• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
बिश्व

विध्वंसकारी मनसुनपछि डेङ्गीका बिरामी बढ्दो

काठमाडौं । पाकिस्तानी स्वास्थ्य अधिकारीहरूले हालै आएको बाढीपछि देशमा स्वास्थ्य सङ्कट आउन सक्ने चेतावनी दिएका छन्। जुन महिनाको मध्यदेखि सुरु भएको बाढीका कारण हालसम्म करिब १५०० जनाको मृत्यु र ३३ लाख मानिस प्रभावित भएका छन्।

 

देशका विभिन्न भागहरूमा बाढी पीडितको उद्धार र निकासीको प्रयास जारी रहँदा त्यहाँका स्वास्थ्य विज्ञहरूले डेङ्गी, औलो र गम्भीर ग्यास्ट्रिक सङ्क्रमण दर बढेको विवरणहरू दिएका छन्।

 

अधिकांश विस्थापित मानिसहरू जमेको पानीको छेउछाउमा आश्रय लिइरहेका छन्। उनीहरूमध्ये केहीको डेङ्गी ज्वरोका कारण निधन भइसकेको छ र हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ।

 

दक्षिणी सिन्ध प्रान्तका स्वास्थ्य अधिकारीहरूले करिब ३,८३० मानिसहरूमा डेङ्गीको ज्वरो आएको विवरण पेस गरेका छन्। उनीहरूमध्ये कम्तीमा नौ जनाको मृत्यु भएको छ। तर यो अनुमान मात्र हुन सक्ने चिन्ताहरू व्यक्त गरिएका छन्।

 

"समग्रमा सिन्धको अवस्था निकै खराब छ। हामी प्रान्तभरि चिकित्सकीय शिविरहरू सञ्चालन गर्दैछौँ। अहिले प्राय डेङ्गीका बिरामीहरू देखिएका छन् र त्यसपछि औलोको बिरामीको सङ्ख्या उच्च छ," पाकिस्तान मेडिकल एसोसिएसनका महासचिव डा. अब्दुल गफूर शोरोले बीबीसीसँग भने।

 

"हामीले प्रयोगशालाहरूमा अनुगमन गर्दा करिब ८० प्रतिशत परीक्षण शङ्कास्पद बिरामीको भइरहेको छ।" कराचीको आगा खान अस्पतालमा डेङ्गीका सयौँ बिरामीहरूको उपचार गरिरहेका डाक्टर शोरोले आगामी साताहरूमा अवस्था झनै खराब हुनसक्ने चिन्ता व्यक्त गरे।

 

बाढी आएको दुई महिनाभन्दा लामो समय बित्दा पनि पाकिस्तानभरि हजारौँ गाउँहरू अझै डुबानमा छन्। जसका कारण असङ्ख्य परिवारहरू विस्थापित भएका छन्।

 

थुप्रै दुर्गम ठाउँहरूमा पानीको कारण भएको क्षतिले सडकहरू प्रयोग गर्न नसकिने भएकाले, केही समुदायका मानिसहरू आफ्नो स्वास्थ्य जाँच तथा उपचारका लागि अस्थायी घुम्ती स्वास्थ्य शिविरहरूमा भर पर्न बाध्य छन्। यद्यपि, ती थोरै छन्।

 

मुना सज्जदले आफ्नी एक वर्षीया छोरी सकिनालाई स्वास्थ्य सेवा पाउने आशामा सिन्ध प्रान्तको सेहवान नजिकैको अस्थायी क्लिनिकमा ल्याइन्। ग्यास्ट्रिकको सङ्क्रमणका कारण सकिना केही दिनयता अस्वस्थ थिइन्। मुनाले उनलाई शान्त बनाउनका निम्ति आफ्नो छातीमा टाँस्न खोज्दै छिन् तर सकिना रुन छोड्दिनन्।

 

उनी निकै पीडामा देखिन्छिन् र निरन्तर बान्ता गरिरहेकी छन्। "मेरा दुई छोराछोरीलाई सञ्चो छैन। मसँग उनीहरूको हेरचाह गर्न पैसा छैन। मैले बाढीमा सबैकुरा गुमाएँ," मुना भन्छिन्।

 

"यदि म क्लिनिकमा नपुगेको भए सकिनाको मृत्यु हुन्थ्यो। हामीसँग आफू र हाम्रा बिरामी बच्चाहरूलाई खुवाउने खाना पनि छैन।" सर्वत्र बिरामी बालबालिका र वयस्कहरू छन् र उनीहरूको रेखदेख गर्न पर्याप्त जनशक्ति छैनन्। चिकित्सकहरूका अनुसार उनीहरूमाथि चाप बढेको छ। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार