• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
रंगमञ्च

नाटकमा युवतीको मनोभावना

काठमाडौँ। नाटक ‘साथी, साथी आइदेउन !’ एक युवतीको कथा हो; जसको मानसिक अवस्थालाई घर, परिवार, साथीभाइ कसैले पनि बुझ्न चाहँदैन । उसलाई सबैले एक्लो बनाउँछन् । अन्त्यमा उनी आत्महत्याको अवस्थासम्म पुग्छिन् । त्यसपछि मनको पीडा बुझ्ने एक मान्छेसँग उनको भेट हुन्छ । त्यही भेटपछि युवतीमा आउने परिवर्तन नै नाटकको मुख्य विषय हो ।

 

आजको प्रविधि र भौतिक विकासको युगमा मान्छेको मनसँग मन टाढा हुने क्रममा रहेको हामी पाउँछौँ । आफू विषम् परिस्थितिमा रहँदा हाम्रा कुरा सुनिदिने, बुझिदिने र बुझाइदिने अनि आफूले चाहेको परिस्थिति पनि विपरीत भइदिँदा मनका भावनालाई नियन्त्रण गर्न नसकी आफैँलाई त्याग्ने निष्कर्षमा पुगेकी युवती पात्र अस्मिता (गोपिनी सेढाईं)को कथा हो, नाटक ‘साथी, साथी आइदेउन !’ अस्मितालाई धेरै कुराको चाह छ तर उसको चाहना कसैले पूरा गरिदिँदैन ।

 

अस्मिता राहुल (दीपेन्द्र कार्की)लाई एकदमै मन पराउँछिन् तर राहुल अस्मिताको नजिक पर्न पनि गाह्रो मान्छन् । नाटकको कथाको एउटा पाटो प्रेमकथामा अडिएको छ भने अर्कोतर्फ युवतीलाई अप्रत्यक्ष रूपमा जीवनको महŒव बुझाइदिएर बाँच्न सिकाउने साथी पात्रको प्रयासको कथालाई पनि नाटकमा भिन्न ढङ्गबाट प्रस्तुत गरिएको छ । साथी पात्र स्वयंले पनि जीवनदेखि निराश हुँदा एक आममानिसले साथी बनेर दिएको प्रेरणाअनुरूप सफलता प्राप्त गरेको हुँदा स्वयं पनि अरूका लागि साथी बनिदिन पाइला चालेको कथालाई नाटकमा समावेश गरिएको छ; जुन आजको नेपाली समाजका युवाका लागि निकै उपयोगी विषय साबित हुने निश्चित छ । 

 

नाटकमा आममानिसको आर्थिक अवस्था नराम्रो भएपछि उसमा आउने उतारचढावका विषय चित्रण गरिएको छ । नाटकमा युवा पुस्ताको मानसिक स्वास्थ्यको पाटोलाई पनि केलाउन खोजिएको छ । यसअघि कोरोना महामारीको चपेटामा परेर मान्छेले के कस्ता बाधा अड्चन भोग्नु परेको थियो भन्ने कुरा पनि नाटकमा समेटिएको छ । नाटक समाजमा व्याप्त समस्या सम्बोधन गर्ने खालको हुनुपर्छ भन्ने मानसिकतालाई यसले न्याय गरेको छ ।  समाजमा अहिले देखिएको मानसिक समस्या अर्थात् विकल्प नदेख्दा आफैँलाई समाप्त पार्ने मनोरोगका कारण स्वयंले आफूलाई गुमाएको अवस्थामा कसरी यसलाई सम्बोधन गर्ने भन्ने हेतुले नाटक तयार पारेको रङ्गकर्मी आशान्त शर्मा बताउनुहुन्छ । हास्य शैलीमा कसैलाई मानसिक आघात नपु-याउने हिसाबले नाटक तयार पारेको उहाँको भनाइ छ ।

 

निर्देशक शर्मा स्वयंले पनि नाटकमा अभिनय गर्नुभएको छ । उहाँको अभिनयले गर्दा पनि नाटकका अन्य कलाकारको अभिनयमा पनि निखारता आएको देखिन्छ । कलाकारको अभिनयमा खासै नयाँपन नदेखिए पनि नाटकको कथाले भने पक्कै दर्शकलाई आकर्षित गर्छ । नाटकमा गोपिनी सेढाईं, आशान्त शर्मा, प्रभाकार न्यौपाने, अजस्र ढुङ्गाना, सरला पराजुली, दिव्या मगर, छिरिङ शेर्पा, प्रनिश मगर, अनुजा अधिकारी, विपना रिजाल, दीपेन्द्र कार्कीको अभिनय छ । नाटक माघ १५ सम्म टेकुस्थित कौसी थिएटरमा मञ्चन हुँदै छ ।सुकृत नेपाल/गोरखापत्र 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार