• शनिबार १-८-२०८१/Saturday 04-20-2024
बिश्व

चार्ल्स तृतीय राजा घोषणा

काठमाडौं । महारानीको निधन भएको तत्क्षण कुनै समारोह आयोजना नगरी उनका उत्तराधिकारी वेल्सका पूर्वराजकुमार चार्ल्सलाई राजगद्दी हस्तान्तरण गरियो। तर राजा बन्नका लागि धेरै वटा व्यावहारिक र परम्परागत चरणहरू पार गर्नुपर्ने हुन्छ। 

 

राजा चार्ल्स तृतीयको रूपमा शासन गर्ने वा अर्को नाम ग्रहण गर्ने भन्ने निर्णय गर्नु उनको पहिलो काम हुनेछ। जस्तै, उनका हजुरबुवा जोर्ज छैटौँको पहिलो नाम अल्बर्ट थियो, तर उनले आफ्नो बीचको नाम प्रयोग गरेर शासन गरे। चार्ल्सले आफ्नो चारवटा नामहरू-चार्ल्स फिलिप आर्थर जोर्जमध्ये कुनै एक रोज्न सक्छन्। शाही उपाधि परिवर्तन उनको मात्र हुने भने होइन।

 

प्रिन्स विलियम अब गद्दीको अर्को उत्तराधिकारी भए पनि उनी सोझै प्रिन्स अफ वेल्स बन्ने छैनन्। यद्यपि उनले आफ्नो बुवाको अर्को उपाधि, ड्यूक अफ कोर्न्वलको उत्तराधिकार तत्काल प्राप्त गरे। अब उनकी श्रीमती क्याथरिन डचिस अफ कोर्न्वलको रूपमा चिनिनेछिन्। अब चार्ल्सकी श्रीमतीको पूरा उपाधि क्वीन कन्सोर्ट हुनेछ। कोन्सर्ट राजाको धर्मपत्नीलाई सम्बोधन गरिने शब्द हो।

 

आमाको निधनको करिब २४ घण्टापछि चार्ल्सलाई आधिकारिक रूपमा राजा घोषणा गरिनेछ। उक्त समारोह लन्डनस्थित सेन्ट जेम्स दरबारमा उत्तराधिकारसम्बन्धी औपचारिक निकाय एक्सेशन काउन्सिलको उपस्थितिमा आयोजना हुनेछ।

 

उक्त निकायमा भूतपूर्व तथा वर्तमान वरिष्ठ सांसदहरूको समूह र माथिल्लो सभाका सदस्य रहने प्रिभि काउन्सिलका सदस्यहरू तथा केही वरिष्ठ निजामती कर्मचारीहरू, राष्ट्रमण्डल सदस्य देशका उच्चायुक्तहरू अनि लन्डनका लर्ड मेयर रहन्छन्। समारोहमा ७०० भन्दा बढी मानिसको उपस्थिति हुनसक्छ तर छोटो अवधिमा विकास भएको घटनाक्रमका कारण उपस्थित हुनेहरूको सङ्ख्या निकै कम हुनसक्ने सम्भावना छ। 

 

यसअघि सन् १९५२ मा भएको त्यस्तो समारोहमा २०० मानिस उपस्थित थिए। परम्पराअनुसार त्यहाँ राजा उपस्थित हुँदैनन्। बैठकमा महारानी एलिजाबेथको निधनको खबर प्रिभि काउन्सिलकी अध्यक्ष (हाल सांसद पेनी मोर्डुअन्ट) ले घोषणा गर्नेछिन्। उक्त घोषणा वाचन हुनेछ।

 

घोषणामा प्रयोग हुने शब्दहरू परिवर्तन हुन सक्छन्। तर परम्परागत रूपमा यो रानी एलिजाबेथको प्रशंसा र नयाँ राजालाई समर्थनको वाचासहित प्रार्थना र प्रतिज्ञाहरूको शृङ्खला हुन्छ।

 

यस घोषणामा प्रधानमन्त्री, आर्चबिशप अफ क्यान्टरबरी तथा लर्ड चान्सलरसहित विभिन्न वरिष्ठ व्यक्तिहरूले हस्ताक्षर गर्नेछन्। यी सबै समारोहमा नयाँ युगको सङ्केतका रूपमा केही परिवर्तन भएका अथवा थपिएका वा अद्यावधिक गरिएका विषयबारे धेरैले ध्यान दिनेछन्।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार