• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

नेपथ्यको ‘भट्भटे’ सार्वजनिक

काठमाडौं । संगीतले सबैखाले मनःस्थितीलाई सिर्जनाबाट अभिब्यक्त गरेको छ । उन्मुक्त भइ मोटरसाइकल हाँकिरहँदाको अवस्थालाई ‘रोड ट्रिप रक’ भन्दै पश्चिमाहरुले धेरै गीत दिएका छन् । नेपाली लोकरक ब्याण्ड नेपथ्यले पनि यसै परिवेशमा पहिलोपटक बनाएको गीत सार्वजनिक गरेको छ –
‘भटटट भटटट भट्भटे आयो
बाटो छोड् छोड् छोड्’


धुनबाट एउटा बेग्लै स्वाद र संवादको यो नयाँ प्रस्तुतीसँगै नेपथ्यको एउटा नयाँ श्रृंखलाको पनि सुरुवात भएको छ । अर्थात्, अब तीन दसक पुरानो यो ब्याण्डले आफ्ना श्रोताहरुमाझ एघारौं एल्बमको कोशेली प्रारम्भ गर्दैछ ।

 

छ वर्षअघि ब्याण्डले ‘कोशीको पानी यो जिन्दगानी’बाट दसौं एल्बमका गीतहरु सार्वजनिक गर्ने क्रम थालेको थियो । तिहारअघि ‘नैनताल’ गीतलाई उक्त एल्बमको अन्तिम तथा दसौं गीतका रुपमा ब्याण्डले सार्वजनिक ग¥यो । दसौं एल्बमका सबै गीतहरु छ वर्षअघि नै रेकर्ड भएता पनि पालैपालो गरेर सार्वजनिक गरिएको थियो ।

 

छ वर्षपछि पहिलोपटक रेकर्ड गरिएको यो ‘भटभटे’ गीत भने एघारौं एल्बमको पहिलो गीत बन्नपुगेको छ । यस सँगसँगै ब्याण्डमा नयाँ गीतहरु रेकर्डिङको प्रकृयाले पनि पुनः निरन्तरता पाएको छ । अघिल्लोजस्तै यस एघारौं एल्बममा पनि दसवटा गीत रहने छन् ।
यस गीतको एउटा अन्तराले भन्छ –
‘कुजिएका स्वरहरु एकत्रित भइजाऊ
मनदेखि मनसम्म
सडकदेखि सदनसम्म
एकत्रित भइजाऊ है भइजाऊ’
राजनीतिमा देखिएको अराजकता र विचारधाराको विसर्जनलाई सहि दिशामा ल्याउन अब सबै नेपाली एकत्रित हुनुपर्ने खाँचो यो शब्दले औंल्याएको छ ।

 

यस सिर्जनामा गीत र कवितालाई एकापसमा मिलाउने प्रयत्न गरिएको गायक एवं सर्जक अमृत गुरुङ बताउँछन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार