेस्टरस्थित सुविख्यात् भिक्टोरीया विश्वविद्यालयबाट स्नातक तहको शिक्षा हासिल गरिन् । विश्वविद्यालयमा छँदा उनले ‘म्यानचेस्टर पोएट्स’ र ‘स्ट्याण्ड’ जस्ता साहित्यिक संस्था र जोन सिल्किन जस्ता प्रख्यात कविसँग आवद्ध भएर काम गर्ने मौका पाइन् भने विश्वविद्यालयको जर्नलको सम्पादक भएर काम गर्ने मौका पनि जु¥यो उनलाई ।

 

सन् १९६६ मा बेलायतमा नै उच्च अध्ययन गरिरहेका नेपाली युवक मधुकर राणासँग उनको चिनाजानी भयो र केही समयको भेटघाट पछि यो चिनाजानीले प्रेमको सम्बन्ध बनाउने मौका पनि पायो । नेपालमा राणा शासनको अन्त हुने वखततिरका अति शक्तिशाली र प्रजातन्त्र विरोधी तथा वि.सं. १९९७ मा ४ जना राजनैतिक व्यक्तित्वहरूलाई मृत्युदण्ड दिने निर्मम प्रधानमन्त्री जुद्धशमशेरको जेठो छोरा मानशमशेरका नाती मधुकर शमशेर राणा बाल्यकालदेखि नै तिक्ष्ण बुद्धिका र खेलकुदलाई अति रुचाउने नरम मिजासका व्यक्ति थिए । नेपालको शिक्षा पश्चात उनले वेलायत गएर अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए । यिनै शालिन व्यक्तिसँग भेट भएपछि धेरै कुराहरूमा मत मिल्ने भएकाले ग्रेटाले आफ्नो जीवन साथी हुने सर्वगुण यिनै व्यक्तिमा भएको ठहर गरेको कुरा साथीहरूसँगको भेटमा बडो रमाइलो पाराले बताउने गर्थिन् रे । मधुकर शमशेर हिमालयको काखमा अवस्थित नेपालका हिन्दू युवक र ग्रेटा बेलायतजस्तो संभ्रान्त मुलुककी क्रिस्चियन युवती । झट्ट सुन्दा यस्तो किसिमको फरक परिवेशका दुई व्यक्ति जीवनभर एक भएर कसरी बस्न सक्लान् जस्तो लाग्ने । तर यी दुवैले आआफ्ना वौद्धिक गुणलाई सम्मान गरेर एकले अर्कोको धर्म, संस्कृति र वर्ण बारे कुनै टिकाटिप्पणी र हस्तक्षेप नगर्ने र जीवनभर एक अर्कालाई सम्मान गरेर आदर्श जोडीको रूपमा रहने प्रण गरे र त्यस्तै पनि भयो ।

 

विवाह पश्चात ग्रेटा र मधुकर केही समयको निम्ति क्यानाडामा उच्च शिक्षा र कामको निम्ति गए । त्यहाँ रहँदा ग्रेटाले आर्थिक, सामाजिक, वातावरणीय र साहित्यिक क्षेत्रको महत्वपूर्ण ज्ञान हासिल गर्ने मौका पाएकी थिइन् ।

 

सन् १९७१ मा नेपालमा बसोवास गर्न आउँदा ग्रेटामात्र २८ वर्षकी थिइन् । क्यानाडाको बसाईँको दौरान छुटेको उनको साहित्यिक यात्राको शुरुवात नेपालमा आएपछि उनले फेरी गरिन् । नेपाल आएको केही समय पछि नै उनको तेस्रो छोराको पनि जन्म भयो र उनी एक प्रकारले गृहिणीकै रूपमा बस्न थालिन केही समयको निम्ति । तर घरैमा बस्दा पनि उनले कविता सिर्जना गर्न, लघु कथाहरू लेख्न र राणा परिवारका विभिन्न क्षेत्रसँग सम्बन्धित रूची र कलाकारिता बारे पनि गहन अध्ययन गर्न थालिन् ।

 

यस्तै बेलातिर उनले भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीको लागि ३ वटा नेपाली परिवेशका उपन्यासहरू लेखेर प्रकाशन गरिन् । ‘नथिङ्ग ग्रिनर’, ‘राइट एज इट इज’ र ‘डिस्टेन्ट हिल्स’ नामका ती तिनै वटा उपन्यासले निक्कै ख्याती कमाउन सफल भए ।ग्रेटाका अधिकांश साहित्यिक रचनाहरू नेपाली तथा दक्षिण एशियाली इतिहास तथा संस्कृतिमा आधारित छन् भने उनले साहित्य मार्पmत महिलाका दुख, सुखको चित्रण पनि गर्ने कोशिश गरेकी छन् । 

 

अङ्ग्रेजी साहित्य र खास गरी विश्वविख्यात् बेलायती नाटककार शेक्स्पीयरद्वारा लिखित अमर नाटकहरूलाई नेपालमा केही समय अघिसम्म पनि निर्देशन, अभिनय र मञ्चन गरेर अङ्ग्रेजी साहित्य र रङ्गमञ्चको विकासमा उनले निक्कै ठूलो भूमिका निर्वाह गरेकी थिइन् । त्यसका साथै नेपाली साहित्यका कैयन् प्रख्यात सिर्जनाहरूलाई अङ्ग्रेजीमा अनुवाद गरेर विश्वसामु प्रस्तुत गर्नमा पनि उनको ठूलो योगदान रहेको छ भने उनले आफैँले लेखेका ऐतिहासिक, मनोवैज्ञानिक तथा सामाजिक उपन्यास, कविता तथा विभिन्न क्षेत्रसँग सम्बन्धित लेखहरू नेपालमा र विदेशमा ज्यादै नै लोकप्रिय भएका छन् । यस्ता महत्वपूर्ण र अविस्मरणीय कार्यहरूका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानबाट पनि ग्रेटा राणा पुरस्कृत भएकी थिइन् । उनको लेखन यात्राले सन् १९७० को दशक पश्चात विश्राम लिने अवसर कहिल्यै पाएन । उनले आफ्नो साहित्यिक यात्रामा करिव आधा दर्जन कविता संग्रह र एक दर्जन उपन्यास लेखेर प्रकाशन गरिन् । उनका लेखन सामग्रीहरूको विश्वभर नै निक्कै राम्रो बजार छ । ग्रेटा राणाले डायमन शमशेरको प्रख्यात उपन्यास ‘सेतो बाघ’ लाई अङ्ग्रेजीमा उल्था गरेर ‘वेक अफ द ह्वाइट टाइगर’ नामाकरण गरेकी थिइन् ।सेतो बाघको अङ्ग्रेजी संस्करणले ख्याती प्राप्त गरेपछि यो उपन्यास विश्वका अन्य धेरै भाषाहरूमा प्रकाशित भयो । ग्रेटा राणाले विभिन्न पत्रपत्रिकामा सयौँ लेख, कविता तथा संस्मरणहरू पनि प्रकाशन गरेकी छन् । ग्रेटाका कृतिहरूको बेला बखतमा प्रा. डा. अभि सुवेदी जस्ता चर्चित नेपाली समालोचकहरूले पनि समालोचना गर्ने गरेका छन् ।

 

ग्रेटा राणाले उपन्यास लेख्ने क्रममा राणा परिवारका महिलाहरू बारे ‘द रुलिङ विमन अफ द राणा डाइनेष्टी’ पनि लेखेकी छन् । उनका अन्य कृतिहरूमा ‘डिस्टेन्ट हिल्स’, ‘होस्टेज’, ‘गोस्ट इन द बेम्बो’ आदि प्रमुख छन् । 

 

ग्रेटा राणा ‘पेन सेन्टर नेपाल’को पनि सक्रिय सदस्य थिइनर यो संस्थामार्पmत उनले आफ्नो साहित्यिक लेखनलाई पाठकसम्म पु¥याएकी थिइन् । नेपालमा खासगरी शेक्सपियरका नाटकहरू मञ्चन गरेर नेपालका अङ्ग्रेजी साहित्यप्रेमी र रङ्गमञ्चका कलाकारहरूलाई नयाँ र फरक स्वाद पस्कन उनले ‘न्यू शेक्सपियरवालाज्’ नामको नाट्य संस्थाको स्थापना गरि नाटकहरूको निर्देशन समेत गर्ने गरेकी थिइन् । कतिपय नाटकहरूमा उनी आफु पनि उपयुक्त भूमिकामा प्रस्तुत हुने गर्दथिन् । विगत डेढ–दुई दशकको अवधिमा न्यू शेक्सपियरवालाज्को व्यानरमा मञ्चन भएका नाटकहरूबाट गरेको आम्दानी उनले नेपाल व्रिटेन सोसाइटीमार्पmत विभिन्न संस्थाहरूलाई चन्दा दिन सहयोग गरेकी थिइन् । उनी नेपाल व्रिटेन सोसाइटीको पनि आजिवन सदस्य थिइन् भने उनका पति मधुकर सन् १९६४ मा केशरशमशेरको संयोजकत्वमा स्थापित यस संस्थाका अध्यक्षसमेत भएका थिए । यस लेखका लेखकले पनि यो संस्थाको महासचिवको हैसियतले सन् १९९८ देखि हालसम्मै ग्रेटाका विभिन्न रचनात्मक क्रियाकलापहरूमा भाग लिने र उनीसँग काम गर्ने मौका पाएको थियो ।

 

‘एकीकृत पर्वतीय विकासको लागि अन्तर्राष्ट्रिय केन्द्र (इसीमोड)’मा सन् १९८०को शुरुदेखि आवद्ध भएकी ग्रेटाले सो संस्थाले हिन्दूकुश र हिमालय श्रृंखलामा गर्ने गरेको पर्वतीय र वातावरणीय खोजका वृहत पुस्तक तथा जर्नलहरूको शुरुको प्रकाशनमा र त्यस्ता प्रकाशनको निम्ति इसीमोडमा एक डाटा तथा प्रकाशन केन्द्रको स्थापना गर्न समेत ठूलो योगदान गरेकी छन् । तत्पश्चात इसीमोडले हालसम्म यो क्षेत्रको अति महत्वपूर्ण धेरै दस्तावेजहरू प्रकाशनमा ल्याइसकेको छ । 

 

नेपालको पाखा–पर्वत, वातावरण, मातृशिशु स्वास्थ्य र शिक्षा तथा महिला विकास र जागरणको क्षेत्रमा पनि लामो समयसम्म अथक सेवा पुु¥याइन् ग्रेटाले । त्यस्तै, नेपालको पर्यटन, कला, संस्कृति, इतिहास र साहित्यबारे गहन शोधकार्यपश्चात् उनले ती विषयमा महत्वपूर्ण पुस्तकहरू लेखेर तिनको संरक्षण र संवद्र्धनमा पु¥याएको योगदान पनि ज्यादै नै सह्राहनीय छ । उनका पुस्तकहरू विश्वभर नै प्रख्यात भएको कारणले गर्दा पनि धेरै विदेशीहरूले उनकै पुस्तकको अध्ययन पश्चात पहिलो पटक नेपाल आएपछि नेपालको समृद्ध प्राकृतिक सौन्दर्य, उत्कृष्ट कलाकारिता र उच्च बहुसांस्कृतिक सद्भावबाट अभिप्रेरित भएर पटक पटक यहाँ आएर खोज र अनुसन्धान गर्ने गरेका छन् ।

 

सन् २००४ मा उनले इसीमोडबाट अवकाश पाए लगत्तै २००५मा उनलाई बेलायतकी महारानीबाट ‘अर्डर अफ द व्रिटिश एम्पायर (एम.वी.इ.)’को मानपदवी प्राप्त हुन गयो । उनले आफ्नो लामो व्यावसायीक यात्रामा धेरै पुरस्कार, मानपदवी र अलङ्कार प्राप्त गरिन् । ती मध्ये पनि सबैभन्दा ठूलो अलङ्कार नेपालीहरूको उनी प्रतिको माया र सद्भाव हुन गयो । कम बोल्ने, सबैलाई राम्रो र असल काम गर्ने प्रेरणा दिने शालिन ग्रेटाको एक पृथक व्यक्तित्व थियो ।

 

ग्रेटाका पति मधुकर शमशेर राणाले पनि उनी सँगसँगै जीवनमा निक्कै सक्रिय व्यक्तित्वको रूपमा काम गरे । नेपालको अर्थव्यवस्था र विकास बारेका दर्जनौँ पुस्तक प्रकाशन गर्नुका साथै उनले अर्थशास्त्रका प्राध्यापक भएर पनि लामो समयसम्म काम गरे । सँधै पत्नी ग्रेटाको न्यानो माया र सहयोग पाएका मधुकर एक गन्यमान्य अर्थशास्त्री, कुटनीतिज्ञ तथा बुद्धिजीवीका रूपमा चिनिन्थे भने सन् २००५ मा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा अर्थमन्त्री हुने मौका पनि पाए उनले ।

 

उनीहरूले आफ्नो जावलाखेलस्थित घरपरिसरमा सालिग्राम अपार्टमेन्ट होटेल पनि चलाएका छन् र यो होटेलले विश्वविख्यात पर्यटकीय पुरस्कारहरू जित्न पनि सफल भएको छ । पछिल्लो समयमा ग्रेटाले यो होटेलको रेखदेखमा पनि आफ्नो समय खर्चिने गरेकी थिइन् ।

 

केही वर्ष अघि लामो समयसम्म मुटु र मृगौलाको रोगबाट पिडित मधुकरको देहावसान भयो र ग्रेटा निक्कै एक्ली हुन पुगिन् । उनीसँगै उनका छोराहरू पनि बस्ने भएता पनि आफुसँग कुरा मिल्ने जीवनसाथी नै आफुभन्दा पहिले दिवङ्गत भएकाले ग्रेटाले निक्कै एक्लो महसुस गरिरहेको कुरा उनका पछिल्लो हाउभाउबाट नै प्रष्ट हुन्थ्यो । त्यसमाथि केही वर्ष अघिदेखि उनि पनि मष्तिस्कमा ट्युमर पलाएर विषम स्वास्थ्य समस्यामा जकडिएकी थिन् । तर पनि उनको लेखन र नाटक निर्देशनले विश्राम पाएको थिएन । पोहर साल कोरोनाको कहर चरमसिमामा पुग्दा पनि उनको निर्देशनको नाटक मञ्चन गरिएको थियो ।

 

आजीवन नेपाल र नेपालीको सेवामा जुटेकी ग्रेटा राणाको गत साता माघ ११ गते देहावसान भयो ।निक्कै भारी मनले उनको देहावसानको खवर एकापसमा पु¥याए उनका हितैषीहरूले र उनका परिवारजनले पशुपतिनाथको आर्यघाटमा हिन्दू परम्परा मुताविक नै उनको दाहसंस्कार गर । केही पत्रपत्रिकाहरूले उनको देहावसानको समाचार छापे तर अधिकांश नेपाली समाज उनी र उनको योगदान तथा देहावसान बारे अनभिज्ञ नै भएको पाइयो ।

 

माथि शुरुमा उल्लेखित टोनी हेगन, एडमण्ड हिलारी, एलिजावेथ हौली, बोरिस र इङ्गर लिस्सानेभिच, बार्बरा एडम्स तथा जर्ज जोन जस्ता धेरै व्यक्तिहरूलाई नेपाल र नेपाली जनताले सदा सम्झिरहनु पर्दछ । त्यस्ता व्यक्तिहरूको नाम लिने क्रममा हामीले छुटाउन नहुने अन्य केही व्यक्तिमा टाइगर टप्सका जिम एड्वार्डस्, सम्मिट होटलका रविन मास्र्टन,फोर्ड फाउण्डेशनका जोन वायर, जापानका पुर्व प्रधानमन्त्री रिउतारो हाशिमोतो, पुर्व भारतीय राजदूत देव मुखर्जी, भारतीय खानेपानी तथा ढल निकास विज्ञ बाबु–छोरा सरदार मनोहर सिंह र सरदार हरदयाल सिंह, भारतीय ट्रक व्यवसायी सरदार प्रितम सिंह र उनका बुवा आदि छन् । यी र यी जस्तै अन्य विशिष्ट हस्तीहरू जसले नेपाललाई माया गरे र विश्व सामु चिनाए, यी सबलाई मन भित्रबाट आदर, नमन र सलाम छ ।


(लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर हुन्)
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार