• सोमबार ८-१९-२०७९/Monday 12-05-2022
विचार

अब केवल याद मात्र !

मानिसको मष्तिस्कमा विगतमा घटेका राम्रानराम्रा सबै घटनाहरू रेकर्ड भएर बसेका हुन्छन् । तर केही घटना र विषय भने अक्सर सम्झनामा आइरहन्छन् । झनै केही मानिसको याद त दिनहुँ जसो आइरहन्छ र तिनको रिक्तता निक्कै नै खट्किन्छ । मेरो जीवनमा पनि कैयन् राम्रानराम्रा मानिसहरू आएगए र ती मध्ये केहीको सम्झना अझैं पनि बेला बेलामा आइरहन्छ । मलाई घात गर्ने मानिसहरूलाई पनि म सम्झिरहन्छु । कुनै बेला निक्कै राम्रो सम्बन्ध रहेका ती व्यक्तिसँग मेरो सम्बन्ध कसरी बिग्रन गयो, त्यसमा मेरो गल्ती के के थियो होला वा तिनको के कस्तो व्यवहारले हाम्रो सम्बन्ध बिग्रन गयो भन्ने कुरामा पनि म घोत्लिरहन्छु । मलाई ज्यादै नै दुख र पिडा दिएर सम्बन्ध बिग्रेका व्यक्तिहरूका पनि असलपक्षहरू सम्झँदा मलाई तिनीहरूका राम्रा आचरणले अझैं पनि आकर्षण गर्दछन् र म नराम्रा कुरा केही बेरलाई भएपनि बिर्सने प्रयत्न गर्दछु । आफ्नो गल्तीले गर्दा बिग्रेको सम्बन्धमा म आफैंलाई गाली गरिरहन्छु र अब उप्रान्त त्यस्ता गल्ती नदोहोर्‍याउने समेत प्रण गर्दछु ।

 

मेरा माता, पिता, भिनाजु,माहिला दाजु तथा धर्मपत्नी, बाजे–बज्यैहरू तथा काका–मामाहरू, केही भतिजाहरू र अन्य ज्यादै निकटतम नातागोताहरू जसलाई मैले आजको उमेरसम्ममा गुमाउनु पर्‍यो, उनिहरूको याद मलाई आइरहन्छ । यी निकटतम व्यक्तिहरू वाहेक पनि कैयन् गुरु–गुरुआमा, मनले खाएका समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, छरछिमेकका नजिकका व्यक्तिहरू र बाटामा अक्सर भेटिने असाधारण खालका तर अति नै साधारण व्यक्तिहरूको याद पनि आइरहन्छ । अल्पायुमा बितेका आफ्ना साथी–सङ्गीको त याद नआउने कुरै भएन । त्यस्तै साथीहरूमा मेरो कलेज जीवनदेखि चिनाजानी भएका मेरा अनन्य मित्र प्रमोद पाण्डे, मेरा भिनाजु रविराज पन्त र अर्का दाजुसरहको व्यक्ति डा. रुवनलाल श्रेष्ठको अल्पायुमा भएको हालैको निधनले मेरो मनमा निक्कै ठेस पुर्‍याएको छ ।

 

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र राजनीतिशास्त्रमा र वेलायतको म्यानचेष्टर विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर डिग्री हासिल गर्नुभएका मेरा आदरणीय भिनाजुलाई गत दशैँको शुरुवातसँगै घटस्थापनाको दिन पुजाआजा शुरु गरेर जमरा राखेपश्चात भोलिपल्ट बिहान सबेरै श्वासप्रश्वास सम्बन्धि कठिनाइले गर्दा अस्पताल भर्ना गर्नु परेको तथा अस्पताल पुर्‍याएर जाँच–पडताल पश्चात केही दिन अब्जर्भेसनमा राख्ने भनिए तापनि भोलिपल्टै उहाँको स्वास्थ्यमा निक्कै धेरै समस्या आएर उहाँले ७० वर्षको उमेरमा नै हामीलाई छोडेर जानु भयो । आजभन्दा ५ वर्ष अघि मेरी धर्मपत्नीको पनि दशैँको सोही दिन निधन भएको थियो । म भन्दा १२ वर्ष जेठा मेरा भिनाजु र १० वर्ष जेठी दिदी मेरा आमाबाबा पछिका मेरा अभिभावक हुन् । ३ वटा विषयमा स्नातकोत्तरको डिग्री हासिल गरेका अति मृदुभाषी मेरा भिनाजुले मलाई शैक्षिक तथा व्यावहारिक ज्ञान दिनुका साथै ममा परिपक्वता ल्याउन धेरै कुराहरू मलाई सिकाउनु भएको थियो । पछिसम्म मलाई उहाँकै पदचापमा हिँड्ने प्रेरणा मिलेको थियो ।

 

सरकारको सम्बैधानिक उच्च पदमा बसेका व्यक्तिहरूले आफ्ना पीए÷सहचारीहरूसँग सो पद पछि पनि दशकौँसम्म सम्बन्ध राखेको घटना बिरलै पाइन्छ । तर २०३० सालको शुरुको दशकमा राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएदेखिका मेरा पिताजीका पीए रुवनलाल श्रेष्ठ त्यसपछिका झण्डै ५ दशकसम्म नै मेरा पिताजीसँग विशेष सम्बन्ध भएका व्यक्तिका रूपमा नै रहे । पिताजीकै उपमाले गर्दा उनले भारतको नागपुर विश्वविद्यालयबाट जनप्रशासनमा विद्यावारिधि समेत गरे भने पिताजी पाकिस्तानको लागि नेपाली राजदूत छँदा पनि इस्लामावाद पुगेर करिव डेढ महिनासम्म हामीसँगै बसे । हाम्रा ठूला दाजु जस्तो नै लाग्ने उनी संगीतकार/गायक हिरण्य भोजपुरेका साला र गायिका उर्मिला–निर्मला श्रेष्ठका भाई थिए । हामी दुई परिवार बीच ज्यादै नजिकको सम्बन्ध थियो । आफ्ना भिनाजुको असामयीक निधनले ठूलो आघात पुगिरहेको बेलाको एक साँझ दाजु रुवनकै फेसबुकको म्यासेन्जरमार्फत उनका छोराले पिताको ७४ वर्षको उमेरमा अकस्मात निधन भएको खवर पठाएपछि म निक्कै स्तब्ध हुन पुगेँ ।

 

मित्र प्रमोद पाण्डे र मेरो मित्रताको इतिहास करिव साँढे ३ दशक लामो छ । हामी कलेजमा भर्ना भएको साल यानी २०३८–३९ सालतिर हामी दुवैजना गीत÷संगीतका पारखी तथा गानाबजानामा लागेका साथी भएकाले हाम्रो सम्बन्ध बिस्तारै गाढा हुँदै गयो । पछि हामीबीच टाढाको नातो समेत पर्ने कुरा थाहा भएपछि त्यो सम्बन्ध अझ नजिक हुन थाल्यो । रेडियो नेपालमा हामी दुवैजना एकैसमय तिर यानी २०३८–३९ सालतिर श्वर परीक्षामा उत्तिर्ण भयौँ र केही गानाहरू रेकर्ड पनि गरायौँ । मेरो संगीतमा पनि प्रमोदले २ वटा गीत रेडियो नेपालमा गाए । पछि रत्न रेकर्डिङ संस्थानले आयोजना गर्ने गरेको प्रतिभाको खोजीको दुईवटा एपिसोडमा पनि उनले मेरो संगीतमा गीतहरू गाए । कलेजमा छँदा हामी संगीतप्रेमी साथीहरूले ‘कला परिवार’ र ‘द ग्राण्ड स्ल्याम’ नामक समूहहरूको स्थापना गरेका थियौँ । तिनमा हामी दुई वाहेक राजिव उपाध्याय, ज्योती घिमिरे, विमल बस्नेत, राजेन्द्र थापा, विजय लामा, प्रकाश सायमी, विमल भौकाजी, ऋषि भट्टराई, नरेन्द्र प्यासी, विजय वैद्य, सुरेन्द्र श्रेष्ठ, गणेश थापा, मिलन मोक्तान, प्रेमराजा महत, राजेन्द्र अर्याल, प्रदीप माथेमा, मिरा घिमिरे, स्वस्तिका भट्टराई, रजनी थापा, सरला अर्याल, मीना पाण्डे, सहनशीला शर्मा आदि धेरै साथीसङ्गीहरू सहभागी थिए । हामीले यी समूह मार्पmत धेरै सांगीतिक कार्यक्रमहरूको आयोजना गर्‍यौँ ।

 

मित्र प्रमोद सँधै मुस्कुराई रहने र सबैलाई हँसाई रहने खालको अति मिलनसार साथी । कलेजको समयमा होस् वा अन्य समयमा पनि हाम्रो दोस्तीले ज्यादै गहिरो जरा गाडिसकेको थियो । रेडियो नेपालमा त्यतिबेला वरिष्ठ संगीतकार नातीकाजीले गीतार बजाएर गीत गाउने हामी जस्ता गायकलाई देख्यो कि रिसाउने गर्दथे । तर केही समय पछि हाम्रो श्वर सुनेपछि र उनकै केही गीतहरू रेकर्ड गर्दा गीतार बजाउने मानिस नपाएको बेला राम थापा, सूर्य थुलुङ, मदन परियार, गणेश परियार गायक/संगीतकारहरूले पनि सिफारिस गरेर गीतार बजाउने अवसर मैले पाएपछि भने नातीदाईको हामीलाई हेर्ने नजरियामा फरक आउन थाल्यो । आखिर उनको संगीतको एक राष्ट्रभक्ती सम्बन्धि समूह गीतमा प्रमोद र मैले पनि गाउने अवसर पायौँ । मित्र नरेन्द्र प्यासीको संगीतमा पनि प्रमोदले धेरै समसामयीक र धार्मिक गीतहरू गाएर रेर्कड गरे । उनले कुल मिलाएर करिव २०० वटा गीत रेकर्ड गराए होलान् ।

 

मेरी धर्मपत्नी रजनीको करिव ५ वर्षअघि पेटको क्यान्सरको कारण निधन हुँदा र सोभन्दा केही समय अघि उनी बिरामी पर्दा पनि मित्र प्रमोद हाम्रो घरमा आएर भेटिरहने र मलाई ढाढस दिइरहने गर्दथे । रजनीको निधन पश्चात मलाई परेको बज्रपातबाट मलाई केही हदसम्म उम्कन प्रमोदले मलाई बरोबर निक्कै धेरै सम्झाउने गरेका थिए । तर के गर्नु तिनै सच्चा साथीलाई पनि क्यान्सर जस्तो अति घातक रोगले सताएर डेढ वर्षको लडाईँ पश्चात उनको हालै निधन हुन पुग्यो । उनी बिरामी परेदेखि केही पटक उनलाई भेट्नुका साथै बरोबर फोनमा कुरा गरेर मैले उनको मनोबल बढाउन धेरै कोशिश गरेको थिएँ । पछिल्लो समय उनको स्वास्थ्यमा आएको क्रमिक सुधार र उनमा देखिएको बाँच्ने असिम प्रतिवद्धताले गर्दा मलाई उनले यो रोग माथि निश्चित रूपमा विजय हासिल गरेर नयाँ जीवन प्राप्त गर्नेछन् भन्ने अटल विश्वास पलाएको थियो । तर त्यसो हुन सकेन । अकस्मात विजयादशमीको भोलिपल्ट बिहानको असहज मेघगर्जन सहितको वर्षासँगै एकजना अर्का मित्रले फोनमा प्रमोद अब हामी सामु नरहेको कुरा सुनाउँदा मेरो होस हवासनै हराउन गयो । केही बेर टोलाएर म हस्याङ फस्याङ गर्दै पशुपतिनाथको आर्यघाटमा पुगेँ अनि पाएँः चिर निन्द्रामा सुतिरहेका मेरा परम मित्र प्रमोद । अरु बेला भए जस्तो अवस्थामा पनि मेरो सामु आएर हाँस्दै अङ्कमाल गर्दै हालखवर सोध्ने प्रमोद आज चुपचाप सुतिरहेका थिए । अब उनलाई कसैको मतलब थिएन । सायद उनले हामी र आफ्नै शरीरलाई कतैबाट हेरीरहेका थिए होलान् । अनि मुस्कुराउँदै ‘यिनीहरूलाई त्यस्तो नरकतुल्य संसारमा जिउने र मायाजालमा रुमल्लिएर बाँचिरहने रहर कति लागेको होला । म पनि भुलभुलैयामा परेर त्यसरी नै बाँचिरहेको रहेछु, बल्ल पो वास्तविकतामा पुगेर हल्का भएको छु । बिचराहरू’ भनेर सोचिरहेका होलान् । खैर । यो खैर भन्ने शव्द पनि अचम्मको छ । जति धेरै कुरा गरे वा सोचे पनि यो एक शव्दले सबै कुरालाई बिट मारिदिने ।

 

यी तिनैजना अति निकट र आदरणीय प्रियजनहरूलाई यसवर्षको दशैँदेखि तिहारसम्ममा गुमाउन पुगेको मेरो यो मनले अझसम्म पनि विश्वास गर्न सकेको छैन कि अब यी कोही पनि मसँग कुरा गर्न वा मलाई माया र ढाढस दिन आउने छैनन् भनेर । यस्तै रहेछ संसारको नियम ।

 

(लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर हुन्)

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार