• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

बिराटनगरबाट ‘मानवताको लागि संगीत’को भब्य सुरुवात

बिराटनगर । दुइ दसकअघि ‘शान्तिको लागि शिक्षा’ अभियानको क्रममा कार्यक्रम गरेको बिराटनगरबाटै लोकरक ब्याण्ड नेपथ्यले ‘मानवताको लागि संगीत’अभियानको भब्य सुरुवात गरेको छ । अभियानको पहिलो ध्वनी शुक्रबार बेलुकी यहाँस्थित हाटखोला मैदानमा फैलिँदा हजारौं दर्शकहरुको उत्साह मिश्रित आवाजले रंगेली जोड्ने सडक वरपरका सिंगो भेग गुञ्जायमान भएको थियो ।

 

अघिल्ला कन्सर्टहरुभन्दा बेग्लै यसपाला नेपथ्यले पहिलो गीतै ‘भेँडाको ऊनजस्तो’ प्रस्तुत ग¥यो । गाउनुअघिको धुनमा परिमार्जनसहित केहि नयाँपन दिएर सुरुगरिएको उक्त गीतदेखि नै सुरुभएको दर्शकहरुमा तीब्र तापक्रम कन्सर्टको अन्तिमसम्मै जारी देखिन्थ्यो । दर्शकहरुमा सुरुदेखि जागेको तापक्रमलाई निरन्तरता दिनकै निम्ति दोश्रो गीतमा ‘छेक्यो छेक्यो’, तेश्रो ‘लामपाते सुरती’ र त्यसपछि पनि ‘चरि म¥यो’ र ‘जोमसोमे बजारमा’ जस्ता गीतहरुको निरन्तरतासाथ अघि बढाइएको थियो ।

 

कार्यक्रम अवधिभर गायक अमृत गुरुङले बारंबार मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए । ब्याण्डको पुरानो गीत ‘यो जिन्दगानी’लाई आश्रममा आश्रितहरुको तस्बिर सहितका दृश्यहरुबाट प्रस्तुत गरिएको थियो ।
‘अर्को जुनी छ कि छैन थाहा छैन,’ उनी भनिरहेका थिए, ‘पुण्य कमाउने हो भने यसै जुनीमा र आजैबाट दान गर्न सुरु गरौं ।’गायक गुरुङले चुनावपछि फेरि समाजमा एकताको आव्हान गर्दै त्यसले नै स्थिरता र विकास दिने तर्क पनि राखेका थिए ।


संगीतका साथै मानवता प्रवद्र्धनकालागि नेपथ्यको यो कन्सर्ट बिराटनगरमा सफलताका साथ सम्पन्न भएको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताएका छन् । यसका निम्ति उनले सबै सहयोगीलाई धन्यवाद ब्यक्त गरे ।


‘बिराटनगरको कन्सर्टमा भब्य उपस्थितीले मनोरञ्जन र परोपकार दुवैमा सरिक हुनचाहने यस सहरका सहृदयीहरुको पहिचान पनि स्थापित गरेको छ,’ अधिकारीले थपे, ‘यसैगरि मुलुकका अन्य भागमा निरन्तर चल्ने कन्सर्टहरुलाई पनि त्यहाँका मानवताप्रेमी श्रोता दर्शकहरुले सफल बनाउने विश्वास लिएको छु ।’

 

बिराटनगरको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली पाँचवटा ट्रक, दुइवटा बस र केहि साना सवारीमार्फत् वीरगन्जतर्फ प्रस्थान गरेको छ । मानवसेवा आश्रमकै आयोजनामा त्यहाँस्थित आदर्शनगर रंगशालामा नेपथ्य मंसिर १९ गते सोमबार प्रस्तुत हुँदैछ ।

तस्बिर दिपित राज

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार