• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
मनोरञ्जन

कथा कम एक्सन धेरै चलचित्र पठान

काठमाडौं । बलिउडका किङ खान अर्थात् शाहरूख खान अभिनीत एक्सन क्राइम विधाको चलचित्र ‘पठान’का बारेमा जति चर्चा सुनिएको थियो चलचित्र भने चर्चाअनुसारको पाइएन। केवल रमाइलो र एक्सन मन पराउनेका लागि चलचित्र एकदमै राम्रो छ। दर्शकले चलचित्रभित्र कथा खोज्न थाले भने त्यो दर्शक मूर्ख कहलाउँछ। त्यसैले पनि यो चलचित्र हेर्दा खासै दिमाग खियाउनुपर्ने कुनै अवस्था छैन। यो सत्य हो कि चलचित्रले दर्शकलाई सुरुदेखि अन्त्यसम्म हलमा बाँधेर राख्ने काम अवश्य गर्छ। चलचित्रको एक्सन, संवाद, सङ्गीत भने गजबको छ। 

 

पठानमा, जो एक (रअ)का एजेन्ट हुन् र उनी सधैँ आफ्नो देशका लागि जीवन बलिदान दिन पनि तयार हुन्छन्। चलचित्रमा भिलेनको भूमिकामा देखिएका जिमले आफ्नै देशका दुस्मनहरूसँग हात मिलाउँछन्। चलचित्रमा अभिनेत्री दीपिका पनि जासुस हुन्छिन्। जोन एक खतरनाक आतङ्कवादी हुन्छन् जसले देशलाई बर्बाद बनाउनका लागि अन्य देशसँग जस्तोसुकै सम्झौता गर्न पछि पर्दैनन्। उनले भारतमा ठूलो आतङ्कवादी हमलाको योजना बनाउँछन्, जसमा उनी खतरनाक र घातक भाइरस फैलाउन चाहन्छन्। जब भारतका गुप्तचर एजेन्सीहरूलाई यो खबर प्राप्त हुन्छ, उनीहरूले यसलाई रोक्नका लागि आफ्ना सबैभन्दा सक्षम ‘रअ’ एजेन्ट पठानलाई सक्रिय बनाउँछन्। दीपिका पनि पठानलाई उनको मिसनमा साथ दिन्छिन्। के पठानले आफ्नो देशलाई सबैभन्दा खराब आतङ्कवादी आक्रमक (भाइरस)बाट बचाउन सक्षम हुन्छन् ? यही नै चलचित्रको कथा हो। यही सानो कुरालाई निर्देशक सिद्धार्थ आनन्दले घुमाएर दर्शकलाई मनोरञ्जन पस्किने काम गरेका छन्।

 

चार वर्षपछि चलचित्रमा कमब्याक गेरका अभिनेता शाहरूख खान र अभिनेत्री दीपिका पादुकोण फेरि सँगै देखिएका छन्, दुवैको अभिनय सधैँ झैँ यस पटक पनि चमत्कारी नै छ। यी दुईबीचको केमेस्ट्री निकै मिलेको छ जुन दर्शकलाई अवश्य नै मन पर्न सक्छ। चलचित्रमा जोन अब्राहमको अभिनय पनि उत्कृष्ट छ। अभिनेता जोन चलचित्रमा सोचेभन्दा धेरै नै फरक शैलीमा प्रस्तुत भएका छन्। चलचित्रमा शाहरूखका मिल्ने साथी ‘टाइगर’ अर्थात् सलमान खान पनि छोटो भूमिकामा देखिएका छन्। टाइगरले चलचित्रमा पठानलाई गुन्डाहरूबाट बचाउने काम गरेका छन्।

 

निर्देशक तथा निर्माता आदित्य चोपडाद्वारा यशराज फिल्म्सको ब्यानरमा बनेको पठानले बलिउडमा ठूलो परिवर्तन त्याउँछ भन्दा खासै फरक नपर्ला। मसला भरिएको चलचित्र बनाउन खप्पिस निर्देशक सिद्धार्थको निर्देशनमा बनेको चलचित्रमा एक्सन, क्राइम र सबै मसाला छन् जसलाई दर्शकले अवश्य रुचाउनेछन्। ‘रअ’ एजेन्टको भूमिकामा देखिएका शाहरूख (पठान) र जोन (जिम) बीचको एक्सनमय दृश्यले धेरै यसवाहरूलाई चलचित्रमा अवश्य नै आकर्षित बनाउँछ। चलचित्र स्पेन, यूएई, मुम्बई, टर्की र फ्रान्समा छायाङ्कन गरिएको छ। 

 

शाहरूख खानको अभिनयसँग हामी सबै परिचित छौँ। उनले चलचित्रमा कस्तो अभिनय गरेका छन् भन्ने कुराको चर्चाको यहाँ आवश्यक देखिन्न। ‘पठान’मा शाहरूख फरक शैलीमा देखिएका छन्। उनको लामो कपाल, सिक्स प्याक एब्सले पक्कै नै दर्शकको ध्यान आकर्षित गर्नेछ। शाहरूखबाहेक अर्का अभिनेता जोन अब्राहम र अभिनेत्री दीपिका पादुकोणले पनि आफ्नो भूमिकामा न्याय गरेका छन्। दुवैको अभिनयले अवश्य नै दर्शकको मन जित्छ। अन्य सबै सहायक कलाकार डिम्पल कपाडिया, सिद्धान्त घेगडमल, आशुतोष राणा, गौतम रोडे, साजी चौधरी, गवी चहलको अभिनय पनि तारिफयोग्य नै छ।

एक्सनले भरिपूर्ण चलचित्रको संवाद र पटकथा गजबको छ। चलचित्रलाई नाटकीय र यथार्थपरक दुवै रूपमा देखाइएको छ। कप्तानका रूपमा निर्देशक सिद्धार्थले दर्शकहरूलाई अवश्य नै एक बेजोड चलचित्र दिन खोजेका छन्। विशेष गरेर एक्सन रुचाउने र बालबालिकाहरूका लागि चलचित्र अवश्य नै उत्कृष्ट हुन सक्छ।  सुकृत नेपाल/गोरखापत्र 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार