• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
डबली

धपेडीबाट जोगिन सिकाउने पुस्तक ‘धेरैको धपेडी’ 


काठमाडौं । स्वास्थ्य र जीवनशैलीका अन्तरवस्तुलाई केलाएर सुखमय तवरले बाँच्ने सुत्र पस्कँदै आएका लेखक जीवनकुमार प्रसाईं फेरि पाठकमाझ उपस्थित भएका छन् । यसपटक प्रसाईको पुस्तक हो –‘धेरैको धपेडी’ ।

 

बढ्दो उपभोक्तावादले जनस्वास्थ्य, सामाजिक जीवन र वातावरणमा के कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयलाई उठाउँदै यो पुस्तकले यस विषयमा वैज्ञानिक तथ्यहरुलाई सबैले बुझ्नेगरि सरल भाषामा ब्याख्या गरेको छ ।

 

हामी नेपालीहरुको महान चांड अब एकपछि अर्को गर्दै दैलोमै आइपुगेका छन् । यतिबेला हामी खानपीनदेखि लिएर वस्तुको संकलनमा असाध्यै केन्द्रित हुन्छौं । त्यसमाथि पछिल्लो समय हामीले ‘के’ र ‘कति’ भन्दा पनि ‘सकेसम्म धेरै’ भन्नथालेका छौं । यो ‘धेरै’ले उत्पन्न गर्ने ‘धपेडी’ र त्यसले खोस्दै लगेको हाम्रो सुखमय जीवनकै सेरोफेरोमा पुस्तक प्रवेश गरेको छ।

 

जीवनकुमार प्रसाईं संयुक्त राज्य अमेरिकाको बर्मिङघमस्थित युनिभर्सिटी अफ अलावामामा अनुसन्धान अनि अध्यापनमा संलग्न छन् । उनले अढाइ दसकभन्दा बढी समयदेखि जडीबुटी र खाद्यपदार्थमा रहेका पोलीफेनोलको क्यान्सरलगायत जीर्ण रोगहरूको नियन्त्रण तथा उपचारमा हुने असरका क्षेत्रमा अनुसन्धान गर्दै आएका छन् । उनले अमेरिकाको नेसनल इन्स्टीट्यूट अफ हेल्थ ९एनआइएच० बाट बैज्ञानीक अनुसन्धानका लागि अनुदानसमेत प्राप्त गरेका छन् । खोजीमै आधारित उनका आलेख ‘साइन्स’ लगायत जर्नलहरूमा प्रकाशित छन् । उनले जापानको तोयामा मेडिकल एन्ड फर्मास्युटिकल युनिभर्सिटीबाट औषधि विज्ञानमा विद्यावारिधि गरेका हुन् ।

 

वैज्ञानिक अध्ययन अनुसन्धानबाट फेलापरेका तथ्यहरु क्लिष्ट भाषामा सार्वजनिक भइरहेका हुन्छन् । तिनै कुरालाई हाम्रो मौलिकतासँग जोड्दै सरल भाषामा बुझाउन सक्नु नै लेखक प्रसाईको विशेषता हो ।

 

मानव समाज यतिबेला धेरैभन्दा धेरै उत्पादन र उपभोग गरेर जीवन सम्पन्न र सुखी हुन सक्छ भन्ने उपभोक्तावादी सोचतर्फ अग्रसर हुँदै गएको देखेपछि यस विषयमा आफूले जानेका कुरा पाठक समक्ष राख्न चाहेको प्रसाई बताउँछन् । उनका अनुसार यो प्रवृत्तिले नै आज मानिस र वातावरण बीचको सन्तुलन पनि खल्बल्याउँदै लगेको छ । यसको परिणाम मधुमेह, हृदयरोग, क्यान्सर जस्ता दीर्घरोगहरु दिन प्रतिदिन महामारीको रुपमा फैलँदै छन् । त्यसैगरि प्रदुषण, ग्लोबल वार्मिङ ९वैश्विक उष्णीकरण० अनि वातावरणीय विनासले संक्रामक रोगहरुमा नियन्त्रण पाउन कठिन हुँदै गइरहेको छ ।

 

‘प्रकृतिमा धेरै अमूल्य कुरा थोरैमा अभिव्यक्त भएको पाइन्छ,’ लेखक प्रसाई अगाडि भन्छन्, ‘त्यसैले थोरैलाई हेला गर्ने वा कम सम्झनु हुँदैन। थोरै नै सार हो जसमा अंकुरण अनि प्रस्फुरण हुने तत्वहरु लुकेका हुन्छन् । जब हामी अनावश्यकबाट मुक्त हुन्छौं, हाम्रो भौतिक अनि आत्मीक उन्नती सुरु हुन्छ ।’

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार