• शनिबार १०-२१-२०७९/Saturday 02-04-2023
खेलकुद

विश्वकप फुटबलको सेरोफेरोमा नेपाल

विगत ४–५ वर्षदेखि कतारको राजधानी दोहामा अरब राष्ट्रहरूमै पहिलो पटक विश्वकप फुटबल प्रतियोगिताको आयोजना गर्नको निम्ति तयारी भइरहेको थियो । यो कार्यमा हजारौँ नेपालीले पनि आफ्नो श्रम र शिप प्रयोग गर्ने अवसर पाएका थिए । नेपाली श्रमिकलाई कतारमा निकै इमान्दार मानिसहरूको रूपमा हेरिए पनि त्यहाँ गएका लाखौँ श्रमिक मध्ये धेरैजसो अदक्ष श्रमिक नै छन् ।

 

केही अति दक्ष प्राविधिक जस्तै चिकित्सक, इन्जिनियर तथा व्यावसायीक व्यक्तिहरूलाई छाडेर हेर्दा अति कम दक्ष जनशक्तिले मात्र राम्रो आयमुलक रोजगारी पाएका छन् । तर पनि त्यहाँका हाल निर्मित रंगशालाहरू बनाउँदा तथा विमानस्थल र अन्य स्थानहरूमा भने हजारौँ नेपाली श्रमिकको श्रम पक्कै परेको छ । अति उष्ण मौषम भएको अरब राष्ट्रमा विश्वका निकै चर्चित तथा उच्चकोटीका खेलाडीहरूले उत्कृष्ठ खेल प्रदर्शन गर्न सकुन् तथा विश्वभरबाट फुटबलको कुम्भमेलामा आउने दर्शकहरूलाई पनि गर्मीले शिथिल नबनाओस् भन्ने हेतुले कतार सरकारले त्यहाँ प्रतियोगिता हुने सबै खेल मैदानहरूलाई ठूलो धन खर्चेर वातानुकुलीत र हराभरा बनाएको छ । हाल कतारमा भइरहेको विश्वकप फुटबल प्रतियोगिता पहिलो पटक जाडो मौषममा आयोजना गरिएको हो, किनकी अरब क्षेत्रमा गिष्मकालमा अति नै गर्मीका कारण खेलका सबै पक्षको व्यवस्थापन गर्न निक्कै गाह्रो हुन जान्छ । 

 

विश्वमा खेलिने प्रख्यात खेलहरूमध्ये सबैभन्दा लोकप्रिय खेल फुटबल नै हो । दक्षिण एशियामा क्रिकेटले आफ्नै विशिष्ट स्थान जमाएको भएता पनि  फुटबल नै सबैभन्दा लोकप्रिय खेल हो । हिजोआज विश्वकपको बेलामा प्रत्यक्ष प्रसारण मार्फत घर, कार्यालय वा अन्य सार्वजनिक स्थानमा मात्र होइन, विभिन्न रेष्टुरेन्टमा समेत खानपिनको मज्जा लिँदै ठूला ठूला समुहमा बसेर ठूला स्क्रिनमा खेल हेर्ने र विभिन्न प्रकारका बाजी समेत खेल्ने गरिन्छ । विश्वकप फुटबलको आनन्द लिन बालक, वयस्क, अधवैँशे वा वृद्धवृद्धा सबै थरी उत्तिकै उत्साहित हुने गरेका छन् । दोस्रो विश्वयुद्ध, विभिन्न प्रकारका महामारी, शितयुद्ध आदिका बाबजुद फिफाले विश्वकपको आयोजना सन् 1942 र 1946 वाहेक नियमित रूपमा गर्दै आएको छ । 

 

बेलायतबाट शुरु भएको फुटबल खेलको पहिलो आधिकारिक प्रतिस्पर्धा बेलायतका ग्लास्गो टीम र स्कटल्याण्ड टीमका बीच सन् १८७२ मा भएको थियो । पछि बेलायत बाहिर बेलायतकै उपनिवेशहरूमा सर्वप्रथम परिचित गराइएको फुटबल बिस्तारै युरोपका अन्य देश र दक्षिण अमेरिकामा पनि खेलिन थाल्यो । सन् १९०२ मा उरुग्वे र अर्जेन्टिनाले पनि एकापसमा फुटबल प्रतिस्पर्धा गरेका थिए ।

 

फुटबलको लोकप्रियतासँगै सन् १९०० देखि यो खेल ग्रिष्म ओलम्पिकमा पनि समावेश भयो । फिफाले आफ्नो स्थापना कालको २ वर्ष पछि यानी १९०६ तिर नै ओपम्पिक बाहिर पनि वृहत् अन्तर्राष्ट्रिय प्रतियोतिगा सञ्चालन गर्न चाहेको थियो तर यो खेल ओलम्पिकमा नै सिमित भइरह्यो । पछि सन् १९३० देखि भने फिफा विश्वकपको प्रारम्भ हुन गयो ।     

 

यस पटक नेपालको हालको चुनावमा अप्रत्याशित परिणाम आएर सबै छक्क परेको जस्तै विश्वकपको हालको प्रारम्भिक राउण्डमा बडा बडा मुलुकहरू भर्खरका नवप्रवेशी र कम क्षमतावान मुलुकहरूसँग पराजित भएका घटनाले खेलप्रमीहरूमा सन्सनी मच्चिएको छ । खेलमा बाजी खेल्नेहरूलाई पनि कसको पक्षमा बाजी राख्ने भन्ने कुराले हम्मे हम्मे पारेको छ । तर आखिर अन्तिम राउण्डमा भने शायद पुराना र उत्कृष्ट खेल प्रदर्शन गर्ने फुटबलका रैथाने मुलुक नै अगाडी आउलान् ।

 

हाल कतारमा हुँदै गरेको फिफा विश्वकप फुटबल प्रतियोगिताको २२औँ संस्करण हो । फुटबल खेललाई विश्वव्यापी, प्रख्यात र प्रजातान्त्रिक बनाउने उद्देश्यले सन् १९०४ मे २२ मा फ्रान्सको राजधानी पेरिसमा स्थापना भएको फेडेरेशन इन्टरनेशनल डे फुटबल एसोसिएशन (फिफा)ले प्रथम विश्वकपको आयोजना सन् १९३० मा उरुग्वेमा १३ टीमको अन्तिम प्रतिस्पर्धा गराएको थियो । त्यतिबेलाको हिसाबले दक्षिण अमेरिकामा अवस्थित उरुग्वे यातायातको दृष्टिले अति विकट भएकोले सो विश्वकपमा युरोपबाट ४ टीम, उत्तरी अमेरिकाबाट २ टीम र दक्षिणी अमेरिकाबाट ७ टीमले भाग लिएका थिए । प्रथम विश्वकपमा उरुग्वेले अर्जेन्टीनालाई ४–२ ले पराजित गरेर विश्वकपको प्रथम विजेता बन्न सफल भएको थियो । सन् १९३४ को दोश्रो विश्वकपमा इजिप्टले भाग लिएर उ विश्वकपमा खेल्ने पहिलो अफ्रिकी मुलुक हुन गयो ।

 

फुटबल खेलको लोकप्रियता बढ्दै गएपछि यसका नियमहरू पनि क्रमिक रूपमा परिमार्जन गर्दै, यो खेललाई विश्वव्यापी रूपमा अघि बढाउँदै हालका दिनहरूमा २ वर्ष लगाएर प्रारम्भिक खेलहरू खेलाए पश्चात विश्वभरका २०० टीमबाट प्रतिस्पर्धाकै आधारमा छानेर ३२ टीमलाई अन्तिम चरणमा खेल्ने अवसर फिफाले दिलाउँदै आएको छ । 

 

सन् १९३० मा विश्वकप कै इतिहासमा पहिलो गोल गर्ने व्यक्ति फ्रान्सका लुसियन लौरेन्ट हुन गए भने सोही विश्वकपमा अमेरिकाका बर्ट प्याटेनौडले पहिलो ह्याट्रीक गरे । त्यस्तै सन् १९३८ को विश्वकपमा पोल्याण्डका खेलाडी अर्नेष्ट विलिमोवोस्की विश्वकपमा लगातार ४ गोल गर्ने पहिलो व्यक्ति हुन पुगे ।सन् १९५० मा ब्राजिलमा आयोजित विश्वकपको फाइनल खेलमा २००,००० दर्शक खेल हेर्न स्टेडियममा पुगेर रेकर्ड नै बनाएका थिए । सन् १९९४ मा विश्वकपको पुरा एपिसोड हेर्न रंगशाला जाने दर्शकको संख्या ३६ लाख पुग्यो ।

 

चिलिमा आयोजित सन् १९६२ को विश्वकपमा कोलम्बियाका खेलाडी मार्कोस कोलले पेनाल्टी सटलाई सिधै गोलमा परिणत गरिदिएका थिए । यस्तो अद्भूत गोल त्यसपछि आजसम्म कसैले गर्न सकेको छैन । सन् १९६६ को विश्वकपको फाइनल खेलमा बेलायती फुटबलर जियोफ्री चाल्र्स हस्र्टले लगातार ३ गोलका साथ ह्याट्रीक गरेर पश्चिम जर्मनी विरुद्धको फाइनल खेलमा बेलायतलाई जिताए । यो नै आजसम्मको विश्वकप फुटबलको रेकर्ड हो । सन् १९६६ को विश्वकपमा उत्तर कोरिया क्वार्टर फाइनलमा पुग्ने पहिलो एशियाली टीम हुन पुग्यो । 

 

सन् १९७० मा ब्राजिल ३ वटा विश्वकप जित्ने पहिलो मुलुक हुन पुग्यो । सन् १९७८ देखि एशियाको अर्को मुलुक ईरानको विश्वकप यात्राको शुरुवात भयो ।  तर १९७८ देखि विश्वकपमा भाग लिएको भएता पनि ईरानले यस खेलमा खासै प्रगति भने गर्न सकेको छैन । सन् १९८६ को विश्वकपको आयोजना गर्न पाएको मेक्सिको २ वटा विश्वकप आयोजना गर्ने पहिलो मुलुक हुन गयो । यही विश्वकपमा डिएगो म्याराडोनाले अर्जेन्टिना र बेलायत बीचको खेलमा गरेका दुई गोल निक्कै चर्चित हुन पुगे । एउटा गोल हान्दा उनको ह्याण्ड भएको चर्चाले ख्याती पायो भने अर्को गोल उनले मैदानको आधा भाग देखि विपक्षीका ५ जना खेलाडीलाई छक्याउँदै गरेको कारण । यो गोललाई शताब्दिकै महत्वपूर्ण गोल यानी गोल अफ त सेन्चुरीको रूपमा लिइयो । 

 

सन् १९९० को विश्वकपमा नवप्रवेशी क्यामेरुनले निक्कै प्रशंसनीय खेल खेल्नुका साथै अर्जेन्टिनालाई हराएर क्वार्टर फाइनल सम्म पुग्न सफल भयो । क्यामेरुनको खेलाडी रोजर मिलरले विश्व प्रसिद्ध हुने मौका पनि यस पछि पाए । सन् १९९४ को विश्वकपको एउटै खेलमा रुसका खेलाडी ओलेग सालेन्कोले क्यामेरोन विरुद्ध ५ गोल गरेर रेकर्ड बनाए । तर पनि उत्तिनै गोल गरेको आधारमा गोल्डेन बुट भने उनी र हृस्टो स्टोइच्कोभले साझा रूपमा पाए । सन् १९९६ को विश्वकपको बीच तिर डिएगो म्याराडोना कोकिनको लतले गर्दा खेलबाट निश्कासित भए । सन् १९९८ को विश्वकप प्रारम्भिक छनौट खेलमा ईरानले माल्दिभ्सलाई १७ गोलले पराजित गरेको थियो भने सन् २००२ मा अष्ट्रेलियाले अमरिकन सामोेआलाई ३१ गोलले पराजित गरेको थियो । 

 

सन् २००२ मा दक्षिण कोरिया र जापानमा भएको विश्वकप एशियामा आयोजित प्रथम विश्वकप प्रतियोगिता थियो भने सन् २०१० मा पहिलो पटक कुनै अफ्रिकी मुलुक (दक्षिण अफ्रिका)मा आयोजित भएको थियो । अष्ट्रेलियामा भने पहिलो पटक सन् १९५६ मा विश्वकपको आयोजना भएको थियो ।त्यस्तै पूर्वी युरोपमा पहिलो पटक विश्वकप रुसमा सन् २०१८ मा आयोजना भएको थियो । यहीँबाट पहिलो पटक भिडिया असिस्टेन्ट रेफ्री (भिएआर) को शुरुवात भएको थियो ।

 

हाम्रो बाल्यावस्थामा विश्वकप प्रत्यक्ष हेर्ने अवसर नहुने भएता पनि त्यतिबेलाका खासगरी दक्षिण एशियाली मुलुकहरूका साथै यदाकदा विदेशी टीम नेपालमा आएर आफ्नो खेलको प्रदर्शन गर्दथे र त्यस्तो बेलामा दशरथ रंगशाला भरिभराउ हुने गर्दथ्यो । भुटानको राष्ट्रिय टीम, भारतको मोहनबगान र अन्य टीम, पाकिस्तानी टीम, नेपालको महावीर, आरसीटी, एनआरटी, जावलाखेल युथ, मनाङ–मस्र्याङ्दी आदि र प्रहरी र सेनाका टीम निकै प्रख्यात थिए ।

 

विश्वमा फुटबल भन्ने वित्तिकै दक्षिण अमेरिका र युरोपको नाम सबैभन्दा अगाडि आउनुको मुख्य कारण ती महादेशहरूमा प्रत्येक मुलुकभित्र धेरै फुटबल क्लबहरू हुनु र विभिन्न क्लबहरू बीच नियमित प्रतिस्पर्धा भइरहनु पनि हो । यसो हुनाले ती मुलुकहरूले आफ्ना नागरिकहरू बीच उच्च फुटबल संस्कृतिको नै विकास गरिसकेका छन् । यसो हुनाले त्यहाँका खेलाडीहरूको जीवनस्तर पनि खेलबाटै उक्सिएर कैयन् खेलाडी त अर्बपति नै हुन सकेका छन् । एशियामा इरान, कोरिया, जापान, केही अरब मुलुकहरू फुटबलमा निक्कै अगाडी बढेका भएपनि तिनीहरू युरोप र दक्षिण अमेरिका जस्ता हुन सकेका छैनन् । यस्तो अवस्थामा नेपाल, भारत वा अन्य दक्षिण एशियाली राष्ट्रहरूले अभैm बढी मेहनत गर्नुपर्ने देखिन्छ ।

 

सन् १९९२ को जुलाई र सेप्टेम्बरमा क्रमशः थाई र पाकिस्तान एयरलाइन्सको विमान काठमाडौँ नजिक दुर्घटनाग्रस्त हुँदा नेपालका रुपक शर्मा लगायत अति उच्च कोटीका फुटबल खेलाडी तथा अधिकांश नेपाली फिफा रेफ्री र लाइन्सम्यानहरूको मृत्यु भएको थियो । नेपालको फुटबल खेलको इतिहासमा यो एक अति नै दुखदायी घटना हुन गयो । त्यस्तै सन् १९९८ मा दशरथ रंगशालामा त्रिभुवन च्यालेन्ज शिल्ड अन्तर्गत जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्ति जोधा क्लब बीच भएको फाइनल खेल हेर्न गएका हजारौँ खेल प्रेमीहरू हुरी–बतासले गर्दा अत्तालिएर रंगशालाका बन्द ढोकाहरूबाट बाहिर भाग्न खोज्दा भिडले किचिएर ७० जनाको मृत्यु हुनुका साथै सयौँ जना घाइते भएका थिए ।

 

आजभन्दा ३० वर्षअघिसम्म पनि रेडियो सुनेर र टाइम, न्युजविक तथा अन्य विदेशी पत्रपत्रिकाहरूमा छापिएका फोटो र समाचार हेरेर नेपालीहरूले विश्वकपको मज्जा लिने गरेका थिए । प्रतियोगिता पश्चात भने सकिएको खेलका डकुमेन्ट्री हेर्नेसम्मको अवसर हामीले यदाकदा पाउँथ्यौँ । तर आज आएर त विद्युतीय सञ्चार माध्यमको जमाना आएकोले नेपालमा मात्र होइन, विश्वका प्रत्येक कुनामा भएका खेलप्रेमीले आफ्ना मोवाइलमा र घर तथा अन्य ठाउँहरूमा जडित टेलिभिजिन र ठूला ठूला स्क्रिनहरुमा विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण हेर्न पाउँछन् । सन् १९५४ मा स्विट्जल्याण्डमा भएको विश्वकपलाई पहिलो पटक टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो तर त्यतिबेला स्याटलाइट प्रविधि नभएकोले त्यस्तो प्रत्यक्ष प्रशारण सिमित क्षेत्रमा मात्र हेर्न सकिन्थ्यो । समयको हिसाबले कतार हामीभन्दा केही घण्टा पछाडि भएकोले यसपटकका प्रायःजसो खेलहरू नेपालमा दिउँसो र साँझमा नै हेर्न पाइएको छ । विगतका कैयन् विश्वकपहरू हेर्न मानिसहरू रात रात भर सुत्दैनथे ।

 

नेपालमा फुटबल खेलको थालनी आजभन्दा करिव ८०–८५ वर्ष पहिले भएको हो । त्यतिबेला लैनचौरस्थित बेलायती राजदूतावासका बेलायती कर्मचारीहरू त्यहाँ बनाइएको मैदानमा फुटबल खेल्ने गर्दथे । उनीहरूले भारदारी राणाजीका छोराहरूलाई पनि त्यहाँ खेल हेर्न र सिक्न बोलाउने गर्दथे । राणाजीका छोराहरूले कलकत्तातिर अध्ययनको निम्ति जाँदा त्यहाँका कलेजमा फुटबल सिक्ने र त्यहाँ विभिन्न क्लबहरू बीच हुने प्रतियोगिता पनि हेर्ने अवसर पाएका थिए । पछि सिंहदरवारभित्रको खाली मैदानमा नै राणाजीहरूले फुटबल मैदान बनाए । राजा त्रिभुवनका छोराहरू महेन्द्र, हिमालय र बसुन्धरा तथा नर शमशेर, बबरशमशेर, मृगेन्द्र शमशेर, महावीर शमशेर तथा अन्य राणाजी तथा सेनामा जागिरे अन्य युवाहरूपनि त्यहाँ फुटबल खेल्ने गर्दथे । राजा र प्रधानमन्त्रीको टीमबीच पनि फुटबल प्रतियोगिता भइरहन्थ्यो । पछि पञ्चायती व्यवस्था छँदा पनि प्रधानमन्त्री ११ र रापस ११ बीच बरोबर फुटबल प्रतियोगिता हुने गरेको थियो । राणाको दरबारबाट शुरु भएको फुटबल खेलमा पछि अच्युत खरेल, अनुप राणा, रुपक शर्मा, रूपाल राणा, वाई.बी.घले जस्ता दक्षिण एशियामा ख्याती कमाएका नेपाली खेलाडीहरू पनि निस्किएका थिए भने भारतमा समेत श्याम थापा जस्ता नेपाली मूलका खेलाडीले धुम मच्चाएका थिए ।

 

पछिल्लो समयमा गणेश थापा, राजु शाक्य, उपेन्द्रमान सिंह, बालगोपाल महर्जन, राजेश मानन्धर, कल्याण खड्गी, अनिल गुरुङ, सन्दिप राई, निरञ्जन रायमाझी, जमुना राई, हरि खड्का, बसन्त थापा, नरेश जोशी आदि ज्यादै उत्कृष्ठ खेलाडीहरू नेपालले पाएको थियो । आज आएर नयाँ पुस्ताका खेलाडीहरू अभैm जोशिला, जाँगरिला र निकै राम्रो खेल प्रदर्शन गर्ने खालका छन् ।

 

विश्वकै विख्यात फुटबलरहरूको नाम लिँदा सयौँ खेलाडी मध्ये लुसियन लौरेन्ट, बर्ट प्याटेनौड, मार्कोस कोल, पेले, लिभ इभानोविच यासिन (गोलरक्षक), जियोफ्री चाल्र्स हस्र्ट, गोर्डन ब्याङ्क्स (गोलरक्षक), फ्रान्ज बेकेन्बोर, हेरोल्ड सुमाकर (गोलरक्षक), डिएगो म्याराडोना, रोजर मिलर,, रोनाल्डो, जिनेदिन जिदाने, डेभिड बेकाम, लियोनेल मेस्सी, क्रिस्टीयानो रोनाल्डो, वेन रुनी, जाभी, नेयीमार आदि पनि पर्दछन् ।

 

नेपालले प्रथम पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएको सन् १९६३ मा आगा खान गोल्ड कपमा हो । नेपाल फिफासँग सन् १९७० मा आवद्ध भएको हो तथा सन् १९७२ मा नेपाल एशियन फुटबल फेडेरेशन (एएफसी)को पनि सदस्य भयो ।

 

नेपालमा अल नेपाल फुटबल एशोशिएसन (एन्फा)ले एन्फा एकेडेमी अन्तर्गत मुलुकका धेरै ठाउँहरूमा फुटबल तालिम र छनौट केन्द्रहरू स्थापना गरेर साना स्कूले बालबालिकहरूलाई बच्चैदेखि तालिम दिँदै कैयन् पुरुष तथा महिला खेलाडीहरू उत्पादन गरिसकेको छ । नेपालका महिला खेलाडीहरू पनि हिजो आज दक्षिण एशियामा निक्कै प्रतिस्पर्धात्मक खेल खेल्न सक्ने भइसकेका छन् । 

 

नेपालमा विगतमा त्रिभुवन च्यालेन्ज शिल्ड, महेन्द्र गोल्डकप, शहिद स्मारक लिग फुटबल प्रतियोगिता हरेक वर्ष आयोजना हुने गरेकोमा हाल राजाहरूका नामका सबै प्रतियोगिताहरू रद्द गरेर शहिद स्मारक लिग फुटबल प्रतियोगिता र राष्ट्रपतिकप तथा प्रधानमन्त्री कप र एन्फा कप फुटबल प्रतियोगिताहरू आयोजना गरिन्छन् । तर यी पनि नियमित छैनन् । बरू धरानमा आयोजना हुने बुढासुब्बा गोल्डकप र पोखरामा आयोजना हुने आहा गोल्डकप भने प्रत्येक वर्षको जाडो याममा खेलाइन्छन् र ती प्रतियोगिता हेर्न सबै उमेरका खेल प्रेमीहरूको भिड लाग्ने गर्दछ । बुढासुब्बा गोल्डकपको फाइनलको दिन त धरान रंगशाला बाहिर खानपिनका विभिन्न स्टल चलाएर मेला नै लाग्दछ । 

 

नेपाल लगायत दक्षिण एशियाली राष्ट्रहरूले आआफ्ना मुलुकमा विभिन्न प्रकारका नियमित आन्तरिक प्रतिस्पर्धा तथा तालिम गर्नुका साथै दक्षिण एशियाली फुटबल प्रतियोगिता समेत नियमित रूपमा आयोजना गर्दै आउनाले भविश्यमा हाम्रो सार्क क्षेत्र पनि फुटबलमा निक्कै अगाडी बढ्ने कुरामा कुनै शंका छैन ।

 

-लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर हुन् ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार