• सोमबार ८-१९-२०७९/Monday 12-05-2022
विचार

पाका मान्छेका कुरा र हाम्रो चुनाव !

भौतिक विकासका विभिन्न कालखण्डबाट समाज अघि बढदै जाँदा भावनात्मक संवेदनशीलता हराएकाले त्यस्ता मुलुकमा मानिसहरू कम्तीमा मानवीयता रहनुपर्छ भन्दै आवाज उठाउन थालेका छन् । जनबल चाहिने कृषिमा आधारित समाजिक प्रणालीबाट मानिसहरू यान्त्रीकिकरणले प्रभावित भएर एकल परिवार र कमाईको व्यक्तिवाद तिर अग्रसर भए । पछिल्लो कालमा ‘पूँजी वा आयआर्जनले नै जीवनमा सबथोक हुन्छ र आफ्नो कमाई किन अरुलाई’ भन्ने एकलकाँटे मान्यताले गाँज्न थालेको पाईन्छ । यस हुँडेलोमा आफुलाई हुर्काईबढाई गर्ने आजका पाका मान्छे आफ्नै सन्तान युवा वर्गका हेलाँहोचोमा पर्न थालेका छन् । पश्चिमाहरूको आफ्नै गतिको समाज विकास र राजनीतिक प्रणालीको मर्म नबुझेका नेपाल र तेस्रो विश्वका तन्नेरीहरू देखासिखी गर्दै आधारहिन तर्कका भरमा पाका मान्छे प्रति अनाशक्त भईरहेका छन् ।

 

शक्तिराष्ट्रका तथाकथित आधुनिक विकासले व्यक्तिबादी सोच मौलाएर सिमा नाघ्न थालेपछि मानवीय भावनामा तुषारापात हदैसम्म भए । त्यस परिस्थितिमा आफुभित्रनै भएको समुदाय बिचको बिभेद र छटपटाहटलाई अन्तरराष्ट्रियरुपमा नै भएको भन्दै मथ्थर पार्न खोजे । त्यसले नपुगेर बिभिन्न उमेरसमुह तथा मानव समुदाय तहका हकअधिकारका नीति र समझदारी भनेर सँयुक्त राष्ट्र सँघ जस्ता सँस्थाहरू मार्फत लागु गराउन थाले । यस्तै क्रममा सन १९९१ दिसेम्बर १६मा सँयुक्त राष्ट्र सँघको साधारण सभाले जीवनमा अझ उमेर थपेर बाँच्न ४६÷९१ प्रस्ताब पारित गरेर बुढ्यौली व्यक्तित्वका (ज्येष्ठ नागरिक)  सिध्दान्तहरू चार प्रकारका अठार बुँदामा अघि बढायो ।


सँयुक्त राष्ट्र सँघको सदस्य राष्ट्र भएकाले उसले पारितगरेको विभिन्न नीति निर्णय नेपालले मान्नुपर्ने र लागुगर्नु पनि पर्छ । त्यस्तै विभिन्न अन्तरराष्ट्रिय समझदारीलाई हस्ताक्षरकर्ता सदस्य राष्ट्रले आफ्नो देशको कानुनमा पनि तादात्म्यता गर्दछ । पाका मान्छेबारेमा नेपालले बिभिन्न क्रियाकलाप गरेर नियम कानुनमा पनि समावेश गर्ने प्रयाश गरेको देखिन्छ । तर के राष्ट्र सँघले गरेका निर्णय र स्विकार गरेका मान्यता अक्षरस पालना गर्न नेपाल बाध्य छ नि ! हेरौँत, सँयुक्त राष्ट्र सँघले अघिसारेका बुँदाहरू नेपालले अक्षरस पालना गरेको छ त ? के नेपालका राजनीतिक दलहरू र नेताहरू चुनाव आउँदा वा जनसभामा कहिले उल्लेख गर्छन् त ! के कुनै व्यक्ति र दलका घोषणा पत्र र प्रतिवद्धता पत्रमा अन्तरराष्ट्रिय निर्णयहरू कतै उल्लेख गरेर समाधान गछौँ भनेर उल्लेख गरेको पाउनु भएको छ ?
 
क. स्वतन्त्रताः
१) पाका मान्छेहरूलाई प्रयाप्त खाना, पानी, आवास, कपडा र स्वास्थ्य हेरबिचारको निर्बाध पहुँच आयआर्जनका स्रोतबाट, परिवार, समुदाय वा आफ्नै कमाईबाट हुनै पर्दछ ।

२) पाका मान्छेहरूलाई कामगर्न पाउने अवसर अथवा आयआर्जनगर्ने अन्य अवसर हुनै पर्दछ ।

३) पाका मान्छेहरूलाई कहिले र कुन दरमा कामबाट बिदा लिने भन्ने निर्णयमा आफैँ भागलिन पाउनुपर्छ ।

४) पाका मान्छेहरूलाई उपयुक्त शैक्षिक र तालिम कार्यक्रममा भागलिन पहुँच हुनै पर्दछ ।

५) पाका मान्छे शुरक्षित वातावरण र परिवर्तित सक्षमतामा नीजको स्वईच्छामा अनुकुल ठाउँमा बाँच्न पाउनुपर्छ ।

६) पाका मान्छेहरू सकेसम्म स्वबासी घरमानै बस्न पाउनुपर्छ ।


नोटः उपरोक्त छ वटा स्वतन्त्रता मध्ये के नेपालका सरकारले कहिल्यै लागुगर्ने कुरा गरेको छ ? नेता कार्यकर्ताले दलभित्रको वा देशभित्रको बालिग मतदानको बेला कहिल्यै कुरा उठाएका छन् ?

 

ख. सहभागिताः
७) पाका मान्छेहरू समाजमा एकिकृतरुपमा रहनु पर्छ । उहाँहरूको हितमा प्रभाव पार्ने हरेक नीति निर्माणको तर्जुमा र लागु गराउँदा सक्रियतापूर्वक भागलिन पाउनुपर्छ साथै युवा पुस्तालाई ज्ञान र सिप हस्तान्तरण गर्ने अनुकुल बनाईनुपर्छ ।

८) पाका मान्छेहरूलाई सामुदायीक सेवामा बोल्न र कामगर्ने वातावरण विकास गरिनुपर्छ । अनुकुल भएकाले आफ्ना चाख र क्षमताका आधारमा स्वंयसेवा गर्ने अवसर दिईनु पर्छ ।

९) पाका मान्छेहरूले आन्दोलन र सङ्गठन बनाउन पाउनु पर्छ ।

१०) पाका मान्छेहरूले हरेक सामाजिक प्रणाली र साँस्कृतिक मान्यता अनुसार परिवार र समुदायबाट सँरक्षण पाउनु पर्छ ।


नोटः नेपालमा बहुदल पछि बनेको एउटा सरकारले ‘पैसो नै सबथोक हो’ भनेर बजारबादबाट प्रभावित भई उचित व्यवस्थापन बिना सुरुगरेको बृद्धभत्ताको च्याँखे पैसो अलिअलि बढाउने हल्लागर्नु बाहेक नेपालका राजनीतिक दलले थप कार्ययोजना र मान्यता केही भन्छन् त ? 

 

ग. हेरबिचारः
११) पाका मान्छेहरूका स्वास्थ्य अवस्थाको हेरबिचार गर्न पहुँच हुनैपर्छ वा भौतिक, मानसिक र भावानात्मक आनन्दी उच्चतम स्तरमा कायम राख्न र रोगीपनबाट बचाउन वा रोग पर सार्ने व्यवस्था हुनै पर्छ ।

१२) पाका मान्छेहरूलाई आफ्नो स्वतन्त्रता, सँरक्षण र हेरबिचारका लागि सामाजिक र कानुनी उपचारको पहुँच हुनै पर्दछ ।

१३) पाका मान्छहरू मानविय र सुरक्षित वातावरणमा भएका उपयुक्त स्तरका सँस्थागत सँरक्षण, पुर्नस्थापना प्रदानगर्ने सामुदायीक र मानसिक जागरण गराउने प्रतिष्ठानलाई उपयोगगर्न समर्थवान हुनुपर्छ ।

१४) पाका मान्छेका स्वअस्थित्व, आस्था, आवस्यक्ता र गोपनियताको पूर्ण आदर गर्दै आश्रम, हेरबिचार केन्द्र वा उपचार स्थलमा रहँदा आफ्नो मानव अधिकार, मौलिक स्वतन्त्रताको उपयोग गर्न पाउनुपर्छ भने आफ्नो हेरबिचार र जीवनस्तरको बारेमा निर्णयहरू गर्ने अधिकार पाउनै पर्छ ।


नोटः शारिरिक कमजोरी बढे पछि र नियमित आयआर्जनबाट बिमुख वा निबृत्त भएपछि पाका मान्छेले पाउने अर्घेल्याइँ बारे नेपालका अग्रगामी चेतनाका बाहक भनिएका समुह, दल र स्वतन्त्र भनिएका व्यक्तिबाट अधिकार स्थापनार्थ थप के कस्तो भएको छ र ?

 

घ. स्वनिर्भरताः
१५) पाका मान्छेहरूले आफ्ना क्षमताको पूर्ण विकासका लागि अवसरहरू पच्छ्याउन सक्ने खालको हुनै पर्छ ।

१६) पाका मान्छेहरूले समाजमा बिद्यमान शैक्षिक, साँस्कृतिक, आस्था र मनोरञ्जनका स्रोतहरूमा पहुँच हुनै पर्छ ।

१७) पाका मान्छेहरू आफ्नो अस्थित्वमा सुरक्षित बाँच्न पाउनु पर्छ तथा शोषण साथै सारिरीक वा मानसिक उत्पीडनका दुव्र्यवहारबाट मुक्त हुनै पर्छ ।

१८) पाका मान्छेहरूलाई उमेर, लिङ्ग, नश्लीय, जातिगत पृष्ठभूमि, अपाङ्गता वा अरुका आधारमा बिभेदरहित व्यवहार गरिनु पर्छ तथा उहाँहरूको गरेको आर्थिक योगदानको स्वतन्त्र मूल्याङ्कन हुनुपर्दछ । “मानिसहरू सँसारमा जन्मिसकेपछि केही कुरा दुनियाँका लागि थपेर योगदान गर्नैपर्छ । मानव जीवनको स्तरोन्नतिमा सहानुभूतिपूर्वक मानिसको गुणस्तर उन्नति गर्न सबै सँगसँगै काम गरेर मद्दत गरेमा मात्र बिद्यमान समस्याहरूको अतिउत्तम समाधान हुनसक्छ ।” 

 

नोटः कुनै मानसिक, शारिरिक यातना नदिई नेपालमा पाका मान्छेलाई आफ्नै आर्जन वा परिवारको स्नेहमा राखिने प्रावधान कसैले सामाजिक कर्तव्यको रुपमा उठाएको पाईन्छ र ?

 

किन सँयुक्त राष्ट्रसँघले त्यसो भन्यो ?
सँयुक्त राष्ट्रसँघमा १९९१ मा पारित सिध्दान्तहरू १९८२ मा अघि बढाएको उमेरिदाको अन्तरराष्ट्रिय कार्ययोजनामा आधारित छन् । पहिले देखिनै पाका मान्छेका ज्ञान र सिप निस्कृय बनाउन नहुनेबारेमा चासो बढेको थियो भने उहाँहरूलाई असहज बनाईदिने परिस्थिति भएपछि सँसारनै बोल्न बाध्य भयो । पाका मान्छेका हेरबिचारमा अघिल्लो युगसम्म परिवारका सदस्यहरू, आफन्तहरू र घनिष्ठ मित्रहरू सक्रिय भएको अवस्था थियो । सामाजिक विकासका विविधता, परम्परागत पारिवारीक आदर्शमा परिबर्तन, रैथाने कामबाट मानिसहरूका परदेशमा चलखेल, पारिबारीक सामाजिक मान्यतामासमेत बजारबादको प्रवेशभई हरेक सम्बन्धमा नाफानोक्सानको हिसाबले हेर्ने आदि कारणहरूले अहिले मानसका मानविय सम्बेदनशिलता फेरिएका छन् । त्यसैले विश्वासका आधारहरू परिवारभन्दा घरायसी कामदार, सामुदायीक सहयोगी कार्यकर्ता, नियमित परिचारिका सेवा र विभिन्न समुह तिर बढेका छन् । परिस्थितिको उपज अब बिस्तारै पाका मान्छेका हकअधिकार र दुव्र्यवहारको सन्दर्भ परिवारमा मात्र सिमित नभएर सार्बजनिक क्रियाकलापको अङ्ग बनिरहेको छ ।

 

चुनावी चर्चाः
नेपालमा २०७९ मा देशभरि नै अरु सरकारी कामकाज ठप्पजस्तै गरेर एक पटक स्थानिय निर्बाचन भयो र अर्को पटक हुँदैछ प्रदेश र प्रतिनिधि सभाको निर्वाचन । दुबै निर्वाचनमा उमेदवार र दलहरू सबैले आआफ्नो डम्फु कर्कश आवाजमा नै बजाए, एकिकृतरुपमा बिकास र सबै उमेरसमुहको हितमा कामगर्ने भनेको देखिएन । धेरैजसोको मौखिक कुरा त अर्कालाई नराम्रो भनि आफु राम्रो देखाउन मै बित्यो भने आफु किन राम्रो भन्नेतिर कतैबाट प्रष्टता आएन । डफ्फा र व्यक्तिका भनाई पुस्तिका काल्पनिक हवाई उडानजस्ता गर्न नसकिने वा अति आवस्यकभन्दा बाहिरका दन्त्यकथाका जस्ता देखिन्छन् ।

 

नेपालमा चुनावको रमझम बारम्बार आउनु अब त पाका मान्छेकालागि अनाकर्षण बन्दै गएको देखिन्छ । त्यसको कारण धेरै उमेदवार र विभिन्न उमेरसमुहका भएपनि पाका मान्छे बारेमा कम ध्यान दिएको देखिन्छ । अनौठो के छ भने हरेक डफ्फाका नेता हुन चाहीँ पाका मान्छे नै मरिहत्ये गर्छन्, चुनावमा आफ्नै पार्टीका उदयमान युवा कार्यकर्ता पाखा लाउँछन्। ठूला पदमै बसेका पनि आफ्नो डफ्फा चलाउनु भन्दा सरकारी सुविधा जिप्ट्याउन बिभिन्न तहका चुनावमा भाग लिन्छन् । कहिँकहिँ त केन्द्रीय तहका पाका नेता स्थानिय तहमा बढि फाईदा लिन सकिन्छ भनि उठने र जितहारमा देखिन्छन् । यसरी उमेरले पाका मान्छेको उपस्थिति बढदो छ हरेक क्षेत्रमा, तर आफ्नै उमेर समुहकालागि गरिनुपर्ने काम चैँ नास्ती, आश्वासन सम्म पनि दिन कञ्जुस्याईँ गरेको भोग्नु परिरहेछ ।

 

दलका अगुवा पाका मान्छेसमेत चुनावमा जीते सरकारी कोष र सुबिधा कुम्ल्याउन पाईन्छ भनि सकेसम्म उठनेगरेका देखिन्छन् । तर यी आफ्नै उमेरबैरी झैँ महिला, बालबालिका, युवा उमेरसमुह देखि भूगोलसम्मका हितका कुरा फलाक्नेले आफ्नै उमेरसमुहको हेक्का किन नराखेको होला ? बालबालिका बाहेक क्रियाशिल युवा समुह अध्ययन र आयआर्जनकालागि चाडबाडमा पनि रुँदैरुँदै बिदेशिएको त सबैले देखेभोगेकै हुन् । पछिल्लो बिदेश जानेको आँकडाले एक करोड हाराहारीमा युवा र बयस्क नेपाली मतदाता बाहिरीएको भनिन्छ भने नेपालको मतदातामा भर्खरका किशोरकिशोरी र पाका मान्छेनै बहुसङ्ख्यक हुन आउँछन् । आसन्न निर्वाचनको मतदाता सङ्ख्या र प्रतिशत हेर्दा पनि पाका मान्छेतिर तुलो गरुङ्गो नै छ है ।

 

मतदाताः
निर्बाचन आयोग र तथ्याङ्क बिभागको २०७९ सालको प्रक्ष्येपण र अनुमानमा १८ वर्ष माथिका कुल नेपाली मतदाता १,७९,८८,,५७० छन् । यसमा हालै बिदेशीयका पनि गणनामा छन् भने आवधिक वा केहि वर्षदेखि बिदेश गएका पनि समावेश भएकै छन् । नेपालमा भएका मात्र भन्ने कुनै तथ्य आँकडा भेटिन्न भने बिदेश गएका नेपालीहरूको अद्याबधिक आँकडा पनि छैन । यस परिस्थितिमा अनुमानित माथिकै आँकडामा भरपर्नु पर्ने हुन्छ ।

 

कुल मतदातामा अध्ययनकालागि र कामको खोजीमा बिदेशीने धेरैजसो बयस्कहरू २६ देखि ४० वर्षका उमेरसमुहमा ६५,०६,४६५ ३६.१७ प्रतिशत छन् तथा ४१ देखि ५० वर्ष उमेरसमुहका वयस्कहरू मतदाता ३१,५८,५२६ पुरुषमहिला १७.५६ प्रतिशत देखिन्छन् । अध्ययन र कामकालागि ५० देखि ६० भित्रका उमेरसमुहमा १४.९१ प्रतिशत अर्थार्त २६,८२,०६९ पाका बयस्क पनि बिभिन्न तरिकाले विदेशमै होलान् । त्यस परिस्थितिमा २६ देखि ६० वर्ष भित्रका उमेरसमुहमा रहेकालाई सकृय मतदातामा गन्ती नगर्दा पनि फरक नपर्ला ? सायद बिदेशीएका ९० लाखभन्दा बढि भनिएका अधिकाँस नेपाली यसै उमेरसमुहमा परेका होलान् ! स्थानिय निर्बाचनमा अत्यधिक मतदान हुने सरकारी आँकलनमा तुषारापात गर्दै त्यतिखेर बिद्यमान मतदाताको सङ्ख्यामा ६० प्रतिशत तलनै मतदान हुनुले पनि ४० प्रतिशत भन्दा बढी मतदाता कि नेपालमै रही चुनावप्रति निस्कृय कि देश बाहिर रहेको प्रष्टिन्छ ।

 

६० नाघेका पाका मान्छेहरू छोराबुहारी र छोरीज्वाइँको दयामा तेलभिसाको आग्रह वा सामाजिक बडप्पन देखाउन बढीमा छ महिना अस्थाई बिदेश बस्ने÷घुम्ने वा चुनाावताका नआईपूग्लान । अब हरेक बालिग मताधिकारको निर्बाचनमा भरपर्ने भनेको छुटफुट केहि नेपालभित्र नै रहेका बयस्कहरू,  १८ वर्ष देखि २५ वर्ष भित्रका १२.७५ प्रतिशत अर्थार्त २२,९४,०१९ मतदाता युवायुवती हुन भने ६० वर्षमाथिका पाका मान्छे १८.६० प्रतिशत अर्थार्त ३३,४७,४९१ ह्ुन् । अब नेपालमा रहेका बयस्कहरू निर्बाचन प्रति जागरुक भएर आए भोट हाल्ने निश्चित मतदाता ८३,२३,५७९ मात्र भएको स्थिति छ । यस अवस्थामा कुल मतदाताको १८.६० प्रतिशत भनिएका ६० वर्ष उमेर माथिका पाका मान्छेको मतदानमा सहभागि हुने हैसियत भनेको करिब ४०.२२ प्रतिशत हुन आउँछ ।

 

उम्मेदवार र दलका कुराः
नेपालमा बालिग मताधिकारको आधारमा चुनाव भईरहन्छ, अब चुनाबि मैदानमा उत्रने दल र व्यक्तिले मताधिकार भएका तथा देशमा बिद्यमान उमेर समुहलाई ख्याल राखेर सँयुक्त राष्ट्रसँघले उल्लेख गरेका कुरा त ल्याउनु प¥यो । त्यसमा पनि पाका मान्छेहरू चालिस प्रतिशत माथि हुँदा र उनिहरू प्रति सकारात्मक सोच राखेमा भोट पाउने सम्भावना अतिनै बढछ भन्ने कुरा बृध्दभत्ताको व्यवस्थागर्दा राजनीतिक अनास्था भएपनि त्यहि दललाई भोट दिएको घटना सबैलाई थाहा नै छ ।

 

अहिलेका चर्चामा रहेका केही दलका घोषणा र प्रतिबध्दता पत्रमा के भेटिन्छन् त ?
नेपाली काँग्रेसको १२ पाने ‘सङ्क्षिप्त सङ्कल्प’ पत्रमा पाका मान्छेलाई ‘६५ वर्ष माथिका सवैको निसूल्क विमा, ६५ वर्ष माथिका सवैलाइ ज्येष्ठ नागरिक भत्ता, ७३ वर्षमाथिका सवैलाइ निसूल्क उपचार गरिने व्यवस्था गरिने छ’ । त्यती मात्र हो र ! मृत्यु संस्कारकालागि मर्ने बिपन्न भन्ने प्रमाणीत भएमा ‘मृत्यु संस्कार गर्न खर्च रु. १०,००० स्थानीय तहको वडा मार्फत् घरमै पु¥याउने’ भनेको छ ।

 

नेकपा माओवादी केन्दको ८१ पानाको प्रतिबध्दता पत्रमा पाका मान्छेकालागि ‘जेष्ठ नागरिकहरूको उपचारकालागि विशिष्टीकृत अस्पताल निर्माण, १०० सैया माथिको अस्पतालमा ज्येष्ठ नागरिक युनिट स्थापना, जेष्ठ नागरिकको स्वास्थ्य सेवाकालागि घुम्ती शिविर तथा स्वास्थ्यकर्मीहरूलाई घरघरमा परिचालन, प्रत्येक पालिकामा खाने बस्ने र उपचारको पूर्ण सुविधायुक्त जेष्ठ नागरिक सेवा सदनको व्यवस्था, नियमित भत्तालाई आवश्यकता अनुसार वृद्धिगर्दै लगिने, समूहगत रूपमा जेष्ठ नागरिकले आयमूलक कामगर्न चाहेमा लागतको एक तिहाई राज्यबाट उपलब्ध गराइने, जेष्ठ नागरिकसँग रहेको ज्ञान, सिप, अनुभव र क्षमताको आधारमा कामको अवसर सृजना साथै त्यस्तो ज्ञान र सिपको पुस्तान्तरण गर्न विशेष कार्ययोजना कार्यान्वयन गरिने छ ।’ भनेको छ ।

 

नेकपा एमालेबाट धेरै अघि बृध्दभत्ता दिने सुरुवात गरेर पाका मान्छेको सहानुभूति बटुल्न सफल भए पनि अहिले ल्याएको ६९ पाने घोषणापत्रमा, ‘६० वर्ष माथिका नागरिकलाई उच्च रक्तचाप र मधुमेहको निःशुल्क परिक्षण तथा औषधि उपचार, आर्थिक बृद्धिका आधारमा ज्येष्ठ नागरिक भत्ता बढाइदै लगिने, ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई पोषणयुक्त आहारकोलागि थप सहायता, न.पा.को वडा र गाउँपालिकामा राज्य प्रबद्र्धित सुविधा सम्पन्न केयर होम सञ्चालन’ भनेर आफ्नो समृध्द नेपालः सुखी नेपालीको सपना पुरा गरेको छ ।

 

नेकपा मालेको ३६ पाने घोषणा पत्रमा पाका मान्छेबारेमा समाजसेवा सम्बन्धि नीति अन्तरगत, ‘ज्येष्ठ नागरिकहरूको अनुभवहरूलाई राष्ट्रहितमा लगाउने सम्बन्धमा विशेष नीति ल्याईने छ । बृध्दाश्रमको सुबिधा नलिने ६५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई आवस्यक मासिक भत्ताको प्रबन्ध गरिनुका साथै जीवनका सबै क्षेत्रमा ज्येष्ठ नागरिकहरूलाई आवस्यक सुबिधा उपलब्ध गराईने छ’ भनि पाका मान्छे प्रति आफ्नो भनाई ल्याएको छ ।
 

राष्ट्रिय प्रजातन्त्र पार्टीले छिटोछरितो भनि सानो पाँच पाने प्रतिबध्दता पत्रमा पाका मान्छेका सन्दर्भमा चार बुँदामा आफ्ना सम्लग्नता देखाएको छः ‘एकल तथा बिदुर र असहाय ज्येष्ठ नागरिकलाई स्याहारसुसार, हेरचाह र औषधि उपचारको व्यवस्था, देस भित्रको धार्मिक यात्रा निसूल्क, सवै प्रकारको सेवा घरदैलोमा, महिनाको एक पटक घरदैलोमा आधारभूत स्वास्थ्य प्रशिक्षणको व्यवस्था गरिनेछ ।’

 

अन्त्यमा,
नेपालको सामाजिक र आर्थिक अवस्थाअनुसार पाका मान्छे लक्षित कार्यान्वयन हुनसक्ने बिचार र कामको सिलसिलेवार फेहरिस्त ल्याएका भए बिद्यमान मतदाताको ४० प्रतिशत माथिरहेका पाका मान्छेको मत लिन पाउँथे । देशको मुहार फेर्न भनेर उर्लेर कराउनेले भोली जेगरे पनि आज पाका मान्छेबारे व्यवस्थित र कम्तीमा सँयुक्त राष्ट्र सँघले भनेका कुरा नै पुरा गर्छौँ भनि भनेका भए र केही मसिना लाग्ने पाका मान्छेका वडा तहका सुबिधाहरू जस्तो पाका मैत्री उद्यान, पैदल मार्ग र बाटोघाटोमा आरामस्थल बनाउँछौँ र घरघरमा भत्ता बितरणको चाँजो मिलाउँछौँ भनि बोलेका भए राम्रो हुन्थ्यो । अनाकर्षक कुराको पुलिन्दा पढेर र चुनाव स्थलको सास्ती भोगेका पाका मान्छे मतदान गर्नजाने दुख नगर्लान कि भन्ने डर कसरी हटाउने होला ?

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार