• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
खेलकुद

सन्दीपलाई थप पाँच दिन थुनामा राख्न अदालतकाे अनुमति

काठमाडौं ।क्रिकेटर सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।

 

असोज २० मा पक्राउ परेका लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो । अदालतले सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो ।  अधिवक्ता सरोज घिमिरेले अनुसन्धानको काम नसकिएकाले नेपाल प्रहरीले थप सात दिनको समय माग गरे पनि अदालतले आज (बिहीबार) थप पाँच दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको बताए।

 

घिमिरेले अदालतले बयान लिने क्रम आधा सकिसकेको भन्दै असोज ३१ गतेसम्म अनुसन्धान सक्नेमा विश्वस्त रहेको बताए । उनले यो मुद्दा एक व्यक्तिसँग मात्र नभइ संस्थासँग पनि सम्बन्धित रहेकाले फास्ट ट्रयाकमा सक्नको लागि तीन दिनको म्याद थप्न आग्रह गरे पनि अदालतले पाँच दिनको म्याद थपि अनुसन्धानका लागि समय दिएको जानकारी दिए।

 

उनले भने, ‘‘अनुसन्धान गर्न ७ दिनको म्याद माग्नुभएको थियो । पक्राउ परेको दिनबाट ७ दिन गइसकेको छ, बयान लिने क्रम पनि आधा सकिसकेको छ । ७ दिन धेरै लामो हुन्छ, यो एउटा व्यक्तिसँग मात्र नभइ संस्थासँग सम्बन्धित मुद्दा छ, यस्तो मुद्दालाई अलि फास्टट्रयाकमा गम्भीरताका साथ लिएर काम सक्नुपर्ने भन्यौँ ।’’

 

सन्दीपमाथि थप पाँच दिनको म्याद थपि अनुसन्धान गर्न सूर्यबहादुर थापाको बेन्चले समय दिएको र आगामी कात्तिक १ गते पुनः फाइल पेस गर्ने वा म्याद थपको लागि पुनः पेस गर्नसक्ने बताए ।

अधिवक्ताले पीडित भनिएकी किशोरीको दुई वटा जन्मदर्ता भएको विषयमा आफूहरुले अनुसन्धान गरिरहेको बताउँदै भने, ‘‘हामीले दुई वटा जन्मदर्ता भएको भन्ने बारेमा अध्ययन गरिरहेका छौँ, हामीले बोल्न मिल्दैन ।’’

 

नाबालिग बलात्कारको आरोपमा २२ वर्षीय क्रिकेटर लामिछानेलाई असोज २० मा कतारको दोहा हुँदै नेपाल फर्केपछि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार