• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

पाका मान्छेमा बाथका समस्या !

पृथ्वीमा भएका सबै प्राणीमा उमेर अनुसार बिभिन्न रोगव्याधले सङ्क्रमण गरेको हुन्छ । कतिपयमा प्रजातिगत र बँशानुगत रोगले दुख दिएको पाईन्छभने कतिपयमा विभिन्न प्रजातिका वा आफ्नै समुहका सरुवा रोगको सङ्क्रमण रोक्न नसकेर आफु पनि रोगीभएको हुनसक्छन् । कुनै रोग भने शरिरिको बनावट, अङ्गको प्रयोग र बानी व्यहोराको नकारात्मक असर स्वरुप पनि भईरहेका पाईन्छन् । त्यस्तै व्यक्ति पिच्छे केही रोग भने नसर्ने तर भएको व्यक्तिलाई नै असाध्यै दुख दिने हुन्छन् । यस्ता रोगले उमेर बढदै जाँदा वयस्क उमेरमा भन्दा पाको उमेरमा  शरिरिको सहने क्षमताको कमीसँगै बढि दुख दिन थाल्छन् । तिनीहरूमा बाथ रोग र कम्मरदेखि गोडासम्म दुख्ने साईटिका भनिने रोग उमेरीदै जाँदा बढि कष्टकर हुन्छन्।

 

बाथ रोगः
बाथ रोगलाई विभिन्न नामले चिन्हिन्छः बाथ र गठिया सामान्यतया सबैले भन्छन् र चौरासी थरीको हुन्छ भन्ने जनबिश्वास पनि छ । पढेलेखेकाहरूमा गाउट भनेर चिन्हिने यो रोग आर्थाटिक, ओष्टियोआर्थाटिस, ओटिटीस र रेमाटिज्म नाम प्रयोगमा पनि छ । बाथ भएकालाई बथ्याहा जीउ भएको भनी अरु नगरेपनि खानेकुरामा के हुने र के नहुने भनी छुट्ट्याउने भने गरिन्छ । धेरैजसो व्यथा जीउ हुनेले खानेकुरा अमिल्दो भए जोर्नीहरू दुख्ने, गाँठा उठने, उठबस गर्न गाह्रो हुने र चिसोले बढी दुख दिने खालको हुन्छ । गाउट र आर्थाटिस भनिने बाथ चाहीँ प्राय हात गोडाका औँलाहरू भुक्क मोटा देखिने, जोर्नी सुन्डीने, लाटो हुने, पोल्ने, कसैमा औँला बाङ्गिने, कसैको खुट्टाको बुढि औँलाको फेद रातो हुने हिँडन नै नसक्ने पनि हुन्छ ।

 

हार्वाड स्वास्थ्यबारेका हेईडी गडम्यानका अनुसार उस्तै लक्षण देखिए पनि फरकफरक बाथ वा आर्थाटिस अवस्था र रोगको तह हुनसक्छ। नदुखीकन पनि तपाईका औँलाले कमिजका टाँक राम्ररी लगाउन सक्तैनन्, सिसीको बिर्को खोल्न सक्तैनन्, मसिना कुरा छुन वा टिप्न गाहारो हुन्छ, मोबाईल वा कम्प्युटरका अक्षर टङ्कण गर्न सक्तैनन् र आफ्नो जीउलै ओर्कीफर्की गर्न सक्नुहुन्न भने आर्थाटिस भएको होला ।

 

स्वतन्त्र चलखेल र मनोईच्छालाई सा¥है नकारात्मक असरगर्ने आर्थाटिस समस्या हो । हार्वाड मेडिकल स्कुलका प्राध्यापक र महिला अस्पतालका रेमाटिड बिज्ञ डा. जेफ्री स्पार्कका अनुसार अमेरिकी रेमाटोसाश्त्रको बिद्यालयले आर्थाटिस र रेमाटिक अवस्थामा सरिरमा के दुष्प्रभाव पार्छ भनेर अभियाननै चलाएको छ । खानेकुरा खाने काँटाको प्रयोगगर्न समेत गाहारो हुन्छ भने समस्या थपिँदै जाँदा मोबाईल चलाउन, कम्प्युटरमा टङ्कणगर्न, बढार्न, अन्न केलाउन, खाना पकाउन र कहिलेकाहीँ राम्ररी गाँस हाल्न समेत नसक्ने अवस्था आउन सक्छ । सँस्थाले आफ्नो चिन्ह नै बाङ्गिएको काँटा राखेको त्यसैले अर्थपूर्ण छ ।

 

लक्षण र प्रकार :
बिज्ञानले प्रमाणित गरेको छ कि अलिअलि मात्र दुख्ने सुण्डिने बाथ लगातारकै भएमा यो सुस्तसुस्त प्राण घातक नै हुन्छ । यसले मुटु फोक्सोको रोग, अबुर्दरोग, तह २ को मधुमेह, आदि निम्त्याउन सहज बनाउँछ । अरु केही नसकेमा दुख्नसुण्डिन सामान्य रोक्ने उपाय मात्र गरे पनि रोग असाध्य हुनबाट बच्न सकिन्छ भनि हार्वाडका बिशेषज्ञको भनाई छ । प्रष्ट देखिने गरेर बाथ हातगोडाका औँलामा देखिन्छ । सानो दुरीमा नै हातगोडामा जोडिने औँलाहरूमा धेरै ससाना हाडको तिन ठाउँमा जोर्नी हुन्छन । ति जोर्नीमा समस्या आउँदा र अनावस्यक मात्रामा जैविक निशेच पदार्थ जम्माहुँदा जोर्नी सुण्डिने दुख्ने गर्दछ, यस्तो समस्या बाह्य चोटपटक नभए कुनै प्रकारको बाथ नै हुनुपर्छ ।


सबैभन्दा सामान्य हाडेबाथ (ओष्टियोआर्थाटिस) भनेको जोर्नीका कुडकुडे हाडका पातला चकटीजस्ता भाग खिईनु हो । हरेक जोर्नीमा दुई तिरका बलियो हाडलाई चलाउँदा आफ्नो ठाउँमै राखी सहयोग गर्न, छेउछेउमा घोटिएर दुख्न खिईन बचाउन यस्तो अङ्ग हरेक जोर्नीमा हुन्छ । वास्तवमा गोडाका तलमाथिका हाड चल्दा घोटीएर हाडका तत्वहरू निस्किएर त्यस्ता जोर्नीमा नयाँ खालका कुडकुडे हाड (घुँडाका पाङ्ग्राजस्ता) बन्दछन् । त्यस्ता जम्माभएका पदार्थ कहिलेकाहीँ बढेर डल्ला गाँठा बन्दछन् । प्राय बुढि औँलातिर बढि देखिने ति डल्ला अरु औँला र नाडीतिर पनि हुन सक्छन् तर कतानै देखिन्छन भन्ने टुङ्गो हुँदैन । प्राय औँलाका फेदमा देखिने त्यस्ता डल्लाभएको उक्त जोर्नी अति राँक्किने, दुख्ने, अरु जोर्नीभन्दा भुक्क सुण्डिने र कहीँ त हाडे टुसोजस्तो आकार देखिने हुनसक्छ । यस्तोभएमा औँला चलाउन गाहारो हुन्छ र सुण्डिएको बुढि औँलाको दुखाईले समात्ने, छुने तथा चालपाउने कामनै अभर हुन्छ ।

 

रेमाटिड आर्थाईटिस हाडे आर्थाईटिसभन्दा फरक खालको हो । यस खालको आर्थाईटिस भने सरिरको प्रतिरक्षा प्रणाली अति उत्तेजित भएर जोर्नीका सतहमानै आक्रमण भई हुन्छ। प्रणालीमा किन यस्तो उत्तेजना उत्पन्न हुन्छ भन्ने चाहीँ अझैसम्म बिज्ञानले किट्न सकेको छैन। यस्तो खालको बाथको असर धेरैजसो हात र औँलाका जोर्नीहरूनै हुन् । हाडे आर्थाईटिसमा जस्तै यस प्रकारको बाथमा हात वा गोडाका जोर्नीहरू कडाभएर अतिदुख्ने हुन्छन् । त्यतिमात्र होईन असाध्य हुँदा जोर्नी भित्र पनि सुण्डिएको अनुभूत हुनेगरी सुण्डिएको ठाउँमा अति दुख्ने रातो र तातो हुन्छ ।

 

यस प्रकारको बाथले नाडी, पाखुरा, कुहिना, कुम, घाँटीसम्मका जोर्नीलाई असर गरेको पाईन्छ भने कम्मरमा असरगर्दै फिला, घुँडा, गोलीगाँठा र गोडाका औँलाहरू सम्म दुखदिएको पाईन्छ । चिकित्सक स्पार्कको भनाईमा प्राय सरिरका सबैजसो जोर्नी प्रभावित भएपनि यस बाथले सरिरको दायाँबायाँका उही अङ्गका जोर्नीलाई एकै समयमा बढि असरगरेको देखिन्छ । उपचार बिनाको बारम्बारको यस बाथको असरले शरिरिलाई हदैसम्मको नोक्सानी पुर्‍याउँछ र जोर्नीहरूमा रहेका कुडकुडेहाड खिईएर हराउँछन। त्यसो भएपछि असरभएका जोर्नीहरू बेकामका बन्छन र जोर्नीमा हुनुपर्ने आकार बिग्रीएर टेढोमेढो देखिन्छ ।

 

जोर्नीहरूको आकार र रुपरङ्ग बिगार्नुका साथै यस्तो खालको बाथले थकाई चाँडैलाग्ने, थकान महसुस हुने, रमरम तातोभई ज्वरो आएझैँ हुने, एक्कासी खलखली पसिना आउने, मौसममा खासै परिबर्तन नभएपनि एकछिन अघि लगाएको लुगाले पनि गर्मीहुने वा नपुग्ने र सुत्दा ओढेको ठिक्क ओढनीले पनि राती एक्कासी पसिना आउने पनि हुनसक्छ । रोगले च्याप्दा भोक कम लाग्ने, सुत्न असजिलो हुने, निद्रा बिग्रने, नलाग्ने, मुटु, छाती र आँखा पोलेजस्तो हुने, औडाह हुने, एक्कासी सरिरको भित्रीभागमा झटका, शोला वा तरङ्ग गएजस्तो हुने, आदि लक्षणहरू देखिन सक्छन् ।  

 

लुपस र सोरीयाटिक आर्थाईटिसः
औँलामा हुने बाथ वा आर्थाईटिस धेरै खालका हुनसक्छन् तर स्वप्रतिरोधि कारणबाट हुने यस्ता रोगमा लुपस र सोरीयाटिक आर्थाईटिस प्रमुख रुपमा छन् । बिशेषगरी सोरीयाटिक आर्थाटिसमा औलाका टुप्पाका जोर्नीका भागमा असर गरेको हुन्छ र रोगले बढी ग्रस्त पारेमा नङमा कोप्चा र खाल्डा पर्छन् । अर्को खालको आर्थाईटिसलाई गाउट भनिन्छ र धेरै मानिसमा भएर सामान्य मानिन्छ । हाम्रो खानाको प्रोटिन जस्तो पोषक बस्तु सरिरमा बिभिन्न क्रियाप्रतिक्रिया हुँदै परिबर्तन भएर कामलाग्ने प्रयोगहुने र कामलनाग्ने मिर्गौला मार्फत पिसाबमा जानुपर्ने बस्तु परिबर्तनको एक तहमा बिग्रहभई रगतमा युरीक एसिड जम्माभएर बस्छ । त्यस्ता बेकामे सरिरलाई बिगारगर्ने बस्तु रगत जाने सबै अङ्गमा घुमिरहन्छन् र जोर्नीहरूमा गएर अडकन्छन् । युरिक एसिड जम्मा हुँदैजाँदा स्फटिक (कृष्टल) जस्तै बिभिन्न चुच्चाभएका बस्तु बन्छन्, त्यसैले जोर्नी सुण्डिन्छ, दुख्न थाल्छ र पोल्छ । सामान्य अवस्थामानै बुढिऔँलाको फेद राँक्किने गर्छ अनि अरु औँलाहरूमा पनि असरगर्न थाल्छ ।

 

के गर्ने ?
औँलाहरू र बुढि औँला रातो हुँदै दुख्न थाल्यो भने यस्तै आर्थाटिसको शङ्का निवारण र उपचारगर्न चिकित्सकको परामर्श लिईहाल्नोस् । अचेल प्रभावकारी ढङ्गले उपचार हुने जाईलेरिक (एलोप्रिनोल), कोल्चीसिन र मेथासिन आदि औषधि बजारमा आईसकेको छ । अलिअलि हुँदै उपचार सुरुगरेमा निमिट्यान्न हुन पनि सक्छ र अतिहुँदा हुने औँलाको कुरुपपन, सँगसँगै आउने रोगहरू र हुनसक्ने धेरै जटिलताबाट जोगिन सकिन्छ । बरु औषधि सेवन अवधि र मात्रा चिकित्सकको सल्लाह बमोजिमनै हुनु आवस्यक छ । औषधिको अनियमित प्रयोगले रोगमा जटिलता बढन सक्छ भने बढि प्रयोगले अतिरिक्त असरगरेर मिर्गौला र कलेजो तिर नकारात्मक असर गर्न सक्छ । बिभिन्न औषधि मध्ये आफुलाई फाप्ने पनि बिरामी आफैँले हेक्काराखि चिकित्सकलाई समयमै जानकारी गराउनु पर्छ र नियमित निश्चित समय सेवन गर्नुपर्छ । नेपालमा घरायसी उपचारको विधिमा टुसाएका मेथी दैनिक सेवन गर्ने र सुण्डिएको ठाउँलाई सहनसक्ने तातो पानीमा डुबाउने गर्दछन । कसैले त बिभिन्न जनावरको मासुको रक्सी पनि सुण्डिएर दुखेको ठाउँमा लगाए सञ्चो भएको भन्छन् । सिस्नुको तरकारी नियमित खाने, आयुर्बेदको योगराज गुग्गुल र सुवर्ण भष्मले निको भएको पनि भन्छन् । कसो गर्दा आफुलाई सहज हुन्छ त्यसै औषधिको भरगर्नु राम्रो होला र खानपानमा बाथ नबढाउने सागपात बढाउनु फाईदा होला ।

 

डाक्टर स्पार्कको भनाईमा हाडेबाथ अर्थात ओष्टियोेआर्थाटिसलाई पूर्णतया रोक्ने वा हुने प्रक्रियालाई कमगर्ने औषधि भने अहिलेसम्म उत्पादन भएको छैन । यसको उपचार भनेको लक्षणहरूलाई घटाउने र कामगर्न सहज बनाउने मात्र हो । सामान्यतया यस्तो बाथ भएमा दुखाई कम गराउन चिकित्सकले एसेटोमिनोफेन भएको टाईलीनोल र डिक्लोफिनेक चक्की प्रयोगगर्न भन्छन् । रोग निको त हुने होईन तर ती औषधि चक्कीले खाएको केहीबेर देखिनै हाडेबाथको दुखाई कम हुन्छ । त्यसपछि पानी अलि बढि खाने, तातो वा चिसो जुन फाप्छ त्यस्तै सेकताप गर्ने र दुख्ने अङ्गलाई व्यायामको माध्यमबाट सकेको चलायमान र सहज बनाउने हो ।

 

यस्ता बाथ रोगबाट सरिरका बिभिन्न जोर्नीमा दुखाई र पोल्ने बढदै जाँदा अन्य भागमा पनि असर पारेको हुन्छ । खासगरेर छाती र आन्द्राभूँडीका जैबिक प्रक्रियामा पनि फरकपन आएको हुनसक्छ । त्यसले गर्दा बेलाबेला छाती चर्कने, झिल्का हान्ने, हृदयघात हुन लागेझैँ दुख्ने र पाचन प्रणालीमा गडबडीभई फेरबदल हुनसक्छ । जोर्नी मात्र होईन सग्ला हाड भएका पाहुरा, तिघ्रा साथै दुईटा हाड भएका नाडी र नलीखुट्टा पनि पोल्ने दुख्ने हुनसक्छ। अरु रोग छैन भने बाथलेमात्र हृदयघात हुन र करङ त दुख्न नपर्ने हो, त्यसैले योग्य चिकित्सकलाई बाथको अवस्था र सरिरको अरु जटिलता पहिल्याउन नियमित भनेको बेला परिक्षण गराउनु बुध्दिमानी हो ।

 

सजिलो पारौँ :
जुनसुकै प्रकारको भएपनि बाथ रोगीले लुगाफाटो सजिलै लगाउन मिल्ने र अलि खुकुला खालका लगाउने बानी बसालेमा लाउन र फुकाल्न सजिलो होला । बाथले च्याप्दै जाँदा छाती, बाहुला र जाँघेका टाँक लगाउन समेत हम्मेहम्मे पर्न सक्छ भने जुत्ताका तुना बाँध्नसमेत झञ्झटलाग्ने र नसक्ने हुनसक्छ । च्यापच्यापे टाँक, ठूला टाँक, अलि मोटा तुना बाँध्ने र प्लाष्टिक वा धातुको दाँतीजोडे (जिपर र फस्नर) जोर्तीभएको लुगाफाटो लगाउने र जुत्तामा गोडाहुल्ने खालको प्रयोग गर्नु सुबिधा हुन्छ । मोजा र जुराफ पनि नरम, ठूलो र धेरै नकस्सिने पिँडुलासम्म पुग्ने खालको आरामदायी हुन्छ । सरिरलाई सुबिधायुक्त अवस्थामा राख्न बेलाबेला फाप्ने औषध तेलको मालिस दुख्ने भाग र अन्यत्र पनि गर्नु फाईदा होला । निश्चित समयको बिज्ञद्धारा शारिरिक व्यायाम सहितको सियो घोचाई (अकुपञ्चर वा अकुप्रेसर) र सारिरीक चिकित्सा (फिजीओथेरापी) गराउँदा हिँडडुल सहज होला । कतिपय बाथ निको नहुने खालका छन् र जीवनभर रहन्छन् भने दैनिक क्रियाकलाप सजिलो त बनाउन प¥यो नि, कति ठस ठस र अईया आत्थुगरेर बस्नु ?

 

नेपालमा स्थीति :
सबै उमेर समुहमा बाथ रोगको सम्भावना भएपनि प्राय पाको उमेर लाग्दै गर्दा नेपालमा बाथका समस्या भनेको सुनिन्छ। नेपालमा बिशेषगरि युरिक एसिड, हाडेबाथ र रेमाटिडबाथका समस्याले पिडित बिरामीहरू बढि प्रकाशमा आएका छन् ।

 

खाईकुफत र आन्तरिक जैबिक प्रक्रिया बिग्रीएर रगतमा जम्माहुन जाने युरिक एसिडको समस्याले हुने बाथ छँदैछ तर धेरै चिकित्सकहरूको भनाईमा पाका मान्छेमा अरु उमेरसमुहमा भन्दा बढिनै हाडेबाथका रोगीहरू छन् । यसलाई बर्गिकरण गर्दा जोर्नी खिइने आपद, खियाउने बाथ र च्यात्ने जोडने बाथ भनेर सामान्य भाषामा भन्दछन् । यो रोग यति सामान्य भएको छ कि सिकारु र दक्ष बाथबिज्ञले हफ्तामा सैयौँ यस किसिमका रोगीको उपचारमा सँलग्न हुनुपर्छ । बाथ सम्बन्धि चिकित्सकले कुनै उच्च प्रबिधि र साधन बिनानै सजिलै यो रोग पत्ता लगाउँछन ।

 

जोर्नीमा समस्या र खिईन सुरु भएको छ भने उमेर बढदै जाँदा यो क्रम अझ बढदै जान थाल्छ, त्यसैले हाडेबाथ भएका बयस्कले पाको उमेरतिर लाग्दा बेलैमा उपचार गराउनु बेस हुन्छ । पाका मान्छेको त सरिरमा जैबिक प्रक्रिया नै निर्माण हुनेभन्दा घटने, खिईने र नोक्सानहुने तिर उन्मुख हुन्छ तथा जोर्नीहरूको समस्या बढि हुन्छ । घुँडा खिईएर पाङ्ग्रा बिग्रने, जोर्नी खिईएर टुसोजस्तो देखिने, अछन्द्याईलो बुढ्यौली मासुले सरिरको तौलले कम्मर, फिला, गोडाका हाडमा असर परेको हुन्छ । त्यसमाथि कैयौँ वर्षदेखिको अस्वस्थ्यकर हिँडाई, बसाई र जीउको ढाँचाले पनि जोर्नीहरू खासगरी कुम, ढाड र कम्मर मात्र होईन, गोलीगाँठा, कुर्कुच्चा र पैतालाको भित्रीभाग समेत अस्वस्थ्यकर भएको हुन्छ । हाडेबाथ बँशानुगत, महिलाजन्य, लगातार जोर्नी चलाउनुपर्ने पेशामा भएकालाई पनि हुने सम्भावना बढि हुन्छ । 

 

बिस्तृत कारणहरू :
बँशानुगत : बँशानुगत हिसाबले कसैकसैमा कुडकुडे हाड बनाउने बँशाणुनै पैत्रिक हिसाबले अभाव रहेको हुन्छ । यसले जन्मदा भएका कुडकुडे हाड मर्मतसम्भार गर्न र नयाँ उत्पादन गर्न सक्तैनन् तथा जोर्नीलाई कमजोर बनाउन मात्र लागिपर्छन् । जन्मदै जोर्नी कमजोर वा बिग्रेकाहरूमा हाडेबाथ हुने सम्भावना अझ बढि हुन्छ । त्यस्तै कुम, घाँटी, ढाड र मेरुदण्डको हाडको आकार असामान्य र कमजोर भएका बच्चाहरूमा त्यसै ठाउँमा बाथ हुने सम्भावना बयस्कहुँदै जाँदा हुन्छ भने पाको उमेरमा झन दुखदिन सक्छ ।


मोटोपनः मोटोपन अरु रोगजस्तै बाथ रोगको पनि अप्रत्यक्ष कारण बनेको पाईन्छ । सरिरको उचाई र आन्तरिक उर्जा अनुपातमा सरिरको मोटोपन भए आँतले थाम्नसक्छ र स्वस्थ्य रहन सकिन्छ । त्यसको बिपरित अति मोटो भएमा आफ्नै सरिरको तौलले ज्यान धान्ने घुँडा, कुम, ढाडको जोर्नीमा बल परेर खिईने, बिग्रने भएर बाथको सुरुवात हुने सम्भावना बढाउँछ । सरिरमा आवस्यक तौल कायम राखेमा र बढितौल घटाएमा हाडेबाथको नोक्सानी र दुखबाट छुटकारा पाउन वा घटाउन सजिलो हुन्छ ।

 

चोटपटकः जोर्नी वा हाडको टुप्पोमा हुने चोटपटकले लामो समय दुख दिएमा हाडेबाथ हुनसक्छ । घुँडामा वा नजिकै चोटपटक लागेका  खेलाडीहरूको घुँडाको हाडेबाथ उमेर ढल्कँदै जाँदा परन्तुमा भएको देखिएको छ । त्यस्तै रुखबाट लडेका, हिँडदाहिँडदै पाहा झैँ उत्तानो पछारिएर ढाडमा चोटपटक लागेका, दुर्घटनामा हाडहरूमा चोटलागी लामो समय बिरामी परेकामा आन्तरिक धनु बलियो नभए हाडेबाथ हुने सम्भावना उच्च हुन्छ । यस्तोबाहेक, लगातार जोर्नीमा दखलपर्ने एकै किसिमको काम गर्ने र गरिरहने पेशामा भएका मानिसमा पनि हाडेबाथको सम्भावना बढि हुन्छ । नेपालमा भारीबोकेर उकालीओराली धेरै गर्नेका घुँडा र ढाड बिग्रन्छन् भनेको पनि अनुभवकै आधारमा होला ।

 

अन्त्यमा,
हिजोआज बिकासीत र पैसाको पउलभएको नाममा खानपानमा जीब्रोलाई स्वादिष्ट तर शरिरलाई गरिष्ट बस्तुको सेवन बढि, श्रमगर्ने त गरिब मान्छे भन्ने नाममा बसिबसी खान खोज्ने प्रबृत्ति भारी छ । जस्तोसुकै अवसरमा पनि सरिरलाई फाप्ने र सुहाउने खानेकुरा सेवनगर्नु बुध्दिमानी हो, आँतले माग्यो वा एकफेरलाई के होला र नभनौँ, विष धेरै मात्रामा चाहिन्न नि ! ‘जिब्राको बश पर्नु हुँदैन भन्ने माछाबाट सिकेँ’ भन्ने भनाई गम्भिरतापूर्वक मनन् गरौँ । उही रोगलाई मान्छेपिच्छे एकै खानेकुराले राम्रो नराम्रो गर्न सक्छ र शरिरले कस्तो प्रतिक्रिया देखाउँछ बिचारेर सेवनगनुृ बुध्दिमानी हो । शारिरीक प्रर्याप्त कसरत नगर्ने, मनपर्छ भन्ने नाममा मनलागेको तरिकाको बसाई, हिँडाई र दौडधुप गर्ने पनि गरिन्छ । बहादुरी देखाउन खतरनाक काम र खेल खेल्न तम्सीने, पैसानै सबथोक भन्ने पतित बिचारले घोटिएर लामो समय कामगरी कमाउने बर्ग पनि छ । त्यस्ता कारणसहित युवा र बयस्क हुँदा देखिनै पाको उमेरमा हुने अप्ठ्याराहरूलाई पूर्वानुमान गरी सचेत नहुनाले बाथ रोगका समस्या बढि देखिएका छन् ।

 

चिकित्सकले बिरामीको एकिकृत अध्ययन, सूचना बिनै कुनै जमानामा पत्तो लागेको बिधि र उपचार पद्दतीले तपाइँको बाथ निको नहुन सक्छ । त्यसैले हरेक मसिना प्रभावपार्ने खानपान, शरिरको फापअफाप र बँशानुगत कुरालाई ध्यानमा राखेर उपचारगर्न गराउनु समस्या तह लगाउनु हो । अहिलेका पाका मान्छेले त थाहा पाई नपाई आफ्ना हाड घोटे जानी नजानी रोग निम्त्याए अबकाले त पथपरहेज गरी उपचारको व्यवस्था भएकाले बेलैमा सजग हुनु आवश्यक छ ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार