• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

आज महानवमी, तलेजु भवानीको मन्दिर खुल्ने

काठमाडौं । बडादशैंको नवौं दिन आज महानवमी पर्व । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज दुर्गाभवानीको पूजा–आराधना गरी मनाइँदै छ ।

 

यस दिन नवदुर्गामध्ये विशेष गरी सिद्धिदात्रीको आह्वान गरिन्छ । यो दिन मातालाई चना, हलुवा, पूरीको भोग लगाउनाले असीम कृपा प्राप्त हुने जनविश्वाश छ । यो दिन घरमा कन्या पूजा गर्नुको पनि ठूलो महत्व रहेको छ । यसले घरमा सुख समृद्धि र खुशीको वास हुन्छ ।

 

महानवमीमा गरिने दुर्गापूजालगायत कार्य गरी घटस्थापनाका दिन राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

 

पशुबलि नदिनेहरुले भने आज आ–आफ्नो कुल परम्परा अनुसार कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।

 

कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ । महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निसानपूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निसाना पूजा र कोतपूजा गर्ने प्रचलन छ ।

 

यसैबिच, हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज खुलेको छ । तुलजा भवानीको यात्रा भने नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा गरिनेछ । तलेजु भवानीको मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र खुल्ने परम्परा छ ।

वर्षमा एक दिन मात्र खुल्ने भएकाले यहाँ दर्शनार्थी एवं पूजा गर्ने भक्तजनको ठूलो भीड लागेको छ । महानवमीका अवसरमा आज नेवारी समुदायले भने भीमसेनलाई बलिसहित पूजा गर्ने परम्परा छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार